सहरमा छैनन् सार्वजनिक धारा- लुम्बिनी - कान्तिपुर समाचार

सहरमा छैनन् सार्वजनिक धारा

ठाकुरसिंह थारू

नेपालगन्ज — एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

नेपालगन्ज–१२ बेलासपुरका वंशराम चिडिमार सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता आइलागेको सुनाउँछन् । मजदुरलाई आराम गर्ने ठाउँ पनि उपमहानगर क्षेत्रमा छैनन् । ‘गर्मीमा बहुत ज्यादा पानी खान मन लाग्छ । अरूको घरभित्र गएर पानी पिउन सम्भव छैन । पहिले ठाउँठाउँमा पिउने पानीको ट्यांकी बनाइएको थियो तर अहिले छैन,’ उनले भने, ‘प्यासले मुख सुक्खा हुन्छ । होटलमा गएर पानी माग्दा किन्नुपर्ने बताउँछन् । त्यसैले किनेर पानी खानुपर्छ ।’

उनीजस्तै नेपालगन्जमा मजदुरी गर्ने सयौं मजदुरलाई अहिलेको प्रचण्ड गर्मीमा पिउने पानीको समस्या झेल्नुपरेको छ । सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा, ठेला, टाँगालगायत चलाएर जीविका चलाइरहेका मजदुर र बाहिरबाट कामका लागि नेपालगन्ज आएका सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । गत वर्ष रिक्सा मजदुरहरू सार्वजनिक स्थानमा पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । तर, उनीहरूका मागलाई उपमहानगरले सम्बोधन गरेन ।

‘गर्मी मानेर पनि के गर्नू ? परिवार पाल्न जस्तोसुकै गर्मीमा पनि काम गर्नैपर्छ । प्यास लाग्छ । पानी पिउने ठाउँ कहींकतै छैन,’ नेपालगन्ज बजारमा ठेला तान्दै आएका अब्बास अलीले भने, ‘सरकारले कम्तीमा गर्मीका बेला पिउने पानीको व्यवस्था गरिदिए धेरै राहत हुन्थ्यो ।’ गर्मी छल्ने छहारी र पानीको सुलभ व्यवस्था नहुँदा सयौं मजदुर गर्मीमा समस्यामा परेको उनले सुनाए । नेपालगन्जमा अहिले दैनिक ३८–४२ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ ।

नेपालगन्ज उपमहानगरले जाडोयाममा सर्वसाधारण र मजदुरलाई आगो ताप्न निःशुल्क दाउराको व्यवस्था गर्छ । तर, गर्मीमा भने पिउने पानीको व्यवस्था मिलाउनेतर्फ चासो नै नदिएको स्थानीयले बताए । उपमहानगरका सूचना अधिकारी खिमानन्द आर्यालले सर्वसाधारणका लागि सार्वजनिक स्थलमा पिउने पानीको कार्यक्रम नरहेको जनाए । ‘सम्बन्धित शाखामा पिउने पानीबारे जानकारी माग्दा त्यस्तो खासै केहीे कार्यक्रम हामीसँग छैन भन्ने जवाफ आयो । यसका लागि कार्यक्रम ल्याउन आवश्यक देखियो,’ उनले भने ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले गर्मीमा मानिसको शरीर र बाहिरी तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुँदा बढी तिर्खा लाग्ने गरेको बताए । ‘यस्तो गर्मीमा पानी र झोलिलो खानेकुरा बढी खानुपर्छ,’ उनले भने, ‘सर्वसाधारणका लागि नगरपालिकाले ठाउँठाउँमा पिउने पानीको व्यवस्था मिलाउन सक्ने हो भने धेरै राहत हुनेछ ।’ त्यस्तै, गर्मीका कारण अस्पतालमा झाडापखाला, ज्वरो, बान्ता र कलेजोका बिरामी बढेको उनले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

उम्मेदवार दाबी गर्ने धेरै

पार्टीहरुलाई एक पद एक उम्मेदवार टुंग्याउनै सकस
ठाकुरसिंह थारू

नेपालगन्ज — स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका नेताहरूबीच उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ । वडा सदस्यदेखि पालिका प्रमुखहरूमा सर्वसम्मत उम्मेदवार बनाउन दलहरूलाई हम्मेहम्मे परेको छ । एउटा वडाध्यक्षका लागि दर्जन बढीले दाबी गरिरहेका छन् । कतिपय दलका नेताहरूले स्वस्फूर्त रूपमा सामाजिक सन्जालमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट वर्तमान उपप्रमुख उमा थापा मगर, कांग्रेस नगर सभापति प्रशान्त विष्ट, व्यवसायी ललित रौनियारलगायतका नेताहरूले उम्मेदवारीको दाबी गर्दै दौडधुप गरिरहेका छन् । उपप्रमुख थापा मगर कोइरालानिकट र विष्ट देउवा पक्षधर मानिन्छन् । एमालेले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रालाई नगर प्रमुखमा अगाडि सार्ने तयारी गरिरहेका बेला पार्टी नगर प्रमुख दत्तप्रसाद आचार्यले सामाजिक सन्जालमा नगर कमिटीले उम्मेदवारबारे कुनै निर्णय नगरेको जनाएका छन् । नेकपा (माओवादी) केन्द्रका तर्फबाट व्यवसायी नन्दलाल वैश्य, नवीन शर्मा र आदेश अग्रवाललगायतले दाबी गरेका छन् ।

कोहलपुर नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दर्जन बढी नेताले उम्मेदवारी दाबी गरेका छन् । जिल्ला नेता फूलराम थारु, हालकी उपप्रमुख सन्जुकुमारी चौधरी, बलराम शर्मा न्यौपाने, चिन्तामणि धिताल, भानुभक्त भट्टराई र चक्र अधिकारीलगायत दर्जन बढीले दाबी गरेका छन् । एमालेका तर्फबाट खिलप्रसाद भुसाल, वसन्ती अधिकारी र गोपाल गिरीले नगर प्रमुखमा दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रबाट यसअघि नगर प्रमुखमा प्रतिस्पर्धा गरेका नरेन्द्र शर्माले पनि प्रमुखमा दाबी गरेका छन् । कांग्रेस, माओवादी, नेकपा (समाजवादी) लगायत ५ दलीय गठबन्धन गर्ने केन्द्रीय निर्णय बाँकेमा कार्यान्वयन हुने/नहुने अन्योल छ । कांग्रेस सभापति नारायण गौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले धेरैले उम्मेदवार हुन दाबी गर्नु स्वाभाविक भएको बताए । ‘धेरै नेता भएको पार्टीमा धेरैले उम्मेदवार बन्न खोज्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । पार्टीले छलफलपछि सहमतिमै उम्मेदवारको टुंगो लगाउनेछ,’ उनले भने, ‘गठबन्धनबारे पनि छलफल हुन्छ । हेरौं, के हुन्छ ?’

गत निर्वाचनमा कांग्रेसले राप्ती सोनारी र डुडवा गाउँपालिकामा जितेको थियो । एमालेले कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकामा जितेको थियो । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका डा. धवलशमशेर राणा, उपमेयरमा कांग्रेसकी उमा थापा मगर विजयी भएका थिए । नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय प्राप्त गरेको थियो ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्थानीय तह निर्वाचनमा धेरैले उम्मेदवारमा दाबी गरे पनि छलफलपछि टुंगो लाग्ने विश्वास व्यक्त गर्छन् । उनले वडाध्यक्ष र सदस्यका लागि वडा कमिटीले र नगरपालिकाको हकमा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया रहेको जनाए । ‘वडाबाटै सिफारिस हुने भएकाले धेरै फिल्टर भएरै उतैबाट आउने भए । जिल्लाको हकमा प्रदेशलाई हामीले सिफारिस गर्छौं,’ उनले भने, ‘वडामा दाबी गरेका धेरै उम्मेदवारको नाम पालिका कमिटीले टुंग्याउनेछ ।’

प्रकाशित : वैशाख १, २०७९ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×