कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

सीमामा अवैध कारोबार रोक्न माग

भारतबाट अवैध रुपमा सामान आयात हुँदा व्यवसायमा असर परेको उद्योगी–व्यवसायीको गुनासो
माधव ढुंगाना

भैरहवा — खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध व्यापारिक कारोवार पूर्ण रूपमा नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् । मूल भन्सार नाकाबाहेक अन्यत्रबाट विनाभन्सार सामान भित्रिरहेको भन्दै व्यवसायीले नियन्त्रण गर्न माग गरेका हुन् ।

सीमामा अवैध कारोबार रोक्न माग

कोभिड–१९ का कारण नेपाल–भारत सीमा बन्द गरिएका बेला सीमावर्ती भारतीय बजार सुनसान बनेका थिए । मूलबाहेक अन्य खुला सिमानाबाट भन्सार छलेर हुने कारोबार निरुत्साहित भएको थियो । सीमापारि गएर किनमेल गर्ने प्रवृत्तिमा कमी आएको थियो । सीमावारिका सामान्य किराना पसललगायत व्यवसाय फस्टाउन थालेका थिए । भन्सार नाकाबाहेकका सिमानामा कडाइ गरिएपछि भन्सार छलेर हुने अवैध कारोवार नियन्त्रणमा आएको थियो । संक्रमणमा कमी आएसँगै सीमा क्षेत्र खुला भयो । त्यसयताको अवस्था फरक बनेको हो । खुला सिमानाको फाइदा उठाउँदै अवैध कारोबारले अहिले फेरि निरन्तरता पाएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रूपन्देहीले संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी व्यवसायीको संरक्षण र प्रवर्द्धनका लागि सीमामा चोरी पैठारी नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने माग गरेका हुन् । अवैध व्यापारिक कारोवारका कारण स्वदेशी व्यवसायमा असर परी व्यवसायी पलायन हुन लागेको दाबी संघ र संगठनले गरेका छन् । खुला सिमानाबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तु बिनापरीक्षण भित्रिने गरेको र यसबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने असरका बारेमा पनि स्थानीय प्रशासनलगायत राज्यका सम्बन्धित सरोकारवाला निकाय गम्भीर बन्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

‘खुला सिमानाको फाइदा उठाउँदै हुने गरेको अवैध कारोवारले स्वदेशी व्यवसायलाई फेरि धराशयी पार्न थालेको छ । यस्ता अवैध कारोवारमाथि सरकारी स्तरबाट नियन्त्रण हुन जरुरी छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले भने, ‘भारतबाट जे–जस्तो व्यापारिक कारोवार हुन्छ, त्यो सबै अनिवार्य रूपमा भन्सार नाका हुँदै मात्र हुनुपर्छ ।’ उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले सस्तो पाउने आशमा नेपाली मालसामान किनमेलका लागि सीमावर्ती भारतीय बजारमा जाने प्रवृत्ति रहेको तर गुणस्तरबारे बेवास्ता गर्ने गरेको बताए । ‘नेपाली उपभोक्तालाई लक्षित गर्दै सीमा जोडिएका कतिपय भारतीय भूमिमा हाटबजार समेत लाग्ने गरेको छ,’ ज्ञवालीले भने, ‘ती हाटबजारबाट घरायसी सामान किनमेलका नाममा नेपाली व्यापारीले गाडी लिएर बिनाभन्सार मालसामान भित्र्याउने गर्छन् ।’

फरेनी बजारमा कडाइ

कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न सिद्धार्थनगर–१ र २ नम्बर वडासँग जोडिएको भारतको फरेनी बजारमा किनमेलका लागि जाने नेपाली उपभोक्तामाथि कडाइ गरिएको छ । विगत छ/सात वर्षदेखि फरेनीमा नेपाली उपभोक्तालाई लक्षित गरेर हाटबजार लाग्ने गरेको छ । नेपालीको अत्यधिक भीड बढ्न थालेपछि पहिला साताको एक दिन लाग्ने बजार अहिले दुई दिन लाग्ने गर्छ । दशगजामै जोडिएर भारततर्फ लाग्ने गरेको हाटमा अत्यधिक भीड हुने र संक्रमणको जोखिम भएकाले जिल्ला कोभिड व्यवस्थापन समितिले त्यहाँ जाने नेपालीमाथि कडाइ गरेको हो ।

कोरोना नियन्त्रणका लागि निर्धारित स्वास्थ्य मापदण्डको पालनासँगै दशगजामा हुने अस्वाभाविक भीड नियन्त्रण गर्न समितिले करिव डेढ महिनाअघि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । किनमेलका लागि त्यहाँ जान खोज्नेलाई सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेको उनले बताए । ‘उक्त हाट बजारमा अस्वाभिक भीड हुँदा संक्रमणको जोखिम बढेको देखियो । अर्कोतर्फ, घरायशी प्रयोजनका नाममा बिनाभन्सार सामान भित्रिंदा राष्ट्रिय अर्थतन्त्रमा पनि प्रतिकूल असर पर्‍यो,’ उनले भने, ‘घरायशी सामान किनमेलका नाममा अवैध कारोवार हुने गरेको भन्दै धेरै व्यावसायिक संघ/संस्थाबाट नियन्त्रण र व्यवस्थापन गर्न माग आएकाले उक्त कदम चालेका हौं ।’

प्रकाशित : भाद्र ७, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×