कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले नेता भूसाल रूपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस

घनश्याम गौतम

बुटवल — नेकपा एमालेका नेता घनश्याम भूसाल प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । क्षेत्र नं. १ र ३ को क्षेत्रीय कमिटीले सिफारिस गरे पनि जिल्ला कमिटीले नेता भूसाललाई कुन क्षेत्रबाट उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

एमाले नेता भूसाल रूपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस

एमाले जिल्ला कमिटीको सोमबार बसेको बैठकमा नेता भूसालसहित प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाउन नसकेपछि निष्कर्षविहीन भएको छ । मंगलबार पुन: बैठक बसेर नाम टुंगो लगाउने एक जिल्ला सदस्यले बताए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता भूसाल रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । अहिले त्यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँणले पनि प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । क्षेत्र नं. ३ बाट कांग्रेसका खाँण सर्वसम्मत सिफारिस भएका छन् । उनी रूपन्देहीको क्षेत्र नं. २ बाट पनि सिफारिस भएका छन् । क्षेत्र नं. ३ बाट एमालेका नेता भूसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख बासुदेव घिमिरेसहित चार जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. १ बाट एमाले नेता छविलाल विश्वकर्माले निर्वाचन लड्दै आएका छन् । यस पटक पनि उनले सोही क्षेत्रबाटै चुनाव लड्ने तयारीमा छन् । केन्द्रीय नेताहरूको बाहुल्य रहेको रूपन्देहीको क्षेत्र नं. २ बाट उपाध्यक्ष विष्णु पौडेल र क्षेत्र नं. ५ बाट खिमलाल भट्टराई सर्वसम्मत सिफारिस भएपछि क्षेत्र नं. १ बाट विश्वकर्माले पनि सर्वसम्मत सिफारिस गराउने प्रयास गरेका थिए । स्थानीय नेता कार्यकर्ताले त्यहाँबाट पनि भूसालको नाम सिफारिस गरेपछि जिल्ला कमिटीले निर्णय गर्न नसकेको हो ।

एमाले जिल्ला उपाध्यक्ष जागेश्वरीदेवी चौधरीले नेता भूसालको नाम दुवै क्षेत्रबाट सिफारिस भएको र अन्य प्रदेशका क्षेत्रबाट पनि सिफारिस भएर आएका नामको विषयमा छलफल चलिरहेकाले सोमबारको बैठकले निर्णय गर्न नसकेको बताइन् । मंगलबारको बैठकले सिफारिस भएका उम्मेदवारको नाम पार्टीको मापदण्डअनुसार प्रदेश कमिटीमा सिफारिस गर्ने उनले जानकारी दिइन् ।

केन्द्रीय तहका अन्य नेताको एउटा क्षेत्रबाट मात्रै सिफारिस भए पनि पार्टीमा सधैं प्रतिपक्षको भूमिकामा रहने नेता भूसालको नाम दुई क्षेत्रबाट सिफारिस हुँदा त्यसले प्रदेश र केन्द्रीय कमिटीमा पनि दबाब बढ्ने भएकाले सकेसम्म एक क्षेत्रबाट मात्र सिफारिस गराउने प्रयासमा जिल्ला कमिटीका नेताहरुले लबिङ गरिरहेको एक नेताले बताए ।

प्रकाशित : भाद्र २०, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?