कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समन्वय नहुँदा सडक अलपत्र

कान्तिपुर संवाददाता

परासी — स्थानीय, प्रदेश र केन्द्रको समन्वय नहुँदा पश्चिम नवलपरासीमा ११ किलोमिटर सडक अलपत्र परेको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको साबिकको केन्द्रदेखि प्रतापपुर गाउँपालिकाको गोपीगन्ज बजारसम्मको सडक मर्मत र स्तरोन्नति कसले गर्ने भन्ने विषयमा अन्योल हुँदा सडक जीर्ण बन्दै गएको हो । 

स्थानीय तहले प्रदेशअन्तर्गतको सडक र प्रदेशले केन्द्रअन्तर्गतको सडक भन्दै मर्मत संभारमा चासो नदिंदा सडकमा खाल्टाखुल्टी र पानी जमेर हिंडडुल गर्न नसकिने अवस्थामा पुगेको छ । सडकमा साना सवारी र एम्बुलेन्स सञ्चालनमा समेत असहज हुने गरी खाल्टाखुल्टी भए पनि वर्षौंदेखि मर्मत संभार नहुँदा समस्या बढेको स्थानीयको गुनासो छ ।

‘संघीयताभन्दा अगाडि भौतिक योजना मन्त्रालयले यसको संरक्षण र मर्मत गर्दै आएको थियो । संघीयतापछि यो सडकको बेहाल भएको छ,’ गण्डक जल तथा उपभोक्ता समितिका अध्यक्ष हैदर अलीले भने, ‘नहरसँगै जोडिएको सडक भएकाले यसअघि हामीले पटक–पटक यसको मर्मतसंभार गर्न माग गरे पनि स्थानीय, प्रदेश वा केन्द्र कुन निकायले यसको स्वामित्व लिने भन्ने विषयमा अन्योल भएपछि अलपत्र परेको छ ।’

यो खण्डले पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकालाई जोड्छ । स्थानीय तहले भने दुईवटा स्थानीय तह जोड्ने सडक निर्माणको मर्मत प्रदेश सरकारको जिम्मा भएको बताउँछन् । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रदेश सरकारमा सडक पक्की बनाउन योजना पेस गरिएको र तत्कालका लागि सामान्य मर्मत गरेर हिंडडुल गर्न सहज बनाउने बताए । वर्षा सुरु नहुँदै सडकको यो दुरावस्था छ भने वर्षा सुरु भएपछि पैदल आवातजावतमा पनि समस्या हुने भन्दै स्थानीयले तत्काल मर्मत गर्न माग गरेका छन् ।

‘सडकमा पानी जमेर खेत रोप्नेजस्तो भएको छ । तीनवटै सरकार एकअर्कालाई देखाउँदै पन्छिएका छन्,’ सरावलका नरबहादुर चौधरीले भने, ‘स्थानीय सरकारले कालोपत्र गर्न नसक्ने भए पनि आ–आफ्नो पालिकाअन्तर्गत पर्ने सडक सामान्य मर्मत त गर्न सक्छन् नि ! त्यति पनि नगर्दा स्थानीयले सास्ती पाएका छन् ।’

प्रकाशित : श्रावण १४, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?