क्षमता १७५, कैदीबन्दी २४१- लुम्बिनी - कान्तिपुर समाचार

क्षमता १७५, कैदीबन्दी २४१

जिल्ला कारागार पाल्पामा १ सय ५० जना महिला कैदीबन्दी 
माधव अर्याल

पाल्पा — राख्ने क्षमता छ । तर यहाँ अहिले ३५ जना मात्र छन् । पुरुषतर्फ १ सय ७५ जना क्षमताको भवन भए पनि २ सय ४१ जना बस्दै आएका छन् । पुरुष कैदीबन्दी राख्ने भवन २०६२ माघ १८ मा द्वन्द्वकालमा माओवादीको आक्रमणबाट क्षति भएको हो । त्यसपछि बनेका नयाँ भवनमा महिला र पुरुष कैदीबन्दीलाई राखिंदै आएको छ । 


केन्द्रीय कारागारका रूपमा चिनिएको १६ कोठे पुरानो भवन कैदीबन्दी राख्ने अवस्थामा नरहेको कारागार प्रमुख ठाकुरप्रसाद अर्यालले बताए । उनका अनुसार अहिले महिला र पुरुषका लागि नयाँ भवन बनेको छ । ‘पुरुष राख्ने पुरानो भवन निर्माण हुने हो भने राम्रो हुन्थ्यो,’ उनले भने, ‘महिला राख्ने भवनमा दुई तला छ । पहिलो तलामा मात्र बस्छन् । दोस्रो तल्ला खाली नै छ ।’ पुरुषतर्फ भने आठ कोठा रहेको भवनमा कोचाकोच छ ।

पश्चिम नेपालकै प्रमुख कारागारका रूपमा १९८३ सालमा पाल्पा कारागार स्थापना भएको हो । २०६२ सालमा क्षतिग्रस्त बनेको भवनमा बन्दी बस्दै आएका थिए । त्यसबेला सरकारको केन्द्रीय कारागारका रूपमा थियो । १० वर्षअघि टेण्डर भएर पुरुष कैदीबन्दीका लागि भवन निर्माण भए पनि १६ घर भएको पुरानो भवनको काम अघि बढेको छैन । नयाँ भवनको क्षमता कम भएपछि धेरै केन्दीबन्दीे कोचाकोच भएर सुत्नुपर्ने बाध्यता छ । क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा राखिँदा खानेपानी, शौचालय, सुत्ने स्थानको व्यवस्थापन गर्न समस्या रहेको कारागार कार्यालयले जनाएको छ ।

कारागार प्रमुख अर्यालका अनुसार पहिला भैरहवा, कपिलवस्तु, गुल्मी, अर्घाखाँचीबाट समेत महिला कैदीबन्दी ल्याउने गरिन्थ्यो । ‘त्यसबेलामा ती जिल्लामा महिला कारागार बनिसकेका थिएनन्,’ उनले भने, ‘अहिले प्रायः जिल्लामा महिला कारागार बनिसकेका छन्, जसले गर्दा यहाँ चाप छैन ।’ उनका अनुसार तराईका जिल्लामा पश्चिम नवलपरासीमा लैजाने गरिन्छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मीमा भने महिला कारागार बनिसकेको छ ।

यहाँको कारागारमा दुई जना बालबालिका छन् । उनीहरू २० घण्टा आमासँगै कारागारभित्र बस्छन् । बाँकी चार घण्टा भने ‘डे केयर’ मा लैजाने गरिएको छ । कारागार प्रमुख अर्यालका अनुसार डे केयरले गर्दा बालबालिका बाहिर घुलमेल हुन पाएका छन् । उनीहरूलाई तानसेन–६ जैसीचौपारीस्थित जुनकिरी डे केयर होम लैजाने गरेका छन् । डे केयरमा १० बजे लैजाने र २ बजे ल्याउने गर्छन् ।

प्रकाशित : असार २२, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

मकैको बीउ जोगाउन भण्डारण केन्द्र

२२ टन बीउ राख्न मिल्ने गरी ३६ लाखमा संरचना निर्माण
कान्तिपुर संवाददाता

बागलुङ — बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडाकी जमुना श्रीशले १० रोपनी बारीमा उन्नत जातको मकै लगाएकी छन् । यो वर्ष घरमा खान पुगेर २/४ क्विन्टलसम्म जोगाउने योजना उनको छ । दगातुम्डाँडाकै गनबहादुर सुनारले ४ हलको मेलोमा मकै लगाएको बताए ।

मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर ३/४ मुरीसम्म जोगिने उनी बताउँछन् । यसरी जोगाएको मकै गाउँमा बनेको बीउबिजन भण्डारण केन्द्रमा पठाउने तयारी किसानहरूको छ ।

किसानहरू साउनको अन्तिम सातादेखि भदौ पहिलो सातासम्म मकै भित्र्याउँछन् । भित्र्याएको मकैमध्ये बीउ जोगाउन गाउँमै भण्डारण केन्द्र बनाइएको छ । केन्द्रमा संकलित बीउमध्ये केही परिमाण बजारमा बिक्री पनि गरिन्छ । किसानको ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३० लाख रुपैयाँ लागतमा भण्डारण केन्द्र बनाइएको हो ।

स्थानीयकै २ रोपनी २ आना जग्गामा केन्द्र बनाइएको दगातुम्डाँडा कृषि सहकारी संस्थाका अध्यक्ष भीमसेन वनले बताए । उनका अनुसार केन्द्रमा २२ टन मकैको बीउ राख्न सकिन्छ । सहकारीका २ सयभन्दा बढी किसानले व्यावसायिक रूपमा मकै खेती गर्दै आएका छन् । उनीहरूले सामूहिक भण्डारण गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । ‘भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले अबदेखि मकै जोगिने भयो,’ भुजेलले भने, ‘अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।’

यहाँ विशेषगरी मनकामना–३, देउती र सितला जातको मकै खेती गरिँदै आएको छ । समुद्री सतहबाट १२ सयदेखि २ हजार मिटरसम्मको उचाइमा रहेको दगातुम्डाँडामा मकै राम्रो फल्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । भवनसँगै यहाँ कृषि उपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञान केन्द्र र स्थानीयको श्रमदानसमेत गरी १५ लाख रुपैयाँको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट फसल स्थानीय रूपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा मागअनुसार बाह्य बजारमा ढुवानी पनि गर्ने योजना अध्यक्ष वनले सुनाए ।

यसैबीच, गतवर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट मकैको बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण गर्न थालेका हुन् । ‘५ क्विन्टल मकैको बीउ खरिद गर्न नपाएर बजेट फ्रिज भयो,’ गलकोट कृषि शाखा प्रमुख रमा शर्माले भनिन्, ‘कृषि ज्ञान केन्द्रले पनि बीउ खोजेर पठाउन सकेन ।’ यो वर्ष भने केन्द्रको अगुवाइमा बागलुङ नगरपालिका–४ को कुडुँलेमा समेत बीउ उत्पादन र भण्डारण सुरु भएको कृषि ज्ञान केन्द्र प्रमुख भट्टराईले बताए । ‘हामीले मकै पकेट क्षेत्र बनाएर बीउका लागि नै छुट्याएका छौं,’ उनले भने, ‘अर्को वर्षदेखि अभाव हुन दिँदैनौं ।’ हाइब्रिड जातको मकै लगाउने चलनले रैथाने जातको बीउ मासिन थालेको उनले बताए ।

ताराखोला गाउँपालिकाले पनि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेर मकै संरक्षण अभियान थालेको छ । त्यसका लागि ग्रामीण बस्तीमा बचेखुचेका बीउ खरिद गरेर उत्पादन बढाउने लक्ष्य रहेको कृषि शाखा प्रमुख कर्णखर भट्टराईले बताए । बागलुङमा २० हजार ५ सय हेक्टरमा मकै खेती गरिन्छ । जसमा उन्नत जातको मकै लगाउन सकेमा ६५ हजार १ सय ६३ मेट्रिक टनसम्म उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ ।

प्रकाशित : असार २२, २०७९ १०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×