वैदेशिक रोजगारीबाट फर्केर उद्यम- लुम्बिनी - कान्तिपुर समाचार

वैदेशिक रोजगारीबाट फर्केर उद्यम

काशीराम डाँगी

रोल्पा — वैदेशिक रोजगारीबाट फर्किएका यहाँका युवा उद्यममा आकर्षित भएका छन् । सिकेको सीप र अनुभवलाई गाउँमै उपयोग गर्न थालेका छन् । जिल्लाबाट वैदेशिक रोजगारीमा पुगेका थुप्रै युवाले अहिले सिर्जनात्मक काम गरिरहेका छन् । २० वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका माडी–२, घर्तीगाउँका भीमसेन घर्तीमगरलाई कमाएर परिवार पाल्ने चिन्ता थियो । १५ वर्ष त्यहाँ बस्दा उनले राम्रै कमाए । कमाएर घर फर्केका उनले अहिले गाउँमै व्यवसाय थालेर अरूलाई समेत रोजगारी दिएका छन् ।

‘पहिले काम नपाएर विदेश गएँ । त्यसबेला निकै दुःख पनि गर्नुपर्‍यो,’ उनले विगत सम्झिदै भने, ‘आएपछि व्यवसाय थाल्दा कमाइ र अरूलाई रोजगारीसमेत दिएको छु ।’ १५ वर्षपछि मुलुक फर्केर उनले रोल्पा सदरमुकाम लिबाङमा घर, गाडी मात्रै किनेनन्, नयाँ व्यवसाय पनि थाले । युवा व्यवसायी सोरो बुढामगरसँगको साझेदारीमा ७ वर्षदेखि गाडी मर्मत गर्न नेसनल मोटर पार्ट्स फर्म सञ्चालन गरेपछि कमाइसँगै रोजगार पनि दिन पाएका छन् । ‘विदेशमा काम गर्न सजिलो छैन, दुःख निकै हुन्छ,’ उनले भने, ‘यहीं हिम्मत र भरोसा मार्नु हुन्न, आत्तिनु हुन्न ।’ अहिले ग्यारेजबाट महिनामा कम्तीमा ६० हजार कमाइ हुन्छ भने ‘फोर्स’ जिप सञ्चालनबाट ५० हजार कमाइ छ । ५० वर्षका भीमसेन साना गाडी सञ्चालन गर्ने यातायात समिति जलजला हिमाल यातायातका अध्यक्षसमेत हुन् । समितिमा ६० भन्दा बढी गाडी छन् । उनकै अगुवाइमा समितिमा आधा दर्जनले र ग्यारेजमा तीन जनाले रोजगारी पाएका छन् ।

विदेशबाट फर्केपछि जंकोटका ५४ वर्षीय शशिराम डाँगी र लालबहादुर डाँगीले लिबाङमा ग्यारेज सञ्चालन गरेका छन् । संकटकालमा करिब १० वर्ष साउदीमा बसेर फर्केपछि दुई छोरालाई पढाउन सकेको शशीरामले बताए । ‘म जाने क्रममा यहाँ माओवादी द्वन्द्व चर्केको थियो । यहाँ बस्न सक्ने वातावरण थिएन,’ उनले भने, ‘साना छोरा र पत्नीलाई घरमै छाडेर म गएको थिएँ । यहाँ केही काम गर्न सक्ने अवस्था थिएन ।’ फर्केर आएपछि आफूले सिकेको कामलाई व्यवहारमा लागू गर्न उनले ग्यारेज सञ्चालन गरेका हुन् । लिबाङमा घरजग्गा खरिद गर्नुका साथै उनले दुवै छोरालाई व्यवसायमा लगाएका छन् । दुवै छोराले भिन्नाभिन्नै मोटरसाइकल ग्यारेज चलाएका छन् । शशिरामले भने जिप ग्यारेज चलाएका छन् ।

करिब १० वर्ष कतारमा बसेका लालबहादुरले आफ्नै घरमा मोटरसाइकल ग्यारेज चलाएका छन् । कतारमा रहँदा उनले ठूलै कम्पनीमा सहायक स्टोर किपरको काम गरे । उनले नेपालमै रहँदा कम्प्युटर सिकेका कारण उनले त्यहाँ राम्रो र सजिलो काम पाए । सोचेभन्दा राम्रो तलब पाउन सके । ‘विदेश बस्दा मैले परिवार पाल्न मात्रै होइन, राम्रो कमाइ गर्ने मौका पनि पाएँ,’ उनले भने, ‘त्यसैले फर्केर पनि यहाँ व्यवसाय गर्न सफल भएँ ।’ घरमै ग्यारेज चलाएकाले दैनिक रूपमा आम्दानी भइरहेको उनले बताए । जिप र बस किनेर यातायात व्यवसायी बनेका उनले घरमा होटलसमेत चलाएका छन् । रोजगारीका लागि विदेश पुगे पनि फर्केर कुनै व्यवसाय र पेसा अपनाउनु राम्रो हुने उनीहरूको अनुभव छ । साउदीमा लामो समय बसेर फर्केका करेटीका डिलाराम वलीका अनुसार सीप सिकेर विदेश गएमा कमाइ राम्रो पाउने सम्भावना रहन्छ ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार रोल्पाबाट ६० हजार युवा वैदेशिक रोजगारीमा पुगेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या लुम्बिनीमा ७ लाख ३९ हजार ४ सय ९३ र मुलुकभरमा ५८ लाख बढी छ । वैदेशिक रोजगारीमा जाने युवाहरू दैनिक १७ सय छन् । एक वर्षमा साढे ४ लाख बाहिरिने गरेको बोर्डले जनाएको छ । यसैबीच आर्थिक वर्ष ०७७/७८ मा नेपाल भित्रिएको कुल रेमिट्यान्स ९ खर्ब ६१ अर्ब रकमले कुल गार्हस्थ उत्पादनको २२ दशमलव ४ प्रतिशत योगदान पुर्‍याएको थियो ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा रोपाइँ जात्राको रौनक

जात्रामा कोदालो बोकेर बाउसे गर्ने अघिअघि हिँड्छन्, पछिपछि रोपाइँ गर्नेले साथ दिन्छन्
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका र बगनासकालीको सिमाना चिलाङ्दीमा दिनभर रोपाइँ जात्राको रौनक देखियो । तर, नगरपालिका तानसेन बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे । यसपटक भने जात्रा हेर्न बजार आएका जात्रालु पनि देख्न नपाई घर फर्किनुपर्ने अवस्था आयो ।

‘जात्रा हेर्न आएको दिनभर कुरियो, जात्रै आएन,’ तानसेन नगरपालिका–५ की देविका घर्तीले भनिन्, ‘तानसेनको दरबार क्षेत्र घुमेर फर्किन पर्‍यो ।’ उनका अनुसार धेरै जात्रालु रोपाइँ जात्रा हेर्न नपाई घर फर्किए । अघिल्ला दुई वर्ष कोरोना संक्रमण त्रासका कारण जात्रा निस्केन । यसपटक शनिबार भएकाले पनि जात्रा बजार नआएका हुन् । बजार क्षेत्र शनिबार बन्द हुन्छ । तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघले दिने सहयोग पर्याप्त छैन ।

तानसेन बजारको शीतलपाटी, टुँडिखेल, भीमसेनटोल, नारायणस्थान, मखनटोल, वसन्तपुर, लहरेपीपल, बसपार्कमा जात्रा हेर्न कुर्नेहरूको संख्या बाक्लै थियो । ‘पसलमा बिक्री पनि छैन, जात्रालु आए पनि धेरै दिन सकिंदैन,’ व्यापारी किशोर शाहीले भने, ‘जात्रा पनि आएन । किनमेल पनि छैन ।’ उनका अनुसार पाँच वर्षयता जात्रा लागे पनि भीड कम हुन थालेको छ । जात्रामा भीडभाड रथेगिनसक्नु हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । केही वर्षयता बिस्तारै जात्राको महत्त्वमा पनि कमी हुँदै गएको हो कि भन्ने चिन्ता लागेको उनले बताए ।


सांस्कृतिक सहर तानसेनमा यसपटक गाई र रोपाइँ दुवै जात्रा मनाइएन । ग्रामीण भेगमा भने शनिबार दिनभर रोपाइँ जात्राको रौनकता छायो । बगनासकालीको नायर र बगनासको टोलीले दिनभर रमाइलो गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतको टोली पनि रोपाइँ जात्रामा सहभागी भयो । भैरवस्थान, रामपुर, जब्गादी लगायत ग्रामीण बजारमा पनि रोपाइँ जात्रा निकालिएको छ ।

ग्रामीण भेगमा नेवारी र अन्य समुदायको सहयोगमा रोपाइँ जात्रा निकाल्ने चलन छ । तानसेनमा भने नेवारीभन्दा पनि अन्य समुदायबाट नै परम्परा धान्दै आएका हुन् । रोपाइँ जात्रा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट निकालिन्छ । युवाको जोश पटक्कै नघटेको अनुभव जात्रामा देखिन्छ । तर, खर्चिलो जात्रा भएकाले आर्थिक अभाव भने सधैं रहने बगनास टोल विकास संस्थाका यज्ञ श्रेष्ठले बताए । ‘धेरै कलाकार प्रयोग गर्नु पर्ने भएकाले निकै खर्चिलो हुन्छ,’ उनले भने, ‘दुःखसुख संस्कृति जोगाउन पनि प्रत्येक वर्ष निकालिएको छ ।’ उनका अनुसार धेरै मान्छेलाई विभिन्न भेषभूषामा प्रयोग गर्नुपर्छ । त्यसैले अहिले सामान्यतया ५० हजार र बढीमा २ लाख रुपैयाँसम्म खर्च हुने उनले बताए । स्थानीय तहले यसमा सहयोग गरे संस्कृति धान्न सहज हुने उनले बताए । मान्छे नै जुवामा नारिएर हलो तान्दै हिँड्ने गरिन्छ । काठमाडौं उपत्यकापछि पश्चिम पहाडी जिल्लामा सबैभन्दा धेरै जात्रा यहाँ निकालिन्छ । रोपाइँ जात्राको रौनक अन्यभन्दा अलग्गै हुने संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले बताए । ‘तर, यसपटक बजार क्षेत्रमा रोपाइँ जात्रा नै भएन,’ उनले भने । हातमा बीउँ बोकेर युवती र युवतीको भेषमा युवकहरू सडकमा पञ्चेबाजाको तालमा धान रोप्ने गर्छन् ।


रोपाइँ जात्रामा कोदालो बोकेर बाउसे गर्ने अघिअघि हिँड्छन् । पछिपछि रोपाइँ गर्नेले साथ दिन्छन् । पञ्चेबाजाको तालमा गीत गाएर नाच्नेको छुट्टै रौनक हुन्छ । खेत मालिक ठूलो छाता ओढेर गजक्क परेको हुन्छ । कामदारहरू काममै व्यस्त हुन्छन् । नर्तकीहरू पनि कम्ती हुँदैनन् । पञ्चेबाजाको तालमा उनीहरूको नाचले दर्शक लोभ्याउँछ । त्यसमा हँसाउनेले पनि दर्शकलाई मनोरञ्जन दिएकै हुन्छन् । जात्रा हेर्नेको भीड पनि उस्तै हुन्छ । तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्यले नगरपालिकाको बैठकमा यस विषयमा छलफल गरेर आगामी वर्ष जात्राको रौनक बढाउने बताए । उनले पर्याप्त बजेट विनियोजन गरेर भए पनि संस्कृतिलाई जोगाउन पर्ने अवस्था आएको बताए । ‘यसपटक कहींकतैबाट जात्रा नै आएन,’ उनले भने, ‘दुई वर्ष कोरोनाले खायो, यसपटक किन आएन यस विषयमा अध्ययन गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : श्रावण २९, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×