कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदखोरविरुद्ध ८ उजुरी

सहमतिमा छिनोफानो गराउने, नभए कानुनी प्रक्रियामा पठाइने
मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा सुदखोरविरुद्ध ८ वटा उजुरी परेका छन् । गृह मन्त्रालयले मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै भदौ ५ भित्र उजुरी आह्वान गरेको थियो ।

सुदखोरविरुद्ध ८ उजुरी

मन्त्रालयले आह्वान गरेपछि उजुरी दिनेहरू खुलेर आएका हुन् । मिटरब्याजी भाग्न सक्ने आशंकामा उनीहरूको नाम भने प्रशासनले सार्वजनिक गरेको छैन ।

शुद्धोदन गाउँपालिकाका एक पीडितले कपिलवस्तु नगरपालिकाका एक मिटरब्याजीले आफूले लिएको रकमको चार गुणा रकम दिइसक्दा पनि धितो राखेको जग्गा फिर्ता नदिएको भन्दै उजुरी गरेका छन् । त्यस्तै, कपिलवस्तुका अर्का पीडितले उक्त नगरपालिकाकै मिटरब्याजीविरुद्ध १० औं गुणा बढी रकम दिंदा पनि अझै पैसा बाँकी रहेको भनेर मागिरहेको आरोप लगाउँदै उजुरी गरेका छन् । महाराजगन्ज नगरपालिकाका एक पीडितले महाराजगन्ज नगरपालिकाकै ६ जना मिटरब्याजीविरुद्ध उजुरी गरेका छन् । त्यस्तै, कपिलवस्तु नगरपालिकाका एक पीडितले कृष्णनगर नगरपालिकाका मिटरब्याजीविरुद्ध उजुरी गरेका छन् । डेढ लाख लिएकामा ७ लाख रुपैयाँ दिइसक्दा पनि अझ पैसा मागिरहेको उनले आरोप लगाएका छन् ।

बुद्धभूमि नगरपालिकाका एक पीडितले कपिलवस्तु नगरपालिकाका मिटरब्याजीविरुद्ध उजुरी गरेका छन् । १० लाख लिएकामा १२ लाख रुपैयाँ दिई सक्दा अझै ४५ लाख बाँकी रहेको बताउँदै रकम माग्ने गरेको उनको आरोप छ । त्यस्तै यशोधरा गाउँपालिकाका एक पीडितले उक्त गाउँपालिकाकै ८ जना मिटरब्याजीविरुद्ध उजुरी गरेका छन् । प्यूठानको झिमरुक गाउँपालिकाका एक पीडितले शिवराज नगरपालिकाका एक मिटरब्याजीविरुद्ध उजुरी गरेका छन् । ‘जिल्लाको दक्षिणी भेगबाट मिटरब्याजसम्बन्धी धेरै उजुरी परेका छन्,’ सहायक प्रजिअ अनिल पौडेलले भने, ‘दर्ता भएका निवेदनउपर गृह मन्त्रालयको निर्देशन अनुसार हामीले जिल्लामा काम अगाडि बढाउने छौं ।’

गृह मन्त्रालयद्वारा गठित कार्यदल संयोजक डा. भीष्म भुसालले सोमबार प्रशासन कार्यालयमा मिटरब्याजी समस्या सम्बन्धमा एक मार्गदर्शन पठाएका छन् । उक्त निर्देशन अनुसार दुवै पक्षलाई बोलाई छलफल गराउने, नियमसंगत लेनदेनका विषयमा सहमतिमा छिनोफानो गराउने र सहमति हुन नसके कानुनी प्रक्रियामा पठाउने उल्लेख छ । प्रशासनको क्षेत्राधिकारभित्र नपरेका उजुरी पनि अन्य सरोकारवाला निकायसँग समन्वय गरी टुंगोमा पुर्‍याउने निर्देशनमा उल्लेख छ । यही मार्गदर्शन अनुसार कानुनी प्रक्रिया अघि बढाइने सहायक प्रजिअ पौडेलले बताए । साथै मिटरब्याजीविरुद्ध जहिले पनि जुनसुकै बेला उजुरी दिन सकिने पनि उनले बताए । मिटरब्याजी साहुहरूबाट पीडित नागरिकका समस्या समाधान गर्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव डा. भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रकाशित : भाद्र ८, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?