१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

शृंखलाबद्ध महिला आत्महत्याले चिन्ता

रुपन्देहीमा ०७९ वैशाखदेखि असार १५ गतेसम्म १४ जनाले ‘आत्महत्या’ गरिसकेका छन्
मानसिक स्वास्थ्य अवस्था वा पारिवारिक बेमेलले निम्त्याउँदै दुर्घटना
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक वर्षयता महिलाले ज्यान गुमाउने क्रम बढेको छ । ‘पारिवारिक बेमेल’ का कारण धेरैले ज्यान गुमाउन थालेपछि स्थानीयले लामो समयदेखि न्याय माग गर्दै आएका छन् ।

शृंखलाबद्ध महिला आत्महत्याले चिन्ता

यस्ता घटनामा कमी ल्याउन स्थानीयले माग गरिरहेकै बेला दुई साताअघि तिलोत्तमा–६, पश्चिम पौनेकी सुविना गिरीको मृत्यु भयो । गत जेठ ३० गते राति पति सञ्जय गिरीले सञ्चालन गरिरहेको होटलभित्र सुविना झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । आफू र भान्जाले उद्धार गरेर मणिग्रामस्थित क्रिमसन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पति सञ्जयले प्रहरीसमक्ष बयान दिएका छन् ।

सुविनाका बुबा नरु गिरीले गत जेठ ३१ गते बिहान ३ बजे मामाससुराले फोन गरेर घटनाबारे जानकारी दिएको बताए । ‘छोरीका मामाससुराले सुविनाले मर्ने प्रयास गरेकाले अस्पताल ल्याएका छौं भन्नुभयो,’ नरुले भने, ‘अस्पताल आउनुहोस् भनेपछि होस उड्यो ।’ छोरीले आत्महत्या प्रयास गरेको खबरले मन आत्तिएको उनले बताए । ‘बिहान ९ बजे अस्पताल पुग्दा छोरीको मृत्यु भइसकेको खबर पायौं,’ उनले भने, ‘शरीरभरि नीलडाम, चिउँडोमा कोपरेको निशान र घाँटीमा समेत थिचेको दाग देख्यौं ।’ शव देखेपछि आत्महत्या गरेकामा शंका लागेको उनले बताए । हत्या गरेर अस्पताल ल्याइएको आशंका लागेपछि इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर उजुरी दर्ता गरी दोषीलाई कारबाही माग गरेको उनले बताए ।

सुविनाका ७ वर्षीया छोरी र ३ वर्षका छोरा छन् । सुविनाको घरमा पटक–पटक बास बसेकी बहिनी प्रमिलाले भिनाजुले अत्यधिक मदिरा सेवन गर्ने र दिदीलाई कुट्ने गरेको दाबी गरिन् । कुटेर लछारपछार गरिरहेको दृश्य देखेर आफूले किन यसो गर्नुभयो भन्दा भिनाजुले ‘सम्झाएको मात्र हुँ’ भन्ने जवाफ दिने गरेको उनले बताइन् । ‘धेरै पटक दिदी फोनमा रुँदा र आफैंले कुटाइ खाएको देखे पनि परिवार हो मिल्नुपर्छ भनेर सम्झाइरहें,’ प्रमिलाले भनिन्, ‘दिदी त पीडैपीडामा बाँचेकी रहिछ, पापीले मारिदियो ।’ घटनाबारे सुनाइसकेपछि सुविनाले कसैलाई नभन्नू भनेर कसम खुवाउने गरेको प्रमिलाले बताइन् । ‘मृत्यु हुनुभन्दा आठ दिनअघि माइत आएकी दिदीले घर फर्किने मन नै गरेकी थिइनन्,’ प्रमिलाले भनिन्, ‘दिदीले म त्यो घरमा को छ र जाऊँ, मलाई कुट्छ, अचेल धेरै पिउँछ भनेर रुँदै सुनाएकी थिइन् ।’ धेरै दिन माइत बसेपछि उनलाई श्रीमान्‌ले फोन गरेर घर आउने/नआउने सोधेका थिए । त्यसपछि सुविनाले ‘कसको घर आउने ? मेरो घर कहाँ छ र ? म यतै बस्छु’ भन्ने जवाफ दिएको प्रमिलाले सुनाइन् । माफ मागेर घर आऊ भन्ने जवाफ पाएपछि दिदी श्रीमान् सुध्रिएर माया गर्लान् भन्ने आशले गएको प्रमिलाले बताइन् । सुविना घर फर्किएको दुई दिनपछि घटना भएको थियो ।

सुविनाका बाबुले गत जेठ ३१ मा इलाका प्रहरी बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही माग गर्दै जाहेरी दिएका थिए । साताअघि पुरानो जाहेरीमा विवरण थपेर पूरक जाहेरी दर्ता गराएको नरुले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टमा ‘चिकित्सकले सुविनाको घाँटी थिचेर, दबाएर मृत्यु भएको र हातको डामसमेत देखिएको’ बताएपछि सोही रिपोर्टअनुरूप अनुसन्धान अगाडि बढाउन प्रहरीसमक्ष आग्रह गरेको उनले बताए । ‘घाँटीमा दबाब परेर सुविनाको मृत्यु भएको देखिएपछि पतिको दाबी झूटो ठहर भएकाले पूरक जाहेरी दिएँ,’ उनले भने । इलाका प्रहरीले सुविनाका श्रीमान् सञ्जय र भान्जा कुशललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यसअघि तिलोत्तमाकै अमृता खत्री र सीता पौडेलको मृत्यु भएपछि हत्या दाबी गरेर माइती पक्षले जाहेरी दर्ता गराएका थिए । उनीहरू दुवैको पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखियो । अमृता र सीताका माइतीले न्याय माग्दै लामो समय अन्दोलन गरेका थिए । हत्या भएको दाबीसहित अमृताका माइतीले अन्तिम संस्कार गर्न मानेका थिएनन् । अमृताको भिसेरा रिपोर्टमा समेत आत्महत्या उल्लेख भएपछि मृत्यु भएको ७३ दिनपछि आफन्तले शव बुझेर अन्तिम संस्कार गरेका थिए । अहिले दुवैका श्रीमान्लाई आत्महत्या दुरुत्साहन प्रयासमा मुद्दा चलाइएको छ । घटनामा आरोपित परिवारका अन्य सदस्य धरौटीमा छुटिसकेका छन् ।

साताअघि रूपन्देहीको सिद्धार्थनगर–६ की एक युवतीले आत्महत्या गरिन् । भैरहवा बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत उनले के कारणले आत्महत्या गरिन् भन्ने नखुलेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्र घटनाबारे केही भन्न सकिने उनले प्रतिक्रिया दिए । प्रहरीका अनुसार पछिल्लो समय भइरहेका शृंखलाबद्ध घटनामा धेरैले घाँटीमा पासो लाएर मृत्यु भएको रिपोर्ट सार्वजनिक भइरहेका छन् । ‘प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा मृतकको मोबाइल ट्रयाप गरी मृतकले गरेको पछिल्लो फोन सम्पर्क, सामाजिक सन्जालको विवरण तथा कुराकानी हेर्ने गर्छ,’ डीएसपी पौडेलले भने, ‘पोस्टमार्टम रिपोर्टका आधारमा के भएको भन्ने खुलाउन प्रहरीलाई सजिलो हुन्छ ।’ यसबाहेक किटानी जाहेरीमा उल्लेखित आरोपीका बारेमा पत्ता लगाउने र अनुसन्धान गर्ने समेत प्रहरीको काममा पर्ने उनले बताए । ‘धेरै मृत्यु केशको पोस्टमार्टम बाहेकको भिसेरा र अन्य रिपोर्ट काठमाडौंदेखि आउने, आउन समय लाग्ने हुँदा पीडित पक्षले अदालती प्रक्रियामा धेरै समय दिन पाउँदैनन्,’ उनले भने, ‘त्यस्तो रिपोर्ट पर्खिनुभन्दा पोस्टमार्टम रिपोर्टका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने गर्छ ।’

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको तथ्यांकअनुसार ०७९ वैशाखदेखि असार १५ गतेसम्म १४ जनाले ‘आत्महत्या’ गरेका छन् । आत्महत्या गर्नु वा त्यसका लागि बाध्य पारिने घटना बढेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । ‘अहिले मानिसलाई मनोसामाजिक स्वास्थ्य परीक्षण वा ज्ञानको आवश्यकता छ भन्ने लागेको छ,’ उनले भने, ‘किन मरे ? मारेकै हुन् कि भन्ने पाटो मात्र केलाउन खोज्छौं, यसबाहेक मानसिक रूपमा मृतकको स्वास्थ्य अवस्था वा पारिवारिक सम्बन्धले पनि यस्ता घटनामा भूमिका खेल्छ ।’ पोस्टमार्टम रिपोर्टमा झुण्डिएको (ह्याङ्गिङ) देखिनाले आफैं मरेको भन्ने मात्र नबुझिने सरकारी वकिल डम्बर काफ्लेले बताए । ‘त्यसमा सुसाइडल, होमिस्युडिकल तथा एक्सिडेन्टल गरी फरक–फरक प्रकृति पर्छन्,’ उनले भने, ‘प्रहरीले गरेको अनुसन्धान र बटुलेको सामग्री तथा सूचनाका आधारमा पनि कस्तो खालको मृत्यु हो भन्ने आकलन गर्न सकिन्छ ।’

आत्महत्या मानिसले मानसिक सन्तुलन गुमाएपछि मात्र गर्ने मनोरोग चिकित्सक विक्रम काफ्लेले बताए । संसारमा मरेर गएमात्र समस्याको समाधान हुन्छ भन्ने लागेपछि यस्तो कदम चाल्ने उनले बताए । ‘वंशानुगत वा पारिवारिक साथ नपाएको अवस्थामा मानिस बारम्बार तनाव खेपिरहने मानसिकताबाट आजित भएको हुन सक्छ,’ उनले भने, ‘यसले मर्नु नै विकल्प देख्छ र आत्महत्याको बाटो अपनाउँछ ।’

प्रकाशित : असार १९, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?