कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो लुम्बिनी युवा सम्मेलन

सन्जु पौडेल

तिलोत्तमा — १२ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी युवा सम्मेलन सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा भएको युवा सम्मेलन १२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै शुक्रबार सकिएको हो ।

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो लुम्बिनी युवा सम्मेलन

नेपालका हजारौं किशोरकिशोरी तथा युवालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका साथै राज्य संयन्त्र, राज्य निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता गराउनुपर्ने उद्देश्यले युवा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले युवा शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव २२५० लाई सम्मान गर्दै यसलाई लागू गर्न, हिंसा अन्त्य गर्न, द्वन्द्वबाट प्रभावित परिवार, घाइते युवाहरूलाई सम्मानजनक जीवन जिउने अधिकार संरक्षणका लागि माग गरेको छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहमा योजना तर्जुमा, नीति निर्माण र कार्यक्रममा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न युवा सहभागिता निर्देशिका जारी गर्न तथा प्रदेश र स्थानीय तहले युवा तथा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि गर्दै छुवाछूत, बालविवाह, मानव बेचबिखन, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिहरूको अन्त्य र लागूपदार्थ दुर्व्यसनी, ओसारपसार, बिक्री वितरणमा कडा कदम चाल्न माग गरिएको छ ।

युवालाई कृषि, सहकारी, बचत र उद्यमशीलताजस्ता कार्यक्रमसँग जोड्दै स्वदेशमै बस्ने वातावरण सिर्जना तथा कम्तीमा एक पालिकामा एक मनोविमर्शकर्ता, एक शैक्षिक संस्था, एक स्वास्थ्यकर्मी, एक पालिकाको एक युवा सहजकर्ता व्यवस्था गरी कार्य गर्न पनि घोषणापत्रमा माग गरिएको छ ।

सम्मेलन समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदशेका कानुन महिला तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीले प्रदेश सरकारले किशोरकिशोरी तथा युवाहरुका लागि विभिन्न कार्यक्रम गर्न बजेट विनियोजन गरिएको बताइन् । उनले तीन तहका सरकारले युवाको वृद्धि विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, क्षमता अभिवृद्धि, सचेतना, कृषि उद्यम तथा उद्यमशीलताका लागि आवश्यक बजेट व्यवस्था गरेको उल्लेख गरिन् । साथै उनले यस्ता खालका कार्यक्रमले युवाको क्षमता पसकासमा टेवा पुर्‍याउनका साथै समाज रुपान्तरणमा विशेष योगदान दिएको बताइन् ।

कार्यक्रममा शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारु, राजपुर गाउँपालिका दाङकी उपाध्यक्ष धनपतदेवी यादव, पाल्हीनन्दन गाउँपालिका नवलपरासीकी उपाध्यक्ष फतिमा खातुन, अर्थ मन्त्रालयका अर्थविज्ञ लक्ष्मण न्यौपानेलगायतले स्थानीय र प्रदेश सरकारले किशोरकिशोरीका क्षेत्रमा आवश्यक नीति र बजेट प्रबन्ध मिलाइएको बताए ।

प्रकाशित : भाद्र २४, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?