लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने

रासस

काठमाडौँ — लुम्बिनी प्रदेश सरकारले १५औं गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताए ।

नेपाली जनताको दशकौं लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उनले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे । मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कोमलप्रसाद धमलाले बुटवलसँग जोडिएका पालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताए ।

दिवसका अवसरमा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा शनिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । बुटवलको चौराहदेखि शङ्करनगरसम्म पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको सचिव धमलाले जानकारी दिए । सोही दिन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको संयोजनमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरिने छ । दिवसको अवसरमा सबै सङ्घसंस्थाका कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न आग्रह गरिने छ ।

गणतन्त्र दिवसका दिन बुटवलको सिद्धेश्वरी लालकुमारी माविमा गणतन्त्र दिवस मूल समारोह आयोजना गरिने छ । समारोह सुरु हुनपूर्व बुटवलको चौराहदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरी हुनेछ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका प्रमुख तथा उपप्रमुख, सदस्य, मन्त्रालयका कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रमुखलगायतको उपस्थिति रहने छ ।

दिवसको भोलिपल्ट १६ गते कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मत्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको संयोजनमा प्रदेशमा वृक्षरोपण गर्ने कार्यक्रम राखिएको सचिव दाहालले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

फोटो पत्रकार श्रेष्ठले गरिन् मकालु आरोहण

कान्तिपुर संवाददाता

काठमाडौँ — फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् ।

सातौं सफल आरोहणसँगै श्रेष्ठ नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनी कीर्तिमान कायम गरेकी छन् ।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।

८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो। जुन नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्छ ।

आठ हजार मिटर अग्लो हिमालमध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ । मकालु हिमालको शिखरमा पाइला टेकेसँगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमालाई फोटो पत्रकार क्लबले सम्मान गरेको छ । उनको आरोहणलाई फोटो पत्रकार संघले सम्पूर्ण नेपाली महिला, फोटो पत्रकारिता जगत तथा फोटो पत्रकारको लागि गौरवपूर्ण क्षण भएको जनाएको छ ।

गोर्खाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन्।

प्रकाशित : जेष्ठ १३, २०७९ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×