कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीबाट उपसभामुख भुसालसहित कांग्रेसका ६ जना आकांक्षी      

वीरेन्द्र केसी

अर्घाखाँची — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संघीय संसद्की उपसभामुख पुष्पा भुसाल गौतमसहित ६ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ । पार्टीको विधानबमोजिम उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस हुनुपर्ने व्यवस्था भए पनि ६ जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

अर्घाखाँचीबाट उपसभामुख भुसालसहित कांग्रेसका ६ जना आकांक्षी      

प्रदेशसभा (क) र (ख) को क्षेत्रीय कार्यसमितिको बैठकले पार्टीको विधानअनुसार सिफारिस गर्न सकेन । सिफारिसमा पर्नेमा भुसाल, कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाई दुवै क्षेत्रले सिफारिस गरेको प्रदेशसभा (ख) का क्षेत्रीय सचिव सुरज रायमाझीले बताए ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट बिसी उम्मेदवार थिए । उनी वाम गठबन्धनका टोपबहादुर रायमाझीसँग १८ हजार ४ सय ४४ मतान्तरले पराजित भएका थिए । रायमाझीले ५० हजार ३ सय ८३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए । बिसी दोस्रो संविधानसभा निर्वाचनमा पनि रायमाझीसँगै पराजित भएका थिए ।

टोपबहादुर रायमाझी दुई पटक माओवादीबाट, ०७४ मा वाम गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको साथबाट गरी लगातार तीन पटक चुनावमा विजयी भएका छन् । नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागेका रायमाझी चौथो पटक आउँदो चुनावमा एमालेबाट भिड्दैछन् ।

केन्द्रमा ५ दलीय गठबन्धन भएपछि संघीय संसद्कन लागि एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची कांग्रेसको भागमा पर्ने भन्दै धेरै आकांक्षी भएका हुन् ।

प्रदेश सहमहामन्त्री युवा नेता विष्णुप्रसाद खनाल अर्घाखाँचीका जनस्तरसम्म प्रभावशाली नेताअन्तर्गत पर्छन् । यसअघि उनी जिल्ला सभापति थिए । त्यस बेला क्रियाशील सदस्यता विवरण पाटी केन्द्रमा सबैभन्दा पहिले नै बुझाएको, पार्टी संगठन निर्माण, कार्यक्रम र गतिविधिका कामले जिल्ला सभापतिमा देशकै उत्कृष्ट काम गरेर चर्चामा आएका थिए ।

उपसभामुख भुसाल केन्द्रीय स्तरमा प्रभावशाली नेता हुन् । प्रतिनिधिसभाका लागि कांग्रेसको भागमा अर्घाखाँची परेमा पुष्पाले टिकट ल्याउने धेरैको दाबी छ । रेवती भुसाल २०४८ र ०५१ मा दुई पटक चुनाव जितेर पर्यटन राज्यमन्त्री समेत भए । श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । पोखरेल छत्रदेव गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन ।

पूर्वसांसद डिलाराम आचार्य माओवादी केन्द्रको सचिव भएपछि उनको पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारको चर्चा छ । पुष्पकमल दाहालनजिकका आचार्यको चर्चाले अर्घाखाँची भागबन्डामा कांग्रेस र माओवादी कसको भागमा पर्छ भन्ने यकिन छैन । लगातार तीन पटक जितेका रायमाझीलाई यसपटक जसरी पनि हराउनुपर्ने भन्दै गठबन्धनका नेताहरु सक्रिय छन् । कसिलो गठबन्धनका कारण रायमाझीलाई आगामी चुनाव चुनौतीपूर्ण छ ।

प्रकाशित : भाद्र १६, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?