कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४

जलजला क्याम्पसका शिक्षक र कर्मचारी आन्दोलित

काशीराम डाँगी

रोल्पा — सेवासुविधा नपाएपछि रोल्पास्थित जलजला बहुमुखी क्याम्पसका शिक्षक र कर्मचारीले अनिश्चितकालीन आन्दोलन थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयको प्रशासन र केन्द्रीय क्याम्पसमा आबद्ध कर्मचारीले सेवामा विभेद गरेको जनाउदै मंगलबारदेखि आन्दोलन थालेका हुन् । 

जलजला क्याम्पसका शिक्षक र कर्मचारी आन्दोलित

खाइपाइ आएको ग्रेड नदिएको; विश्वविद्यालयले ऐन र नियमावली बदलेर विभेद गरेको; स्थानीय पोशाक भत्ता नपाएको भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग सम्झौता गरी व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था गर्ने; सबै आंगिक क्याम्पसमा कर्मचारी प्राध्यापकहरूको व्यवस्थापन गर्ने; विश्वविद्यालय समायोजन हुँदाका कार्यरत आंशिक, करार र अस्थायी प्राध्यापक वा कर्मचारीलाई प्रक्रिया पुर्‍याई यथाशीघ्र स्थायी बनाउनु पर्नेलगायत माग अघि सारेर अनिश्चितकालीन आन्दोलन गरिएको आन्दोलनको संयोजकसमेत रहेका पूर्वक्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले बताए ।

असार ६ मा बसेको असन्तुष्ट उपप्राध्यापक र कर्मचारीको बैठकले ७ असारदेखि आन्दोलन थाल्ने निर्णय गरेको हो । कर्मचारी र प्राध्यापकले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने भन्दै पठनपाठन भने नरोक्ने जनाएका छन् । त्यस्तै दुई सातासम्म आफ्ना मागहरू सुनुवाइ नभए पेन डाउन गरी विरोध गर्ने र प्रशासन कक्षमा तालाबन्दी गर्ने चेतावनी न्यौपानेले बताए ।

सुरुमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको जिल्लाकै पहिलो क्याम्पसले दुई वर्षअघि मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन ल्याएको हो । शिक्षकले तलब पाउन नसक्ने अवस्था आएपछि राजनीतिक नेतृत्वको आग्रहमा सम्बन्धन बदले पनि क्याम्पसको गुणस्तर भने बदलिएको छैन; विद्यार्थीसमेत थोरै छन् । नियमित तलब पाउने उद्देश्यले कर्मचारीले आन्दोलन गरेपछि राजनीतिक नेतृत्वको दबाबमा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन दिए पनि आन्तरिक स्रोत जुटाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न उपप्राध्यापक असफल भएको स्थानीयको गुनासो छ ।

हाल जलजला क्याम्पसमा १६ उपप्राध्यापक छन् । क्याम्पस समायोजन गर्ने क्रममा सबैलाई स्थानीय तहले नियुक्ति दिनुका साथै माथिल्लो पदमा स्थायी गरिएको थियो । क्याम्पसमा ४ जना कर्मचारी कार्यरत छन् । विद्यार्थी भने ४ सयभन्दा कम छन् । नयाँ र प्रभावकारी विषय पढाउने वातावरण सिर्जना गरेमा विद्यार्थीको आकर्षण बढ्ने स्थानीयको सुझाव छ । क्याम्पसले ८ वर्षअघि स्नातकोत्तर तहको पढाइ सुरु गर्न र व्यवस्थित पुस्तकालय सञ्चालन गर्न लिबाङमा महायज्ञ सञ्चालन गरी अढाई करोड रुपैयाँ संकलन गरेको थियो । उक्त रकम तलबमै खर्च गरेको र खर्च पनि पारदर्शी नभएको क्याम्पस प्रशासनमाथि आरोप लाग्दै आएको छ । यसबारे गम्भीर रुपमा सोच्नुनपर्ने अवस्था आएको क्याम्पस प्रमुख खीम खड्काले बताए ।

प्रकाशित : असार ८, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×