कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीति तथा कार्यक्रमको तयारीमा लुम्बिनी प्रदेश

२३ गते नीति कार्यक्रम ल्याइँदै
घनश्याम गौतम

रूपन्देही — संघीय सरकारको बजेट सार्वजनिक भएपछि लुम्बिनी प्रदेश सरकार पनि नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । स्रोतका अनुसार लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सरकारले नीति कार्यक्रमको प्रस्तावित मस्यौदा तयार गरेर मन्त्रालयगत छलफल सुरु गरेको हो । 

नीति तथा कार्यक्रमको तयारीमा लुम्बिनी प्रदेश

संघीय सरकारकै मोडलमा ल्याउने तयारी गरिएको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले बुधबार गरेको अन्तरमन्त्रालय छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसीले कृषिलाई नै प्रदेशको समृद्धिको आधार बनाएर नीति तथा कार्यक्रम तयार भइरहेको बताए ।

‘कृषिलाई प्रविधि र रोजगार केन्द्रित गराउने गरी हामी लागेका छौं,’ उनले भने, ‘त्यसका लागि पकेट क्षेत्र, स्रोत केन्द्रहरूको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, कृषि प्रशोधन उद्योग र कृषिमा लाग्ने युवालाई अनुदानलगायत नयाँ कार्यक्रमहरू समेटिने छन् ।’ मन्त्री केसीले मन्त्रालयगत छलफलमा सबै मन्त्रालयलाई प्रतिफल दिने र जनभावना एवं जनआकांक्षा समेटिने गरी योजना तयार गर्न पनि निर्देशन दिएका थिए ।

सरकारले गत वर्षको कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको थियो । यस वर्ष कृषि, पूर्वाधार निर्माण र पर्यटनमा धेरै कार्यक्रम राख्ने प्रयास गरिरहेको नीति कार्यक्रम तयार गर्नेमा संलग्न एक अधिकृतले बताए । सरकारले धेरै कार्यक्रम चुनाव केन्द्रित गरेको छ । स्थानीय तहले गर्न सक्ने कार्यक्रमहरूलाई पनि प्रदेश सरकारबाटै सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनिरहेको मुख्यमन्त्री कार्यालयकै एक अधिकृतले बताए ।

‘कृषि क्षेत्रमा केही राम्रा कार्यक्रम पनि छन्,’ उनले भने, ‘तर, धेरै कार्यक्रम चुनाव केन्द्रित नै देखिन्छन् ।’ हरेक दिन योजना र कार्यक्रमहरू परिवर्तन भइरहेकाले अझै नीति कार्यक्रमको अन्तिम रुप भने तयार नभएको उनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?