कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तक नपुग्दा पढाइ प्रभावित

रुकुम पूर्व — रुकुम पूर्वका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि आइतबारसम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा पढाइ सुरु हुन नसकेको हो । जिल्लामा १ सय १६ वटा सामुदायिक विद्यालय छन् । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रुकुमकोट आइपुगेको बताइएको छ । तर, ती पनि विद्यालयसम्म पुग्न सकेका छैनन् ।

पुस्तक नपुग्दा पढाइ प्रभावित

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले जिल्लामा पुगेका पाठ्यपुस्तक अर्को सातासम्म यहाँका सबै विद्यालयमा पुर्‍याइसक्ने बताए । उनका अनुसार कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक अपुरो आएको छ । जिल्लामा २० हजार बढी विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । कतिपय विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम जारी छ । ‘विद्यालयहरूले किताब नपुग्दा पढाइ प्रभावित भइरहेको जनाएका छन् ।

जिल्लामै किताब नपुगेकाले समस्या भइरहेको हो,’ सिस्ने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिं बुढाले भने, ‘सकेसम्म छिट्टै वितरण गर्ने गरी किताब पुर्‍याउन जिल्लास्थित डिलरहरूलाई भनिएको छ ।’ यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । पाठ्यपुस्तक परिवर्तन भएकाले पुरानाबाट पठनपाठन गर्न मिलिरहेको छैन । ‘किताब छैनन् । त्यसैले पढाइ पनि अन्योलमा छ,’ सिस्ने गाउँपालिका–१ को पाखापानी माविका शिक्षक भीमसेन खत्रीले भने ।

भूमे गाउँपालिकामा भने पुरानै किताबबाट पठनपाठन थालिएको बताइएको छ । शिक्षा, युवा तथा खेलकुद शाखका टेकबहादुर बुढाथोकीले ४, ७ र ९ बाहेक अरू कक्षाको पठनपाठन पुरानै पाठ्यपुस्तकबाट थाल्न विद्यालयहरूलाई निर्देशन दिएको बताए ।

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?