कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले परीक्षा केन्द्र परिवर्तन

मनोज पौडेल

कपिलवस्तु — बाढीले परीक्षा केन्द्रसम्म जान परीक्षार्थीलाई अवरोध पुर्‍याएपछि केन्द्र परिवर्तन गरेर परीक्षा सञ्चालन गरिएको छ । बाढीका कारण विद्यार्थीको परीक्षा नै रद्द हुने अवस्था आएपछि शनिबार वैकल्पिक व्यवस्था गरेर उनीहरूको एसईईको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो ।

वाणगंगा नगरपालिका–८, मोतीपुरस्थित बनगाई–भलवार्ड सडक खण्डअन्तर्गत कोइली खोलामा बाढी आएपछि भलवार्ड क्षेत्रका विद्यार्थीलाई समस्या परेको हो । वाणगंगा नगरपालिकाकै मोतीपुर मावि केन्द्रमा परीक्षा दिन आएका ३४ विद्यार्थीलाई बिहानै ७ बजेबाटै बाढीले बाटोमा रोकेको थियो । उनीहरूको परीक्षा बिहान ८ बजेबाट सुरु थियो । त्यसको २० मिनेटअघि मात्र खबर पाएपछि सशस्त्र प्रहरीको विपत् उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।

३४ विद्यार्थीलाई खोला तार्न समय लाग्ने हुँदा पारितिर नजिकै वैकल्पिक परीक्षा केन्द्र सञ्चालन गर्ने जनशक्ति लैजान सजिलो हुने भएकाले त्यसै गरिएको सशस्त्रको २८ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेनवलीले बताए ।

‘शिक्षा समन्वय इकाई कार्यालय र नगर शिक्षा शाखासँग समन्वय गर्‍यौं,’ उनले भने, ‘सशस्त्रले डुंगामार्फत शिक्षक, निरीक्षक, केन्द्राध्यक्ष, गार्ड, सुरक्षाकर्मी, प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षा सञ्चालन गर्न चाहिने सबै सामग्री पारि पुर्‍याएर परीक्षा सञ्चालन गर्‍यौं ।’ ८ बजेको परीक्षा साढे ९ बजे सुरु भएको उनले बताए । खोला नजिकै साहित्य तीर्थ कपिलधामको सभा हलमा परीक्षा केन्द्रको नियमअनुसार परीक्षा सञ्चालन गरिएको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिमबहादुर जीसीले बताए । एसईईको स्तर वृद्धिका लागि ३० जनाले गणित, २ जनाले अंग्रेजी, एक जनाले सामाजिक र एक जनाले अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा विषयअनुसार सवा दुई घण्टादेखि ३ घण्टा चलेको थियो ।

सशस्त्रले उपरीक्षक नेतृत्वमा ३० टोली परिचालन गरेको थियो । उनीहरू प्लास्टिकको डुंगा र उद्धार सामग्री लिएर त्यहाँ पुगेका थिए । कोइली खोलामा पानी पर्नासाथ बाढी आउने र तत्कालै सुक्ने गर्छ । वाणगंगा नगरपालिका–९ को बस्ती कोइली खोला पारि पर्छ । वर्षाका बेला स्थानीयलाई निकै दुःख दिने गर्छ । पक्की पुल नहुँदा बर्सेनि भलवार्डवासीले समस्या झेल्दै आएको स्थानीय बाबुराम रायमाझीले बताए ।

दुई वर्ष पहिले कोइली खोलामा आएको बाढीले जिप बगाउँदा विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रका प्रमुखसहित तीन जनाको ज्यान गएको थियो । कोइली खोलामा पक्की पुल बनाउने कुरा उठ्न थालेको दशकौं बिते पनि अझै बन्न सकेको छैन । गत वर्ष पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर, जग्गा विवादका कारण बजेट फ्रिज हुन पुगेको भलवाडवासी बताउँछन् ।

प्रकाशित : भाद्र १२, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?