१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कोइलाखानीका बालबालिका बालग्राममा

दुर्गालाल केसी

दाङ — आमाबुबा गुमाएर बेसहारा भएका घोराही उपमहानगरपालिका–१९ तिर्साङका चार बालबालिकालाई सोमबार एसओएस बालग्राम सुर्खेत पठाइएको छ । २०७७ फागुन १० गते बुबा मोहनलाल कामी र ०७८ मंसिर २८ गते आमा शान्ति कामीको निधनपछि चार बालबालिका बेसहारा भएका थिए ।

कोइलाखानीका बालबालिका बालग्राममा

मोहनलालको स्थानीय राम्चे कोइलाखानीको सुरुङभित्र कोइला खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर मृत्यु भएको थियो । शान्तिको गाउँमै हिंड्दाहिंड्दै एक्कासि बाटोमा लडेर मृत्यु भएको थियो । बुबाआमाको मृत्युपछि १४ वर्षीय दीपक कामी, १२ वर्षीया शर्मिला विश्वकर्मा, ७ वर्षीय अशोक कामी र डेढ वर्षीया सोनिया कामी आफ्नै घरमा आफैं पकाउने खाने गरिरहेका थिए ।

मोहनलालको मृत्युदेखि नै उनीहरूको समस्याबारे कान्तिपुरले लगातार समाचार प्रकाशित गर्दै आएको थियो । आमाबुबाको मृत्युपछि बालबालिका बेसहारा भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि एसओएस बालग्राम सुर्खेतले घरमै आएर उनीहरूको अवस्था बुझेको थियो । दुईपटक स्थलगत अध्ययन अवलोकन गरेपछि विभिन्न कागजी प्रक्रिया पुर्‍याएर बालग्रामले चारै जनालाई सोमबारदेखि संरक्षकत्व प्रदान गरेको हो ।

अभिभावक नभएपछि छिमेकी अमृता घर्ती मगरले ती बालबालिकाको स्याहार र संरक्षणमा सहयोग गर्दै आएकी थिइन् । सोमबार बालबालिकालाई सुर्खेत छोडेर फर्किएको अमृताले बताइन् । ‘आजसम्म गाउँमा छिमेकीहरू मिलेर खानेकुरा जुटाइदिएका थियौं । साना बच्चालाई घरमा एक्लै साह्रै गाह्रो भएको थियो,’ उनले भनिन्, ‘बालगृहमा राखेपछि उनीहरूको भविष्य सुरक्षित भएको छ । हामीलाई पनि उनीहरूले अब दुःख पाउँदैनन् भन्नेमा ढुक्क भएको छ ।’

बालबालिकालाई सुर्खेतसम्म पठाउन समस्या भएपछि पद्मोदय पब्लिक मावि घोराहीका ०५५ सालमा एसएलसी दिएका विद्यार्थीको समूह ‘ग्रुप ५५’ ले गाडी र बाटो खर्चको व्यवस्था गरिदिएको थियो । अभिभावकविहीन बालबालिकालाई बालगृहसम्म पुग्ने खर्चको समस्या भएपछि सदस्यहरूले संकलन गरेको रकमबाट सहयोग गरेको समूहका अध्यक्ष जीवन अधिकारीले बताए ।

बालग्राममा पुगेपछि भविष्यप्रति आशावादी भएको १४ वर्षीय दीपक कामीले बताए । ‘आजसम्म साना भाइबहिनीको जिम्मेवारी मेरो थियो । बाआमा नभएको घरमा एक्लै बस्दा नराम्रो लागिरहेको थियो । पढ्न लेख्न पाइएको थिएन,’ उनले भने, ‘अब हामी सबैलाई सजिलो हुने आशा लागेको छ ।’ कोइलाखानीमा मृत्यु भएपछि पाएको बिमा रकम र अन्य विभिन्न सहयोगीले दिएको रकम पनि केही स्थानीयले सापटी लिएर फिर्ता नगरेपछि बालबालिकालाई दैनिक खाने खर्चको समस्या भएको थियो । उक्त रकम पटक–पटक फिर्ता माग्दा पनि नपाएको दीपकले बताए ।

अब चारै जनाको भविष्य सुरक्षित हुने एसओएस बालग्राम सुर्खेतका सहायक निर्देशक श्याम क्षत्रीले बताए । ‘पत्रिकामा समाचार प्रकाशित भएपछि हामीले घरमै गएर उनीहरूको अवस्था बुझ्यौं । साह्रै दयनीय स्थिति देखेपछि बालगृहमा राख्ने प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘कागजी प्रक्रिया पुर्‍याउँदा केही ढिला भए पनि अब उनीहरूलाई कुनै समस्या हुने छैन । उनीहरूको सम्पूर्ण जिम्मेवारी हामीले लिएका छौं ।’ एसओएस सुर्खेतमा १ सय २६ जना यस्ता बालबालिका रहेको उनले बताए ।

प्रकाशित : श्रावण २५, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?