कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्तापक्ष जिम्मेवार नभएपछि हामी एक कदम पछि हटेर अवरोध अन्त्य गर्‍यौं : पोखरेल

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशसभाको बैठकमा नेकपा एमालेले निरन्तर गर्दै आएको गतिरोध अन्त्य भएको छ । मंगलबारको १०औं प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमालेले एक कदम पछाडि हटेर संसदको अवरोध अन्त्य गरेको जानकारी गराएका हुन् । उनले मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका थिए । 

सत्तापक्ष जिम्मेवार नभएपछि हामी एक कदम पछि हटेर अवरोध अन्त्य गर्‍यौं : पोखरेल

एमाले संसदीय दलका नेता पोखरेलले लामो समयसम्म संसद बैठक अवरोध गर्दा गलत सन्देश जाने भएकाले एमालेले जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गरेको बताए ।

सरकारमा पुगेका दलले राजनीतिक संस्कार र चरित्र देखाउन नसकेकाले संसद्‍ अवरोध गर्नु परेको उनको भनाइ थियो । ‘अब जनताका लागि नीति तथा कार्यक्रम र बजेट तयारीको छलफल गर्नु पर्ने छ, त्यसमा एमाले जिम्मेवार बन्छ र बन्नु पर्छ भन्ने मान्यता हाम्रो हो,’ उनले भने, ‘त्यसैले हामीले सदन सुचारु गर्ने निर्णय गरेका हौं ।’

एमाले महासचिवसमेत रहेका उनले स्थानीय तहको निर्वाचन परिणामलाई जनमतको हिसाबले पार्टीले स्वीकार गर्नुको विकल्प नरहेको बताए । ‘एमालेलाई हराउनकै लागि नीति, विचार र सिद्धान्त नमिल्ने दलहरुको गठबन्धन बन्यो,’ उनले भने, ‘तर, त्यो जनहितका लागि भन्दा पनि एमाले हराउन र सत्ता स्वार्थकै लागि भएकाले दिगो हुँदैन ।’

एमालेले उठाएका मागप्रति सत्ता पक्षले कुनै ध्यान नदिए पनि एमाले जनताप्रति उत्तरदायी बनेर प्रदेश र देशमा आएको आर्थिक संकट समाधानका लागि पनि सदन खोल्ने निष्कर्षमा एमाले पुगेको उनले बताए ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि साउन २८ गतेदेखि माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको थियो । एमाले संसदीय दलका नेतासमेत रहेका पोखरेल सरकारबाट विस्थापित भएपछि मंगलबार दोस्रो पटक संसद बैठका उपस्थित भएका हुन् । एमालेको सरकार विस्थापित भएपछि सूर्य चिन्हबाट निर्वाचित भएर गठबन्धन सरकारमा सहभागी राज्यमन्त्री बिमला वली खत्री र अजय शाहीलाई कारबाहीको माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो ।

प्रदेशसभाको १० औं अधिवेशनको दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेस गरेका छन् । प्रदेशसभाको अर्को बैठक बुधबार बस्नेछ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?