कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनवलकी मेयर विमला !

अमृता अनमोल

बुटवल — टोलमा कोही बिरामी भयो कि केही आपत् विपत् पर्‍यो‚ लैंगिक हिंसा भयो कि छिमेकीबीच विवाद; सुनवलमा धेरैले लिने नाम हो विमला दिदी । तिनै विमला दिदी अब मेयर विमला बनेकी छन् । जो नवलपरासी पश्चिमको सुनवल नगरपालिकाको नवनिर्वाचित प्रमुख विमला अर्याल हुन् ।

सुनवलकी मेयर विमला !

नेकपा एमालेका तर्फबाट विमलाले जितेसँगै नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले महिला प्रमुख पाएको छ । नगरवासीका मुखमा झुन्डिएको विमला दिदी मेयर विमलामा परिणत भएको छ ।स्थानीयले नगरले दिदीको अभिभावकत्व पाएको अनुभव गरेका छन् । सुनवलका स्थानीय गोपाल भुसालले भने, ‘दिदी एमालेकी नेता मात्र होइन‚ हामी सबैकी सुखदुःखकी दिदी हो । म पार्टीगत रुपमा एमाले नभए पनि दिदीको जितमा उफ्रिएको छु ।’

विमलासँग दलगत राजनीतिबाहेक स्थानीय खानेपानी तथा सरसफाइ संस्था, भूमी व्यवस्था आयोगलगायत थुप्रै सामाजिक संघसस्थामा बसेको अनुभव छ । महिला भएकै कारण राजनीतिदेखि सामाजिक क्रियाकलापमा पछाडि परेको र थप मेहनत गर्नुपरेको भोगाइ उनीसँग छ । यही भोगाइलाई सफलतामा बदल्न उनले गरेको मेहनतलाई सुनवलवासीले सम्मान गरेको स्थानीयले बताए । ‘मेयर विमला दिदी उहाँ जानु नै महिलाका लागि गौरवको विषय बनेको छ ।’

विमलाले १८ वर्ष सामुदायिक मेलमिलापकर्ताको भूमिका निभाएकी छन् । अर्थात् २०६० देखि सुनवलको सामुदायिक मेलमिलापकर्ताका रुपमा उनले धेरै विवादका घटनाको सहजीकरण गरेकी छन् । कतै मध्यस्थकर्ताको भूमिका निभाएकी छन् । सुनवल नगरपालिकामा खानेपानी वितरण र सरसफाइका गतिविधि गर्न खानेपानी सरसफाइ उपभोक्ता समिति छ । उनले उक्त संस्थामा ४ कार्यकाल सचिव भएर काम गरेकी छन् । थुप्रै सामाजिक संघसस्थामा काम गरेकी छिन् ।

सधै सामाजिक संस्थामा साझा काम गर्ने विमला मेयर बनेपछि पनि सबैको साझा बन्ने प्रयासमा छिन् । भौतिक विकाससँगै मानवीय विकासलाई प्रमुख प्राथमिकतामा राख्ने विमलाले बताइन् । ‘हाम्रो नगरपालिका बालमैत्री बनेको छ । अब लैंगिकमैत्री बनाउन लैंगिक हिंसामुक्त नगरपालिका बनाउने छु,’ उनले भनिन् , ‘लैंगिक असमानता र विभेदविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्नेछु । हिंसाविरुद्ध सहज न्याय र पीडितका लागि पुनःस्थापना गृह बनाउने छु ।’

बालविकास बालसंरक्षणदेखि युवा रोजगारीका लागि सीप र व्यवसायमा समन्वय गर्ने उनको योजना छ । सबैका लागि स्वच्छ खानेपानीको ग्यारेन्टी गर्न ५ सय लिटर निःशुल्क खानेपानी वितरण गर्ने धारोसमेत जडान गर्न नसक्नेका लागि वडाको सिफारिसमा निःशुल्क खानेपानीको धारो जडान गरिदिने उनको लक्ष्य छ । सामाजिक सुरक्षातर्फ ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने योजना बनाएकी छन् । मातृशिशु संरक्षणका लागि सुत्केरीलाई निःशुल्क पोषण उपलब्ध गराउने सोच छ ।

सामुदायिक विद्यालयमा लिने सबैखाले शुल्क हटाउने उनको उद्घोष छ । यी सबै कामका लागि राजस्व कहाँबाट आउला त ? जवाफमा विमलाले भनिन्, ‘ धेरै नागरिक करको दायरामा जोडिएका छैनन् । तिनलाई जोड्नेछु । सार्वजनिक सम्पतिको सदुपयोग गर्नेछु । कर होइन‚ करोको दर बढाएर राजस्व वृद्धि गर्ने र त्यसलाई मानवीय विकासमा खर्चने योजना छ । ’

गठबन्धनलाई पराजित गर्दै एमालेबाट प्रमुख पद जितेकी विमला यसअघिको निर्वाचनमा समेत एमालेबाट नगरप्रमुखमा उमेदवार बनेकी थिइन् । त्यसबेला भने नेपाली कांग्रेसका भिमबहादुर थापासँग पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा हार बेहोरेपछिको ५ वर्ष उनी राजनीतिक क्रियाकलाप र सामाजिक काममा अझ बढी सक्रिय बनिन् । जसको फलस्वरुप यसपटक विजय प्राप्त गरिन् । गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मतान्तरले पराजित गरेकी अर्यालले १४ हजार ८ सय ३८ मत ल्याइन् ।

‘मेरो काम देखेर हाम्रो सुखदुःखमा साथ दिने विमला दिदीले नगर सम्हाल्नुपर्छ भनेर पार्टी इतरका धेरै मतदाताले पनि भोट दिनुभयो,’ उनले भनिन् , ‘अब उहाँहरूको अपेक्षा मर्न नदिने गरी काम गरेर देखाउने छु ।’

प्रकाशित : जेष्ठ ८, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?