कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो गाविस अध्यक्ष जितेको २५ वर्षपछि वडाध्यक्ष भए

मनोज पौडेल

कपिलवस्तु — उनी हक्की स्वभावका छन्; जे देख्यो त्यही बोल्छन्; स्वभावले कडा छन्; कुरा चपाएर बोल्दैनन्; कसैको अनावश्यक बढाइचढाइ पनि गर्दैनन् तर गाउँसमाजको काम र विकासमा उनी मिजासिला छन्; सधैं अग्रसर हुन्छन्; उत्तिकै सहज र सरस छन्; सबैसँग घुलमिल हुन्छन्; मास कन्ट्रोलिङको क्षमता पनि अब्बल छ । 

जो गाविस अध्यक्ष जितेको २५ वर्षपछि वडाध्यक्ष भए

उनी सबैको कुरा र तर्क सुन्छन्; गाउँटोलमा कसैलाई कुनै समस्या पर्दा पनि अग्रसर हुन्छन् । उनी हुन् कपिलवस्तु नगरपालिका ९ जलरैयाका ६६ वर्षीय दीपकबहादुर गुरुङ ।

गाउँसमाजको असल सहयोगी बनेका कारण नै उनी चुनाव लडेदेखि पराजय बेहोर्नुपरेको छैन । पञ्चायतकालदेखि गणतन्त्रसम्म उनले मुख्य पदमै चुनाव जितेका छन् । गतवैशाख ३० गतेसम्पन्न स्थानीय तह निर्वाचनमा उनी कपिलवस्तु नगरपालिका ९ को अध्यक्षमा विजयी भए । उनी एक हजार ४५ मत ल्याएर एमालेबाट वडाध्यक्ष निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका चन्द्रराम यादवले ७ सय ५५ मत ल्याएका थिए । त्यसअघि बहुदलीय व्यवस्थामा ०५४ मा उनी साविक निग्लिहवा गाविस अध्यक्षमा विजयी भए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनलाई नेकपा एमालेले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिएर समर्थन गर्‍यो । त्यसपछि उनी एमाले प्रवेश गरे । त्यसअघि पञ्चायतकालमा पनि उनी तेनुवा माझरे फेदराट गाउँ पञ्चायतबाट प्रधानपञ्चमा चुनाव जिते । २०४३ सालमा सबैभन्दा कम ३० वर्षको उमेरमा चुनाव जित्ने उनै थिए । साविकको निग्लिहवा गाविस अहिले कपिलवस्तु नगरपालिकाको वडा बनेको छ ।

‘भर्खरको उम्दा युवा थिएँ,’ उनले भने, ‘काम गर्ने जोसजाँगर भरिएको थियो ।’ निर्वाचित हुनासाथ सबैभन्दा पहिले गाउँपञ्चायतको नाम परिवर्तन गरे । गाउँभरि बुद्धकालीन पुरातत्त्व र सांस्कृतिक सम्पदा थियो । पहिचान जोगाउन र संरक्षण हुन्छ भन्दै तेनुवा माझरे फेदराट गाउँपञ्चायतको नाम परिवर्तन गरेर निग्लिहवा राखे । अहिले सबैले निग्लिहवा भनेर चिन्छन् । निग्लिहवामा भारतीय सम्राट अशोकले बनाएको अशोक स्तम्भ पनि छ । नेपालमा मात्र नभई संसारले निग्लिहवा चिन्न थालेका छन् । मैले गरेको धेरै काममा यो एउटा गर्भ गर्नलायक काम भएको उनी बताउँछन् ।

उनी माओवादी द्वन्द्व सुरु भएपछि विस्थापित भए । २०५८ जेठ १९ गते घर छाडेर ललितपुर गएर बस्न थाले । ललितपुरमा बसाइँ सरेको झन्डै २० वर्षपछि पुनः गाउँमा आएर बस्न थाले । स्थानीय निर्वाचन आयो । एमालेले उनलाई टिकट दियो; विजयी पनि भए ।

वडाध्यक्षको पदभार ग्रहणपछि बसेको पहिलो वडाको बैठकबाट उनले मुलुकमा सबैभन्दा धेरै पानी चरा आश्रय दिने जगदीशपुर ताललाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेका छन् । यसका लागि सरोकारवालासँग छलफल गरी प्रक्रिया अगाडि बढाइने उनले बताएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?