कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल पूर्ण क्षमतामा चलाउन माग

बुद्ध धर्म बाहुल्य राष्ट्रमा लुम्बिनीलाई गन्तव्य बनाएर नियमित उडानका लागि प्रक्रिया थाल्न माग
माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै पर्यटक आउने मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु गरी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रले माग गरेको छ । जजिरा एयरलाइन्सको सातामा तीनवटा उडानमा सीमित रहेको उक्त विमानस्थललाई आर्थिक गतिविधिसहितको चलायमान केन्द्र बनाउन अन्तर्राष्ट्रिय र आन्तरिक उडान बढाउन सरकारले तत्कालै पहल गर्नुपर्ने व्यवसायीले बताएका छन् । यसका लागि सरकारले नेपालकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट उडान सञ्चालन गर्नुपर्ने सुझाव पनि उनीहरूको छ ।

विमानस्थल पूर्ण क्षमतामा चलाउन माग

‘यस विमानस्थललाई लक्षित गरी भैरहवा, लुम्बिनीलगायत प्रदेशभरि नै पर्यटन क्षेत्रमा निजी लगानी ठूलो छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले भने, ‘यस विमानस्थल हुँदै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सबाट दिल्ली, थाइल्यान्ड, मलेसिया, कतार र दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छ ।’ छिमेकी राष्ट्रका समकक्षीसँग समन्वय गरी चीन, भारत, थाइल्यान्ड, म्यानमार, भुटान, श्रीलंका, दक्षिण कोरिया, जापानलगायतका प्रमुख बुद्ध धर्मको बाहुल्य रहेका राष्ट्रमा लुम्बिनीलाई गन्तव्य बनाएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि प्रक्रिया थाल्नुपर्ने उनले बताए ।

गत जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान कुवेतदेखि सञ्चालन गर्दै आएको छ । आउँदो अक्टोबर ३० देखि सातामा तीनवटा उडान गर्ने गरी बिज एयरले पनि यहाँ अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरेको छ । हंगेरीको यो वायु सेवा कम्पनीले यूएईको अबुधावी–भैरहवा हवाई उडानको तयारी गरेको हो । दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्लीबीच हवाई उडान सञ्चालनका लागि सरकारले तत्परता देखाउनुपर्ने सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । ‘तत्कालै सातामा कम्तीमा तीनवटा भए पनि दिल्ली–भैरहवाबीच हवाई उडान सञ्चालन गर्न जरुरी छ,’ उनले भने, ‘यो उडान सञ्चालन भएपछि नेपालमा भारतीय पर्यटकको आगमनमा वृद्धि हुनेछ ।’

ट्राभल्स एन्ड टुर एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले पनि नेपाल एयरलाइन्सको विमानबाट तत्कालै दिल्ली–भैरहवा उडान सञ्चालन गर्न जरुरी रहेको बताए । ‘हामीसँग आफ्नै विमान पनि छ । यदि दिल्ली–भैरहवा उडान सञ्चालन गर्ने हो भने हरेक उडान यात्रुले भरिन्छन्,’ उनले भने, ‘भैरहवादेखि १ सय किमि दक्षिणमा रहेको भारतको गोरखपुरस्थित विमानस्थल हरेक दिन दिल्ली जाने आउने नेपाली यात्रुले भरिएको हुन्छ ।’

पर्यटन व्यवसायी तथा नेपा ट्राभल्सका सञ्चालक सञ्जय बजिमयले विभिन्न अन्तर्राष्ट्रिय उडानसँगै भैरहवाबाट आन्तरिक क्षेत्रीय उडान सञ्चालन गर्नुपर्ने बताए । बुद्ध एयरले मात्रै भैरहवाबाट काठमाडौंबाहेक दैनिक एक/एक उडान पोखरा र भरतपुरमा गर्दै आएको छ । जजिरा एयरलाइन्सले सञ्चालन गरेको भैरहवा–कुवेत हवाई उडानमा भैरहवा क्षेत्रका मात्र नभएर पूर्वमा जनकपुर, विराटनगरदेखि पश्चिममा महाकाली र पहाडी क्षेत्र सुर्खेतसम्मका यात्रु छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले ती क्षेत्रका हवाई यात्रुले भैरहवाबाट सेवा लिनु भनेको ती क्षेत्रमा यहाँबाट आन्तरिक हवाई उडानको सम्भाव्यता राम्रो देखाएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी र योजना सरकारको रहेको बताए । ‘भैरहवामा हवाई यात्रुको चाप बढ्दै जान थालेकाले घरेलु विमानस्थललाई पनि थप व्यवस्थित बनाउने र दोस्रो टर्मिनल बनाउने योजना छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघको एक कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले भने, ‘लुम्बिनीलाई एउटा गन्तव्य स्थल बनाएर विदेशबाट धेरैभन्दा धेरै पर्यटकलाई ल्याउने योजनासहितको कार्यक्रम सरकारले सञ्चालन गर्दै छ ।’

प्रकाशित : श्रावण १३, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?