बाँकेमा फेरि बढ्दै कोरोना संक्रमण- लुम्बिनी - कान्तिपुर समाचार

बाँकेमा फेरि बढ्दै कोरोना संक्रमण

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । गत असारयता संक्रमितको संख्या बढेको देखिन थालेको हो । जिल्लाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार मात्रै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये २१ जना बाँकेका हुन् भने चार जना अन्य जिल्लाका छन् । सोमबार भारतबाट आएका सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत वैशाख र जेठमा यहाँ कोरोना संक्रमितको संख्या शून्यमा रहेको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले चौथो लहरमा कोरोना संक्रमण भएका सबैजसो होम आइसोलेसनमा बसिरहेको बताए । ‘स्थानीय स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना फोकल पर्सन तोकिएको छ, उहाँहरूले नै फलोअप गर्नुहुन्छ,’ उनले भने, ‘सबै स्थानीय तहमा आइसोलेसन तयारी अवस्थामा छन् । कुनै समस्या आयो भने आइसोलेसनमा बस्न व्यवस्थापन गरेका छौं ।’

जिल्लाका ८ वटै पालिकामार्फत कोरोना परीक्षण भइरहेको वलीले जानकारी दिए । अहिले संक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दूरी, साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी रहेको उनले बताए । भारतीय नाका हुँदै नेपाल भित्रिनेमा संक्रमण धेरै देखिन थालेको उनले बताए । नेपालगन्जको जमुनाह नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार सोमबार नाकामा १ सय १९ जनाको परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमितमध्ये दुई जना बाँकेका छन् । तेस्रो मात्रा खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिएको उनले बताए । ज्ञवालीका अनुसार असारयता नाकामा ६ हजार जनाको कोरोना परीक्षण

गरिएकामा १ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । उनका अनुसार भारतको बैंग्लोर, गुजरात, कालापहाडलगायत ठाउँबाट आएका व्यक्तिमा संक्रमण बढी देखिएको छ ।

जिल्लामा बुधबारसम्म कोरोना संक्रमितको संख्या २१ हजार २ सय ४३ पुगेको छ । तीमध्ये २० हजार ८ सय १७ जना निको भइसकेका छन् । अहिले जिल्लामा ७३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेसनमा छन् । कोरोना महामारीबाट अहिलेसम्म जिल्लामा ३ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

भेरी अस्पतालका फिजिसन चिकित्सक राजन पाण्डेले अहिले कोरोनाको खोप लगाएका र नलगाएका दुवैमा संक्रमण देखिएको बताए । ‘अहिलेको ज्वरोमा कोरोना मात्र छैन, धेरै जना कोरोना भन्दै उपचार नगराएर घरमा बसिरहनुभएको छ,’ उनले भने, ‘अहिलेको ज्वरोमा मलेरिया, डेंगु स्क्रब टाइपस पनि देखिएकाले स्वास्थ्य संस्थामा जँचाएर मात्रै औषधि सेवन गर्नु आवश्यक देखिएको छ ।’ संक्रमण भएका दीर्घरोगीमा निमोनिया देखिए पनि अन्यमा समस्या नरहेको पाण्डेले सुनाए । ‘संक्रमणपछि गम्भीर भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थाका बिरामी धेरै छैनन्,’ उनले भने, ‘खोप नलगाएकालाई अलि बढी समस्या देखिएको छ ।’

प्रकाशित : श्रावण २६, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

राप्ती लोकमार्गले उठीबास

सडक बिग्रिँदा यात्रुवाहक र मालवाहक गाडी जोखिम मोलेर सञ्चालन
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–६ ढारेगैराकी सीता ओली घरको डिलबाट तलतिर हेरेर टोलाउँछिन् । राप्ती लोकमार्गभन्दा झन्डै ५० मिटरको दूरीमा माथितिर उनको घर छ । यही लोकमार्ग भएर दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गरिरहेका हुन्छन् । ‘सडकमुनिबाट जग्गा बगेको बग्यै छ,’ उनले भनिन्, ‘जग्गाले पहिरोको रूप लिइसक्यो, यस्तै अवस्था रहे अर्को वर्षसम्म घर पनि लैजाने जोखिम छ ।’

उनकी छिमेकी भूमकला ओलीको मन पनि खिन्न नै छ । उनको झन्डै ५ रोपनी बारी बाटोले लगिसक्यो । त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढारेगैरा राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम प्रवेश गर्ने नाका नजिकैको ठाउँ हो । २० वर्षअघि ट्र्याक खोलिएको सडकमा बर्सेनि पहिरो खस्दा स्थानीयको घरजग्गा मासिने क्रम बढ्दै गएको छ । पहिरोका कारण ढारेगैरामा ४ पटक नयाँ रुट खोलिसकिएको छ । अन्न उत्पादन हुने मुख्य जग्गा नै सकिएपछि आफूहरूको उठीबास लागेको स्थानीय नन्दराम ओलीले बताए । उनका अनुसार ७ परिवारको जग्गामा पहिरो गएको छ । ‘सुरुमा सडक आउँदा खुसी लाग्यो, जग्गा दिएर सडक बनाउन दियौं,’ उनले भने, ‘अहिले त भएभरको सबै जग्गा सडकले नै खाइदियो ।’ सडककै कारण साँझ बिहानको हातमुख जोड्न मुस्किल भइरहेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालयले सडक हिलाम्य हुने भएपछि पटक पटक सडकलाई माथिबाटै काट्ने गरेको छ । सीताले १८ मुरी मकै र ८ मुरी गहुँ उत्पादन हुने जग्गा मासिएको बताइन् । स्थानीयले मुआब्जाबापत २ लाख ७५ हजार रुपैयाँ मात्र पाएका छन् । ‘त्यति रकमले कहाँ कस्तो जग्गा आउँछ र ?,’ उनले भनिन्, ‘त्यसमा पनि २० वर्षमा पटकपटक गरी मुआब्जा दिइयो ।’

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले सडक निर्माणका क्रममा केही जग्गामा ठूलो क्षति भएको बताए । उनीहरूलाई राहत दिने गरी गाउँपालिकाले प्रक्रिया सुरु गरिसकेको उनको भनाइ छ । ‘सडक बिग्रिँदा यात्रुवाहक र मालवाहक गाडीहरू जोखिम मोलेर सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘वर्षैपिच्छे थप सडक बनाउँदा स्थानीयलाई जीविकोपार्जनमा असर परिरहेको छ ।’

प्रकाशित : श्रावण २६, २०७९ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×