कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वर्षपछि बल्ल पुल तयार

लुम्बिनी — रुपन्देहीको देवदह–तिलोत्तमा–मोतीपुर–लुम्बिनी सडक खण्डको तिनाउ नदीमा निर्माणाधीन पुल १२ वर्षमा सम्पन्न भएको छ । ०६७ असार २५ गते ठेक्का सम्झौता भएको पुल १२ वर्ष पुग्नै लाग्दा उद्घाटन भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शनिबार पुल उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा पुल निर्माण सम्पन्न भएको हो । एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण ठेक्का लिएको पुलको आधा भागमा ढुंगा भेटिएपछि काम रोकिएको थियो । लामो समयपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी नक्सा परिवर्तन गर्ने सुझाव दिएपछि मात्र भौतिक पूर्वाधार मन्त्रालयले स्वीकृती दिई सडक डिभिजनले पुनः काम गरेको हो ।

देश विकासमा भूमिका खेल्ने पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढेको गृहमन्त्री खाँणले बताए । ‘तीन वर्षमा सम्पन्न गर्नुपर्ने पुल निर्माण गर्न विश्वविद्यालय निर्माण गरेजति समय लाग्यो,’ उनले भने, ‘शिलान्यास भएको १२ वर्षमा बल्ल निर्माण सम्पन्न भयो ।’ यो पुल देशकै अनुपम उदाहरण र नमुना पुल बनेको उनले बताए । ‘यस पुलको निर्माणले बुद्ध सर्किट जोड्ने गरी मानिसको आवतजावत तथा चार नगरको भाइचारामा थप टेवा पुग्नेछ,’ गृहमन्त्री खाँणले भने, ‘साथै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि पुलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

पुल ११ मिटर चौडा र १ सय ८५ मिटर लामो रहेको छ । १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले बताए । उनका अनुसार अन्तिमपटक थप गरिएको पुलको निर्माण सम्पन्न मिति असार २५ गतेका लागि तोकिएको थियो ।

प्रकाशित : असार १२, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?