कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुड्नै पाएनन् बिजुली बस

सरकारी प्रक्रिया पुर्‍याउनै सकस भएपछि सञ्चालनमा समस्या
मनोज पौडेल

लुम्बिनी — लुम्बिनी विकास कोषलाई अनुदान सहयोगमा प्राप्त १९ विद्युतीय ट्याक्सी र बस घामपानीमै थन्किएका छन् । करिब दुई वर्षअघि ल्याइएका यी सवारी अहिले बिग्रन थालेका हुन् ।

गुड्नै पाएनन् बिजुली बस

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँको लागतमा ट्याक्सी र बस भित्रिएका हुन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारपसार गर्न र लुम्बिनीबाट तिलौराकोट, रामग्राम र देवदहसँग सेवा दिन यी सवारीसाधन लुम्बिनी भित्र्याइएका हुन् । लुम्बिनी विकास कोषको २ नम्बर गेटअगाडि खुला आकाशमुनि राखिएका ती सवारी साधन सञ्चालन नहुँदा ब्याट्री डाउन भएका छन् । टायरको हावा फुस्किसकेका छन् । ‘सुविधासम्पन्न सवारी साधन हुन्,’ लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले भने, ‘सञ्चालन हुन नसक्नु दुःखको कुरा हो ।’

तीनवटा बस ०७७ मंसिर ९ मा लुम्बिनी आइपुगेका हुन् । बाँकी २ बस र १४ ट्याक्सी ०७७ पुस ६ मा ल्याइएको थियो । तर, लामो समयसम्म सञ्चालन र व्यवस्थापनमा अलमल रह्यो । कसले कसरी चलाउने भन्ने मोडालिटीमा कोषले ठोस निर्णय लिन सकेको छैन । कार्यविधि बनाउने भनिएको पनि डेढ वर्ष भइसकेको छ । गाडी प्राविधिक रूपले ठिक छन् कि छैन भनेर रिपोर्ट दिनै वर्षदिन लागेको थियो । ‘सवारी साधन प्राविधिक रूपमा ठिक छन् कि छैनन् भनेर जाँचपास गर्नुपर्छ,’ कोषका एक अधिकृतले भने, ‘जसले पायो उसले गरेर मान्य हुँदैन ।’ पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल नागरिक उड्यनन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर यहाँ आएर साता लगाएर परिक्षण गरेर सञ्चालनयोग्य रहेको रिपोर्ट दिएका छन् । त्यसपछि यहाँका सडक सवारी साधनका लागि अनुकूल छ छैन भनेर १६ महिनापछि हेरेर गत फागुनमा रिपोर्ट दिइएको थियो । सडकमा गाडी गुडाएर सडक वर्थनेस हेरेर सञ्चालन हुने अवस्था रहेको रिपोर्ट यातायात कार्यालयले दिएको हो । सरकारी कागजी प्रक्रिया पुर्‍याउन लामो समय लागेकाले सञ्चालन गर्न समस्या भइरहेको लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए ।

नेपाल भित्रिएको १६ महिनापछि गत फागुनमा मात्रै गाडी पर्यटन मन्त्रालयका नाममा नामसारी भएका छन् । मन्त्रालयको नाममा गाडी आएपछि सरकारी नम्बर प्लेट दिइएको छ । अझै कोषका नाममा गाडी आएका छैनन् । गाडी सेता प्लेटमा छन् । तर, कोषले हरियो प्लेटमा चलाउने योजना बनाएको छ । सेताबाट हरियोमा लैजान लामो प्रक्रिया छ । हरियो प्लेटमा पर्यटक मात्र सवार हुन पाउने कानूनी व्यवस्था छ । अब हरियो प्लेटमा सर्वसाधारणलाई चढाउने कि नचढाउने भन्ने द्विविधा छ । सर्वसाधारण नचढाए यात्रु नै पुग्दैनन् ।

कोषमा नयाँ पदाधिकारी आएपछि सवारीसाधन सञ्चालन गर्न सक्रियता देखाएका छन् । तर, कोषका कर्मचारी भने आफैंले सञ्चालन गर्नेमा विभाजित छन् । विद्युतीय सवारीसाधन कोषका लागि ‘सेतो हात्ती’ साबित हुने उनीहरू बताउँछन् । त्यसैले निजी कम्पनीलाई ठेक्कामा दिँदा राम्रो हुने उनीहरूको तर्क छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई भने कोषले नै विद्युतीय सवारी साधन चलाउँदा उपयुक्त हुने बताउँछन् । ‘कोषको आयस्रोत घट्दै गएको छ,’ भने, ‘त्यसलाई बढाउन राम्रो अवसरका रूपमा यसलाई सदुपयोग गर्नुपर्छ ।’

गत जेठ १९ मा बसेको कोष कार्यकारिणी बैठकले पर्यटन यातायात सेवा सञ्चालन इकाइ कार्यविधि बनाउन कोषका कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले भदौ ८ मा पर्यटन मन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कार्यालय सञ्चालन, परीक्षण सञ्चालन र औपचारिक सञ्चालनको समय सीमा राखिएको छ । परीक्षणका रूपमा झण्डै दुई महिना सञ्चालन गरेर अनुभव लिएपछि सञ्चालनको मोडालिटी तय गरिने कोषाध्यक्ष भट्टराईले बताए । चालक र हेल्परलाई आउट सोर्सिङबाट हायर गरेर कोषले सञ्चालन गर्दा राम्रो हुने आफ्नो राय रहेको उनले सुनाए । ‘सबै कुरा मिल्यो भने दसैंअघि नै सञ्चालनको तयारी पूरा हुन्छ,’ उनले भने ।

यहाँ भित्र्याइएका विद्युतीय सवारी साधन अत्याधुनिक छन् । ठूलो बसमा १९ सिट छन् । ३५ जनासम्म उभिन मिल्छ । ट्याक्सी पाँचसिटे हुन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छन् । स्वचालित ढोका छन् । कार्डले स्टार्ट हुने र आवाजरहित छ । एकपटक फुल चार्ज गरे ४ सय किमिसम्म गुड्छ । आपतकालीन ठूलठूला ढोका छन् । बस रोक्न प्रत्येक सिटमा बेल बटम छन् । थिच्नासाथ चालकनिर रहेको बत्ती बल्छ । ‘लामो समयदेखि बस नचलाउँदा निक्कै आलोचना भइरहेको छ,’ लुम्बिनी होटल संघका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘अब पनि ढिलो भयो भने आक्रोश झन् बढ्छ ।’

प्रकाशित : भाद्र २७, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?