कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टेरिङ घुमाउँदै पथ प्रदर्शन

बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुई सयभन्दा बढी चरा उनी आवाज सुनेरै चिन्छन् । नेपाली, अंग्रेजी नाम कन्ठस्थ छ । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् ।
मनोज पौडेल

ठाकुरद्वारा, बर्दिया — गाडीको गियर बक्सछेउमै बाइनाकुलर र सिटको पछाडिको कभरमा ‘बर्ड्स अफ नेपाल’ पुस्तक छ । उनी गाडी चलाउँदा बाइनाकुलर र चराबारेको पुस्तक राख्न कहिल्यै भुल्दैनन् । बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का गाडी चालक कृष्णकुमार चन्दको परिचय फरक छ । उनी पोख्त पर्यटन पथ प्रदर्शक हुन् । 

स्टेरिङ घुमाउँदै पथ प्रदर्शन

उनी चरा र वन्यजन्तु देख्नासाथ गाडी रोक्छन् । सतर्कतासाथ अवलोकन गर्छन् । सँगैका पाहुनालाई त्यसबारे जानकारी दिन्छन् । पेसाले चालक कृष्णकुमार कर्मले चरा र वन्यजन्तुका नेचर गाइड बनेका छन् । २०५७ भदौदेखि प्रकृति संरक्षण कोषको चालक भएपछि निकुञ्ज क्षेत्रभित्र आवतजावत बाक्लियो ।

बर्दियामा हुर्केबढेपछि सानै उमेरदेखि प्रकृति, चरा र वन्यजन्तुप्रेमी थिए । ‘नेचर गाइड बन्ने इच्छा थियो,’ उनले भने, ‘पेसाले चालक बनायो ।’ काम गर्ने निकाय वन्यजन्तु र प्रकृतिमैत्री हुँदा धेरै सजिलो भएको उनले सुनाए । ठाकुरबाबा नगरपालिका–९ बेतहनीका ५० वर्षीय चन्द चालक भए पनि राम्रो नेचर गाइड बनेका छन् । उनी निकुञ्जभित्र गाडी चलाउँदा चलाउँदै चरा र वन्यजन्तु राम्ररी पहिचान गर्न सक्ने भएका हुन् । तिनका आनीबाली, प्रजनन समय र निकुञ्जभित्र पनि बढी देखिने ठाउँबारे राम्रो जानकार छन् । बर्दिया राष्ट्रिय निकुञ्ज वा प्रकृति संरक्षण कोषमा कोही भीआईपी आए उनकै खोजी हुन थाल्यो । निकुञ्जभित्रका चौकिल्ला उनलाई चप्पाचप्पा थाहा छ ।

९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नदी तटीय बर्दिया राष्ट्रिय निकुञ्जको गाडी गुड्ने २ सय २५ किमि ग्रावेल बाटोमै उनी हिंडेका छन् । संघीय, प्रदेश मन्त्रालयका धेरै मन्त्री र सचिवका गाइड बनेका छन् । चरा, वातावरण र प्रकृति क्षेत्रमा कलम चलाउने धेरै सञ्चारकर्मीलाई घुमाएको फेहरिस्त लामै छ । उनी वन्यजन्तु र चराका बारेमा एनटीएनसीमार्फत अध्ययन अनुसन्धान गर्न आउने विदेशीका पनि रोजाइमा पर्छन् । उनले धेरै विदेशी प्रोफेसर र वन्यजन्तुका विद्यार्थीलाई गाइड गरेका छन् । एसईई उत्तीर्ण उनी अंग्रेजी बोल्न र बुझाउन सक्छन् । उनको मिजासिलो बानी, सरल स्वभाव, ज्ञान र मिठो बोलीले सबैको मन जितेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुई सयभन्दा बढी चरा उनी सजिलै चिन्छन् । कतिपयको आवाज सुनेर चिन्छन् । नेपाली र अंग्रेजी नाम कन्ठस्थ छ । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् । वन, घाँसे मैदान र नदीखोला तटीय क्षेत्रमा बस्ने चरा पनि छुट्याउन सक्छन् । ‘काँडे भ्याकुर नेपालमा मात्र पाइन्छ,’ उनले भने, ‘यहाँको चुरे क्षेत्रको तेलपानीमा देखेको हुँ ।’ संरक्षित क्षेत्रमा बर्दियामा मात्र पाइने रैथाने चाँदीकाने मिसिया पनि यही देखेको उनले सुनाए । सबैभन्दा ठूलो राजलाहाचे र राजधनेश पनि यहाँ प्रसस्त देखिने उनले बताए । ‘सुन्दर र मनमोहक राजलाहाचे र राजधनेश देख्दा सबैको मन प्रफुल्ल हुन्छ,’ उनले भने, ‘मनै आल्हादित बनाउँछ । यो हेर्न चराप्रेमी मरिहत्ते गर्छन् ।’

वनमा नयाँ कुरा देखे, त्यसबारे जान्न मन लाग्यो भने उनी प्रकृति संरक्षण कोष र निकुञ्जका विज्ञसँग जानकारी लिन्छन् । उनको चराबारेको बुझाइ र प्रेम अनुकरणीय छ । ‘चरालाई देखाएर त्यसबारेको ज्ञान बाँडेर खाने हो, मारेर होइन,’ उनले भने, ‘यसो गर्दा हाम्रा सन्ततिले पनि लाभ पाउँछन् । मारेर खायौं भने यी चरा हाम्रै पुस्तामा सकिन्छन् ।’ उनले चराका बारेमा सचेतना छर्न लागे । ‘यिनका आनीबानी, हाउभाउ र चिरबिराहट सुन्दा दुःखपीडा सबै हराउँछ,’ उनले भने, ‘मनमा शान्ति छाउँछ । सिर्जनात्मक काम गर्न प्रेरणा दिन्छ ।’

‘पर्यापर्यटनमा निकै जिज्ञासा राख्छन्,’ कृष्णकुमारलाई नजिकबाट चिन्ने चराविद् राम शाहीले भने, ‘सुनेको कुरा टिप्न सिपालु छन् । लगनशील र भलाद्मी पनि उत्तिकै । सायद यसैले उनलाई ऊर्जा दिएको छ ।’ सानो भूगोलमै धेरै प्रजातिका चरा पाइने भएकाले विश्वकै ‘बर्ड वाचर’ का लागि नेपाल अत्यन्तै रुचाइएको ठाउँ हो । विशाल भूगोल भएका छिमेकी देश चीन र भारतमा त्यहाँको सरकारी तथ्यांक अनुसार क्रमशः १ हजार ३ सय १४ र १ हजार २ सय ६६ प्रजातिका चरा पाइन्छन् ।

नेपालमा ८ सय ९१ प्रजातिका चरा पाइन्छन् । जसमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै एक दिनमा ६० प्रजातिका चरा सजिलै देख्न सकिन्छ । निकुञ्जमा पाइने चराको तथ्यांक पनि कृष्णकुमारले राखेका छन् । ‘पंछी अवलोकनका क्रममा २०७७ मंसिरमा निकुञ्जभित्र तीन प्रजातिका नयाँ चराको अभिलेख गरिएको छ,’ उनले भने, ‘नयाँ भेटिएकामा धोबिनी खञ्जरी, कैलोकण्ठे तोरीगाडा र शिला बगेडी हुन् । अब यहाँ पाइने चराको संख्या ५ सय १६ पुगेको छ ।’

कृष्णकुमारको बाघ साइनो

बाघका लागि बर्दिया विश्व प्रसिद्ध छ । कतिपय पर्यटक बाघ हेर्नकै लागि यहाँ आउँछन् । कृष्णकुमार बाघ देखाउन चाहिने कला र सीप भएका गाइडमध्येमा पनि पर्छन् । ‘बर्दियामा बाघ देखिने धेरै सम्भावना भएको ठाउँ तिनकुने, किङफिसर, बाल्कोनी, कठास र टेण्ट हो,’ उनले भने, ‘गर्मीमा चैतदेखि जेठसम्म यहाँ बाघ देखिन्छन् ।’

एकैपटक ५ वटासम्म बाघ देख्दाको आनन्द उनले सुनाए । बाघको आनीबानी उनले राम्रोसँग बुझेका छन् । बाघका पाइला देख्नासाथ धेरै कुरा पत्ता लगाउँछन् । ‘पाइला हेरेर पोथी र भाले बाघ छुट्याउँछु,’ उनले भने, ‘भालेको लामो पाइला हुन्छ । पोथीको गोलो हुन्छ ।’ बाघको दिसा देखेर हिंडेको बाटो थाहा हुने उनले सुनाए । बाघको दिसाकै आधारमा कुन जनावरलाई आहार बनायो भनेर पनि उनी पत्ता लगाउन सक्ने बताउँछन् ।

‘बाघले प्रयोग गर्ने आन्तरिक शक्तिमा पहिलो सुँघाइ, दोस्रोमा सुनाइ र तेस्रोमा देखाई पर्छ,’ उनले भने, ‘बाघ जब वयस्क हुन्छ अनि पोथीको आवश्यकता महसुस गर्छ । त्यतिखेर उसले आफू बस्न जंगलमा निश्चित रजाइँ क्षेत्र निर्धारण गर्न थाल्छ ।’ त्यसको निर्धारण मुख्यतया तीन किसिमले गर्ने उनले सुनाए । ‘पहिलो गर्जेर र दोस्रो सिमानामा दिसापिसाब गरेर संकेत गर्छ,’ उनले भने ‘अन्तिममा भाले बाघले रजाइँ क्षेत्रको सीमामा रहेका रुख र भुँइमा नङ्ग्राले चिथोरेर सिमाना निर्धारण गर्ने गरेको पाइन्छ ।’

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?