२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

आउँदा दाल, फर्किंदा पोस्ता दाना

साढे २ महिनामा नेपालगन्जमा अवैध बाटोबाट भित्रियो २४ लाखको चिनी
जे पाण्डे

नेपालगन्ज — चना, मुङ र सिमीका तीनथरी दाल लिएर काठमाडौं पुगेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर नेपालगन्ज हुँदै रुपैडिहा फर्किंदा पोस्ता दाना अर्थात् ह्वाइट पप्पीसिडका २ सय ५० बोराका साथ पक्राउ पर्‍यो ।

आउँदा दाल, फर्किंदा पोस्ता दाना

भारतको दिल्लीनजिकैको गान्धीनगरका सचिन जैनको उक्त कन्टेनर असार १२ मा नेपालगन्जको जमुनाह नाकाबाट नेपाल प्रवेश गरेको थियो । झन्डै १५ टन तीनथरी दालको भन्सार तिरेर उक्त कन्टेनर यहाँबाट काठमाडौंका लागि गुडेको हो ।

गत शुक्रबार काठमाडौंबाट नेपालगन्ज भन्सार कार्यालयको मुख्य जाँच पोस्ट हुँदै भारततर्फ फर्किरहेको थियो । भन्सार अधिकारीहरूले नदेखेको उक्त कन्टेनरभित्रको अफिमको दानालाई जमुनाह इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीले सीमापार गर्नुभन्दा ५० मिटर बाँकी हुँदा नियन्त्रणमा लिएका हुन् । जाँच गर्ने क्रममा चालक फरार भए । कन्टेनर खोलेर हेर्दा टर्कीमा उत्पादित ‘ह्वाइट पप्पीसिड’ फेला परेको थियो । ‘भन्सार कार्यालयले चेक गरेन भन्ने कुरा त गर्न सकिएन । तर, गम्भीरतापूर्वक नलिएको देखिन्छ,’ इप्रका जमुनाहका इन्चार्ज माधवप्रसाद रिजालले भने ।

यस सम्बन्धमा भन्सार कार्यालयको भनाइ फरक छ । ‘नियन्त्रण गर्ने कुरामा एउटा कुनै निकायको मात्रै होइन बोर्डरमा हामी जो जो बसेका छौं, सबैको सक्रियताको खाँचो महसुस गरेकै कुरा हो,’ नेपालगन्ज भन्सारका प्रमुख अर्जुनकुमार न्यौपानेले भने । सुरक्षा स्रोतका अनुसार २ सय ५० बोरा पोस्ता दाना सुर्खेत र दाङबाट ल्याएर बाँकेको कोहलपुरमा उक्त कन्टेनरमा लोड गरिएको थियो । नियन्त्रणमा लिएको ‘क्लोजबडी’को कन्टेनरभित्र अवैध वस्तु लुकाएर ल्याउन लैजान गोप्य लकरसमेत बनाइएको पाइएको छ । दाना त्यसैभित्र थियो ।

होटल, रेस्टुरेन्ट र भोजहरूमा झोलिलो तरकारी पकाउँदा प्रयोग गरिने पोस्ता दाना अफिमको विरुवामा लाग्ने गर्छ । तर फल भएकाले यो लागुपदार्थमा पर्दैन । नेपालमा नफल्ने भएकाले तेस्रो मुलुकबाट भित्र्याउने गरिएको छ । तर बिक्रीका लागि भारत पठाउन पाइदैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, ठूला व्यापारीले भाडामा लिएर सञ्चालन गर्दै आएको नन्दनी खाद्य उद्योगको गोदाममा असार ९ मा भारतको लखिमपुरखिरीबाट ल्याएको ५ सय २० बोरा चिनी बरामद भएको थियो । प्रहरीले धान, चामल र जडीबुटी भण्डारण गरिने गोदाममा छापा मार्दा चिनी फेला परेको थियो । उक्त चिनी बरामद भएको भोलिपल्टै प्रहरीले भन्सारलाई बुझाएको थियो । भन्सारले ओसारपसारमा संलग्नको खोजी नै नगरी चिनी लिलाम गरिदिँदा राजस्व छलीमा कारबाहीको दायरामा ल्याउनुपर्ने व्यापारीले सजिलै उन्मुक्ति पाएका छन् ।

यसअघि असार ५ मा भारतबाट भन्सार छली नेपालगन्ज हुँदै सुर्खेत पठाउन लागिएको ८१ बोरा चिनी पनि अस्थायी प्रहरी पोस्ट बबईले नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको थियो । त्यो चिनी पनि भन्सारले लिलाम गर्‍यो । तर, अझैसम्म संलग्नको खोजी भएको छैन । धेरै ठूलो दबाब र विरोधपछि ५ सय २० बोरा चिनी कसले कहाँबाट ल्याएको हो भन्नेबारे अनुसन्धान गर्न अधिकृत डिल्ली शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । ‘मुद्दा दायर गर्ने २५ दिनको म्याद हुन्छ,’ भन्सार प्रमुख न्यौपानेले भने, ‘सरकारी वकिलको राय लिने क्रममा छौं ।’

वैशाखदेखि असार १२ सम्म २४ लाख ८२ हजार रुपैयाँबराबरको चिनी अवैध ढंगले भित्रिएको छ । तर, भन्सारले चिनी आयात गर्नेहरूको खोजबिनमा बेवास्ता गर्दै आएको छ । ‘आर्थिक तथा राजस्वसम्बन्धी अनुसन्धान गर्ने जिम्मा भन्सारको हो । हामीले त बरामद वस्तु भन्सारलाई बुझाउने हो,’ बाँकेका एसपी श्यामकृष्ण श्रेष्ठले भने ।

प्रकाशित : असार २३, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?