कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट अवैध काठ तस्करी बढ्यो

प्रहरी चुनावमा खटिएपछि भारतबाट ठूलो परिमाणको अवैध काठ भित्रिएको आशंका 
कमल पन्थी

बर्दिया — प्रहरीले धर्म र गंगा बस्ती इलाकामा बेबारिसे अवस्थामा रहेका सालका गोलिया काठ शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरी बलले मधुवन नगरपालिका–९ धर्म र गंगा बस्ती इलाकाबाट झन्डै १ सय ५० क्युफिट काठ बरामद गरेको हो ।

भारतबाट अवैध काठ तस्करी बढ्यो

सशस्त्र प्रहरी निरीक्षक टीकाराम मैनालीका अनुसार लुकाई राखेको अवस्थामा फेला परेको काठ भारतबाट भित्रिएको आशंका छ । गुलरिया–१० मा भारतबाट ल्याई लुकाएको आशंकामा प्रहरीले शुक्रबार पनि सागुन जातका २५ क्युफिट काठ बरामद गरेको थियो । ती काठ स्थानीय सःमिलमा लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।

सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चुनावमा खटिएपछि भारतबाट ठूलो परिमाणको अवैध काठ भित्रिएको आशंका वनका कर्मचारीको छ । ती काठलाई वैधता दिन तस्कर लागिपरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले अवैध काठलाई वैधता दिन नमिल्ने बताए । उनले फेला परेको काठ जफत गरेर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

काठ तस्करी बढेपछि प्रहरीले नियमित गस्ती गर्न थालेको छ । सीमा क्षेत्रमा रहेका सःमिल र काठ तस्करले रातको मौका छोपेर काठ भित्र्याउने गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सःमिल सञ्चालकका अनुसार भारतीय वनका कर्मचारीसँग मिलेर काठ भित्र्याउने गरिन्छ । भारत बहराइच जिल्लाअन्तर्गत कतरनिया वन्यजन्तु आरक्षणसँग नेपाली सीमा जोडिएको छ । वन रक्षाका लागि खटिएका मुन्सीबाटै रूख काट्न लगाउने र त्यसबापत उनले मोटो रकम लिने गरेको स्रोतको भनाइ छ । ‘रूख राति काटिन्छ । सीमामा तैनाथ एसएसबीको राति वनगस्ती नगरेको मौका छोपी मुन्सीले सहयोग गर्छन्,’ एक सःमिल सञ्चालकले भने, ‘उनीहरूकै सहयोगमा नेपाल भित्रिन्छ ।’ रूख काटेपछि जरासमेत उखेलेर माटोले पुर्ने गरेको समेत उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?