बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

अमृता अनमोल

बुटवल — बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

उनीहरुले वैशाख २८ गते साँझ ८ बजे बुटवल–९ मिलनचोकमा रहेको आकाशे पुल तल प्रेसर बम विस्फोट गराएको प्रहरीको दाबी छ ।

इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मलेन गरेर उनीहरुलाई सार्वजनिक समेत गरेको छ । अभियुक्तहरुलाई जेठ १ गते बुटवलको नयाँ गाउँबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ । साथै, नेपाल बन्द सफल पारौं, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ विस्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?