कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामान्य अपरेसनसमेत हुँदैन, बिरामी जति रेफर

रोल्पा जिल्ला अस्पतालले एक वर्षमा एपेन्डिक्सका डेढ दर्जन, हाडजोर्नीका दुई दर्जन र सामान्य अपरेसनका दर्जन बिरामी जिल्लाबाहिर पठायो
काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–६ का २६ वर्षीय हिमेन्द्र रोकालाई पेटको दुखाइ बढेपछि उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरियो । उनलाई चिकित्सकले एपेन्डिक्स भएकाले अपरेसन गर्नुपर्ने सुझाव दिए । तीन दिनसम्म अस्पतालमै राखिएपछि ‘यहाँ उपचार हुन नसक्ने’ भनेर दाङको घोराही रेफर गरियो । त्यहाँ पुग्दा एपेन्डिक्स फुटिसकेको थियो । ‘म छिट्टै दाङ नपुगेको भए मेरो ज्यान जाने रहेछ । यहाँका डाक्टरको भनाइ सुनेको भए म बाँच्न मुस्किल हुने रहेछ,’ उनले भने । दाङमा उनलाई उपचार गर्ने क्रममा आईसीयूमा राख्नुपरेको थियो । एपेन्डिक्सको लक्षण देखिनासाथ छिट्टै अपरेसन गर्न नसके ज्यान जान सक्छ । दाङमा एक निजी अस्पतालमा उनले उपचार गराएका थिए ।

सामान्य अपरेसनसमेत हुँदैन, बिरामी जति रेफर

यस्तै रोल्पा नगरकै एक महिलाको पेट दुख्न कम नभएपछि उनलाई रोल्पा अस्पतालमा भर्ना गरियो । एपेन्डिक्स भएको भनी केही दिन उनलाई अस्पतालमै राखियो । यहाँ अपरेसन गर्न सक्दैनौं भनेर चिकित्सकले रेफर गरिएकी ती महिलालाई बुटवलस्थित अस्पतालमा पुनः जाँच गर्दा एपेन्डिक्स नभएको पत्ता लाग्यो । बुटवलमा चिकित्सकले महिलाको पाठेघरमा पानीको फोका जम्मा भएर समस्या भएको पत्ता लगाए । उनको त्यहीं उपचार भयो । केही समयअघि रोल्पा नगरकै धबाङकी गर्भवती अस्पतालमा पुग्दा चिकित्सकले सही समस्या पत्ता लगाएनन् । उनको पेटमा जुम्ल्याहा बच्चा भए पनि चिकित्सकले एउटा मात्रै बच्चा भएको डाइग्नोसिस गरे । अपरेसन गर्न नसक्ने भनेर उनलाई रेफर गरेपछि ती महिला घर फर्किइन् । ‘घरमा पुगेपछि सुत्केरी हुने क्रममा उनको मृत्यु भयो,’ रोल्पा–१० का वडाध्यक्ष मतिलाल डाँगीले भने, ‘चिकित्सकले रिफर गरे पनि उनको घरायसी र पारिवारिक अवस्थाबारे बुझ्न नसन्दा ती सुत्केरी महिला र दुई बच्चाको ज्यान गयो । चिकित्सकको लापरबाही सुन्दा ज्यादै दुःख लाग्छ ।’

विगत एक वर्षयता रोल्पा अस्पतालमा अपरेसन गर्न सक्ने क्षमताका चिकित्सक खटिँदै आएका छन् । सरकारले खटाएबाहेक संस्थाहरूले समेत खटाएका चिकित्सक अस्पतालमा उल्लेख्य मात्रामा छन् । तर, सामान्य अपरेसनसमेत जिल्लामा गरिँदैन । अस्पतालमा आएका बिरामीलाई केही दिन भर्ना गरेर पहिले उपचार यतै हुन्छ भनी चिकित्सकले आश्वासन बाँड्छन् तर केही दिनपछि बाहिर रेफर गर्छन् । छोराको हात फ्याक्चर भएपछि माडी–५ भाबाङका वीरबल खत्रीले रोल्पा अस्पतालमा तीन दिन बस्दा पनि उपचार नभएपछि दाङ पुगेर छोराको उपचार गराएको सुनाए । ‘जिल्लामै उपचार होला भनेर थोरै पैसा लिएर आएको थिएँ, दाङ पुगेर उपचार गराउँदा निकै समस्या भयो,’ उनले भने, ‘एकातिर पैसा खर्च भयो, अर्कातिर तनाव बेहोर्नुपर्‍यो ।’

एक वर्षको अवधिमा रोल्पा अस्पतालले एपेन्डिक्सका डेढ दर्जन, हाडजोर्नी भाँचिएका दुई दर्जन र सामान्य अपरेसनका दर्जन बढी बिरामीलाई रेफर गरेको छ । बिरामीलाई जिल्लामै उपचार सहज होस् भन्ने उद्देश्यले अस्पतालको अनुरोधअनुसार निक साइमन संस्थाले एक जना विशेषज्ञ चिकित्सक एक वर्षअघि पठाएको थियो । एमडीजीपी विशेषज्ञ डा. रणबहादुर बोगटीलाई आकर्षक तलब दिएर उक्त संस्थाले रोल्पा अस्पतालमा पठाएको हो । अस्पताल स्रोतका अनुसार उनको क्षमताअनुसारको सेवा प्रवाह भएको छैन । डा. बोगटीसहित डा. प्रकाशबहादुर बुढा, डा. आधार वली र एक जना एनेस्थेसिया सहायकलाई अस्पतालमा निक साइमन संस्थाले काम गर्न खटाउँदै आएको छ । डा. बुढा र वली दुवै जना अपरेसन विभागमा काम गर्छन् । डा. बोगटीले भने अस्पतालमा आएका बिरामीले यहाँ उपचार गर्न नमानेको दाबी गर्छन् । ‘हामीले अपरेसन गर्न सक्ने भए पनि बिरामी डराउने र तर्सिने गरेकाले रेफर गर्नुपरेको हो,’ उनले भने ।

रोल्पा अस्पतालमा लामो समयदेखि अस्पताल प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) उपस्थित छैनन् । निरन्तर कार्यालय प्रमुख नभएपछि प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई रोल्पामा काज सरुवा गरेको छ । तर, उनले पनि नियमित उपस्थिति जनाउन सकेका छैनन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?