२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

माडीखोलामा बेपत्ता जिप चालकको खोजी जारी

काशिराम डाँगी

रोल्पा — चार दिनअघि घर्तीगाउँनजिक माडीखालामा जिपसँगै डुबेर बेपत्ता भएका चालकको खोजी जारी राखिएको छ । माडीखालामा प्रहरी र सेनासहितको टोलीले निरन्तर खोजी गर्दा पनि चालक फेला नपरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत शुक्रबार राति माडी गाउँपालिका–४ सिस्ने बजार नजिक माडी खोलाबाट बोलेरो जिप खस्दा चालक बेपत्ता भएका थिए ।

सिस्ने बजारबाट नजिकको अर्को बजार घर्तीगाउँतर्फ आउने क्रममा बा ७ च ५००२ नम्बरको जिप सडकबाट लगभग एक सय मिटर मुनि खोलामा डुबेको प्रहरीले जनाएको छ । जिप खोलामा डुबेपछि चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा बेपत्ता भए भने जिपमा सवार बैतडी पाटनका मनोज चन्द घाइते भएका थिए ।

घटनालगत्तै परिचालित प्रहरीले चार दिनसम्म पनि बेपत्ता चालकको खोजी गर्दै आएको छ । घाइते चन्दलाई उपचारका लागि रोल्पा अस्पतालबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । खोलामा डुबेको जिप निकाल्न प्रहरीले लिबाङस्थित नेपाली सेनाको बटुक दल गणको सहयोग मागेको थियो । घटनास्थल रोल्पाको माडी गाउँपालिका–४ सिस्नेदेखि प्रहरीले चालकको खोजी खुंग्रीस्थित माडीखोलासम्म जारी राखेको छ । सेनाले बटुक दलका सेनानी निराकार युद्ध खाँडको नेतृत्वमा सैन्य सहयोग टोली खटाएको थियो ।

उक्त जिप निर्माणाधीन सहिदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको रहेको प्रहरीले जनाएको छ । घटनाबारे ढिलो मात्रै जानकारी पाएकाले भोलिपल्ट बिहान प्रहरीसहितको उद्धार टोली पुगेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जनाए ।

प्रकाशित : भाद्र १३, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?