कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कुखुरा तस्करी रोक्न माग

नेपालीभन्दा भारतीय कुखुरा प्रतिकिलो ४० रूपैयाँ कम पर्ने भएकाले तस्करी भइरहेको किसानको आरोप
कान्तिपुर संवाददाता

नेपालगन्ज — बाँकेमा कुखुरा तस्करी बढ्दा व्यावसायिक किसान मर्कामा परेका छन् । भारतबाट खुला सीमाको फाइदा उठाउँदै कुखुरा भित्रिन थालेपछि यहाँका किसानका कुखुरा बिक्री हुन छाडेका हुन् । भारतीय कुखुरा नेपालीभन्दा प्रतिकिलो ४० रुपैयाँ कममा पाइन्छ । त्यसैले व्यापारीले चोरबाटो भएर भारतबाट कुखुरा भित्र्याइरहेका छन् ।

कुखुरा तस्करी रोक्न माग

अहिले नेपाली कुखुरा प्रतिकिलो २ सय रुपैयाँमा दिंदा पनि व्यापारीले खरिद नगरेको किसानले बताए । अहिले बाँकेमा प्रत्येक हप्ता ८० हजारदेखि १ लाखसम्म बजार लैजानका लागि कुखुरा तयार छन् ।

कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले केही सातायता बाँकेका किसानका कुखुरा बिक्री नहुँदा किसानले लाखौंको घाटा व्यहोरिरहेको बताए । तर, बजारमा मासु बिक्रेताले भारतीय कुखुरा बेचिरहेको उनको आरोप छ । भारतबाट अवैध कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्री हुन छाडेपछि पोल्ट्री व्यवसाय सम्बद्धहरूले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले प्रशासनले अवैध आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए । भारतबाट पंक्षीजन्य वस्तु आयात गर्न प्रतिबन्ध लगाइएको भए पनि बाँकेमा अवैध रूपमा कुखुरा तस्करी भइरहेको र त्यसमा प्रहरी मूकदर्शक बनेको यहाँका किसानको आरोप छ ।

बाँकेको खुला नाकाबाट अवैध रूपमा भित्रिने कुखुराको मासु काठमाडौंसम्म पुग्ने भएकाले नाकामा कडाइ गरिदिन नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले आग्रह गरे । यहाँका कुखुरा व्यवसायीले भारतीय कुखुरा रोक्न प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोधसमेत गरेका छन् । भारतीय कुखुरा निर्वाध आयात हुँदा आफनो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाइ गर्न अनुरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले आफैंले केही पसलको अनुगमन गरेका थिए । त्यस क्रममा धेरै ठाउँमा भारतीय कुखुरा ल्याएर बेच्ने गरेको पाइएको व्यवसायीले बताए ।

प्रकाशित : श्रावण १७, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×