कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वातावरण दिवसमा र्‍याली र वृक्षरोपण

माधव अर्याल

पाल्पा — जनचेतनामुलक र्‍याली, वृक्षरोपण र सामुदायिक वन उपभोक्ता समूहलाई विरुवा प्रदान गरेर पाल्पामा विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण दिवसमा र्‍याली र वृक्षरोपण

पाल्पाको तिनाउ गाउँपालिका दोभानस्थित नर्सरी क्षेत्रमा ‘पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित मनाइएको हो । लुम्बिनी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र डिभिजन वन कार्यालयको आयोजनामा भएको दिवसका अवसरमा डिभिजन वन कार्यालयले सहिद चुनमाया पार्कमा वृक्षरोपण गरिएको छ ।

र्‍यालीमा सहभागिता जनाएर वृक्षरोपण गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भने, ‘हरेक वर्ष रुख रोप्छौं, सबै रुख आउँदो दिनमा ठूलो वृक्षको रुपमा यहाँका जनतालाई छहारी दिने काम गर्नेछ भन्ने विश्वास लिएको छु ।’

उनले रुख रोपेर मात्र नहुने यसको संरक्षण र सम्वद्र्धनको जरुरी रहेको बताए । ‘हामी सबैले हामी हाम्रो लागि पनि वातावरण संरक्षण गर्नुपर्ने जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकारले वातावरण संरक्षणका लागि काम गर्दै आएको छ । यसमा सबैको सहयोग हुनुपर्छ ।’ उनले परिवार र समाजलाई अगाडी बढाउन पनि वन तथा वातावरण संरक्षणको जरुरी रहेको बताए ।

प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले जनताले चाहने हो भने वन तथा वातावरण संरक्षण हुन सक्ने बताए । मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले जनताको सहयोगबाट नै वन तथा वातारणको संरक्षण हुने भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । डिभिजन वन प्रमुख दीपक ज्ञवालीले वन तथा वातावरणको क्षेत्रमा हरेक वर्ष सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने बताए । वन, व्यवस्थापन, योजना तथा अनुगमन महाशाखा प्रमुख नारायणदेव भट्टराईले माथिल्लो तटीय क्षेत्रमा वन तथा वातावरण संरक्षण गर्दा नै तल्लो तटीय क्षेत्र हरियाली बन्ने भएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

वृक्षरोपण तथा र्‍यालीमा तिनाउ गाउँपालिका क्षेत्रका विभिन्न सामुदायिक वनका पदाधिकारी, सदस्य, विद्यार्थी, वन क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो । तिनाउ सब–डिभिजन कार्यालयको नर्सरीमा तेजपात लगायत विभिन्न जातका विरुवा पाइन्छ । तानसेनको मुख्य नर्सरी र जिल्लाकै अन्य सब–डिभिजन वन कार्यालय अन्तर्गतका नर्सरीबाट पनि वन तथा वातावरण संरक्षणका लागि बिरुवा बितरण हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७९ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?