अनुमति नपाउँदा गोदाममै थन्कियो जडीबुटी- लुम्बिनी - कान्तिपुर समाचार

अनुमति नपाउँदा गोदाममै थन्कियो जडीबुटी

२ हजार टन निकासी हुन सकेन,सरकारी प्रोत्साहन नहुँदा उत्पादनमा पनि कमी 
रुपा गहतराज

नेपालगन्ज — भारतीय प्लान्ट क्वारेन्टाइनको लिस्टमा नेपाली जडीबुटी नसमेटिंदा बाँकेबाट यतिबेला जडीबुटी निर्यात हुन सकेको छैन । भारत सरकारले नेपालको ल्याबलाई मान्यता दिए पनि सेन्टर ल्याब ठिक नभएकाले नेपाली जडीबुटी सूचीकृत हुन नसकेको सरोकारवालाले बताए ।

बाँकेका किसान उत्पादित जडीबुटी देखाउँदै।

ओसारपसारमा कडाइ भएसँगै भारत पठाउन नसकिएपछि झन्डै २ हजार टन जडीबुटी नेपालगन्जस्थित जडीबुटी व्यवसायी संघमै थुपारिएको छ । बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् ।नेपालगन्जमा थुप्रिएको जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो १ करोड रुपैयाँजतिको उत्पादन यत्तिकै रहेको बताए ।

‘बजारमा डिमान्ड छैन । राज्यको कुनै प्रोत्साहन नीति छैन । डिमान्ड घटेपछि किसानलाई पनि नोक्सान भइरहेको छ,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई विदेशसम्म पुर्‍याउँदा हामीले कुनै अनुदानसमेत पाउँदैनौं ।’

नेपाल जडीबुटी संघ बाँकेले गत वर्षसम्म ५ हजार टनसम्म जडीबुटी निर्यात गरेकामा अहिले यो दर घटेको छ । यस वर्ष २ हजार टन मात्र जडीबुटी निर्यात भएको छ । मुलुकको झापादेखि कञ्चनपुर र इलामदेखि दार्चुलासम्मका जिल्लामा जडीबुटी खेती गरिएको र जंगलबाट संकलन गरिएका ३० प्रकारका जडीबुटी बाँकेमा ल्याउने गरिन्छ ।

सरकारले जडीबुटीप्रति ध्यान नदिएको र समस्या सहजीकरण नगर्दा समस्या भइरहेको नेपाल जडीबुटी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए । सरकारले जडीबुटीको उत्पादन र निर्यातमा ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उल्लेख्य मात्रामा उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘जडीबुटी कम उत्पादन हुनु, भारतीय कस्टममा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुँदा नै निर्यातमा कमी आएको हो,’ अध्यक्ष शर्माले भने, ‘सरकारकै बेबास्ताका कारण जडीबुटी व्यवसाय धरापमा परिरहेको छ ।’

जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समन्वय नगरेकाले व्यवसायीले समस्या झेल्नुपरेको बताए । ‘यदि सरकारले ठोस कार्यक्रम ल्याउने हो भने नेपालमा २० करोड बराबरको जडीबुटी उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘छिमेकी देशहरूमा पनि निर्यात गर्न सकिन्छ ।’ बाँकेमा मात्रै १ सय १२ हेक्टर जमिनमा जडीबुटी खेती गरिंदै आएको छ । यहाँका किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् भने ७ हेक्टरमा अन्य जडीबुटी खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको सुरुवात गरिएको छ । नेपाल जडीबुटी व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन ।

सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, इथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र सम्बर्द्वन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीय स्तरमा पुर्‍याउने उद्देश्यले नेपालगन्जमा वनस्पति अनुसन्धान केन्द्रसमेत स्थापना गरेको हो ।

केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवर्द्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि बढाएको देखिंदैन । ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीका विरुवा उत्पादन र विक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । यहाँ हुर्काइएका जडीबुटीका विरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।

नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्

कालो सुँगुर पालनमा आकर्षण

घनश्याम खड्का

म्याग्दी — माग बढेपछि म्याग्दीमा अर्जमे कालो सुँगुर (च्वाँचे) व्यावसायिक रूपमा पाल्न थालिएको छ । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ वटा सुँगुरका माउ छन् । थापाले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्ने गरेका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् । 

तस्बिर : सटरस्टक

एउटा पाठो ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिक थिएन । अहिले बंगुरसंगै सुँगुरलाई पनि व्यावसायिक पालन थालेको हुँ । परिवारबाहेक ४–५ जनालाई रोजगारी पनि दिएको छु’ एकेन्द्रले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकलाई हौसला मिलेको छ ।’

सँगुरका पाठापाठीलाई स्थानीयले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे । ६ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । ४५ दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी ८ सय रुपैयाँमा बिक्री हुन्छ ।

सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न एक लाख रुपैयाँ अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ का रत्नेचौर र अर्जममा मात्र हो । होटल, रेस्टुरेन्टमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बंगुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको छ । रत्नेचौर र अर्जममा ५ सयभन्दा बढी मगर घरमा २–४ वटा लोकल कालो सँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।

थापा मगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपुजा, पितृपुजा, दसैंमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यकर्ता सुँगुर काट्ने गरिन्छ । परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी–१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई आर्थिक अनुदान सहयोग गर्न थालेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×