कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरैनापुर गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा

रूपा गहतराज

नेपालगन्ज — जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष समयमा पानी नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

समयमा पानी नपर्दा यो वर्ष नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको र रोपाइ भएको धान पनि खेतमै सुकेको छ ।

बाँकेका आठवटै पालिकाका प्रमुख-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ, वैकल्पिक बाली प्रवर्द्धन तथा राहत वितरणको व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले जानकारी दिए ।

उनले सुक्खा क्षेत्र नरैनापुरमा वैकल्पिक खेती गर्न कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाले बिउबिजन उपलब्ध गराई बाली लगाउन कृषकलाई प्रोत्साहन गरिने बताए । ‘भोकमरीको अवस्था आउन नदिन नरैनापुरलाई सहयोग गर्न विभिन्न दातृ निकाय तथा दुवै तहका सरकारसँग आग्रह गर्ने निर्णय विपद् व्यवस्थान समितिले गरेको छ,’ उनले भने ।

गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि केहि आशा पलाएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले संकटग्रस्त घोषणासँगै राहतका कार्यक्रम आउने विश्वास व्यक्त गरे ।

प्रकाशित : भाद्र २१, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?