कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मगन्ता समुदाय जहिल्यै उपेक्षामा

जे पाण्डे

नेपालगन्ज — भोला मगन्ता (महाउत) को घरमा बिहान खाए बेलुका के खाने भन्ने संकट छ । चुहिने फुसको छानोको लागि खर किन्ने पैसा छैन । पानी पर्दा घरभित्रै पोखरी बन्छ । ओढ्ने ओछ्याउने त परै जाओस्, लगाउने गतिला कपडा पनि छैनन् । ‘बिरामी हुँदा औषधिमूलो गर्ने उपाय छैन । जेनतेन अस्पताल पुगे पनि कहिल्यै औषधि पाइँदैन,’ बाँके मगन्तपूर्वाका उनले भने ।

मगन्ता समुदाय जहिल्यै उपेक्षामा

सबैले मगन्ता भनेर हेप्छन्, गिज्याउँछन् । मागेर र मजदुरी गरेर कमाएको पैसाले साँझ–बिहान खान पुग्दैन । स्कुलको फिस तिर्न किताब–कापी र कपडा किन्न नसक्दा धेरैजसो स्कुल जानै पाएका छैनन् । अस्तव्यस्त बस्तीमा हिंड्ने बाटो छैन । जताततै पानी ताल पर्छ । धेरैको त घर पनि जलाम्मे हुन्छ । घरवरपर फोहोरको डुंगुर देखिन्छ । दुधे बालबालिकाको मुखमा माखा भन्केको देखिन्छ । बस्तीका अति विपन्न मगन्ताहरू निकै कष्टकर अवस्थामा छन् । तीन साताअघि आएको हुरीले भगदरामको छाप्रो उडायो । अहिले उनी घरबासविहीन भएका छन् । अर्को छाप्रो बनाउने उपाय नभएपछि भगदराम बस्तीबाट विस्थापित भएका छन् । उनी कामको खोजीमा भौतारिंदै छन । कहाँ बस्छन् र के खान्छन् भन्ने कसैलाई अत्तोपत्तो छैन । ‘कुनै इँटाभट्टामा काम गर्छन् रे भन्ने सुनेका छौं,’ छिमेकी केलाराम महाउतले भने, ‘हावाले छाप्रो भत्काइदिएपछि यस बस्तीका धेरैको बिचल्ली भएको छ ।’

बस्तीमा अरू गरिब मगन्ताको घर पनि भत्किंदै छन् । कसैले मागेर ल्याएको प्लास्टिकले छानो टालेका छन् । टालो हालेका धेरै छाप्रा छन् । जसमा पानी घरभित्रै पस्छ । बस्तीका कतिपय मगन्ता बिरामी छन् । अस्पताल पुर्‍याउन सक्ने अवस्था छैन । छाप्राबाहिर गुन्द्रीमा पल्टेर धुरुधुरु रुनुबाहेक विकल्प छैन । ‘भत्केका घरमा बिरामी छन् । रातभरि सुत्न पाउँदैनन् । कमाइ गरेर ल्याए पनि पकाएर खाने ठाउँ छैन,’ रिना महाउतले भनिन्, ‘घरजग्गा छैन । चुनावका बेला आउनेहरूले नल्का दिन्छौं, ग्यास बाँड्छौं भन्छन् । कसैको मनमा गरिबप्रति दयामाया देखिंदैन । केही दिंदैनन् ।’

राज्य संरचनासँगै धेरै व्यवस्था फेरिए । तर, पुस्तौंदेखि गाँस, बास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित बाँकेका मगन्ता अर्थात् महाउत समुदायको १ सय १५ घरपरिवारलाई अहिलेसम्मका कुनै पनि परिवर्तनले छोएको छैन । परिवर्तन र विकासका गगनचुम्बी सपना बाँड्दै आएका राजनीतिक पार्टीका नेता हुन् वा नीति निर्माता नै मगन्तपूर्वाका गरिबको दुर्दशा कहिल्यै देखेनन् । सबैले सधैं बनाए त केवल चुनाव जित्ने भर्‍याङ मात्रै । अहिले उक्त बस्तीमा भोट माग्न जानेको ओइरो लाग्ने गरेको छ । तीमध्ये पहिलो स्थानीय तहको निर्वाचनका बेला घरबास निर्माण गरिदिने सपना बाँडेर भोट माग्नेहरू पनि छन् । फेरि उनै पुराना झूटा आश्वासन बाँड्दै हात जोडेर भोट माग्ने गरेको दलसिघार महाउतले बताए । ‘कसैले इँटाको घर बनाइदिन्छु भन्छन् । कोही टिनको छानो हाल्दिन्छौं भन्छन् । कोही बाटो र नाली बनाइदिन्छु भन्छन्,’ दलसिघारले भने, ‘अघिल्लो चुनावमा पनि त्यस्तै आश्वासन दिएर भोट मागे । चुनावपछि कसैले फर्केर हेरेनन् । अहिले फेरि झूटा वाचा गर्दै छन् ।’

नेपालगन्ज उपमहानरपालिका–१४ र डुडुवा गाउँपालिका–६ मा पर्ने मगन्तपूर्वाका मगन्ता जातिका धेरै परिवार वर्षौंदेखि गरिबीको चरम चपेटामा पर्दै आएका छन् । राज्य पक्षले वास्ता नगर्दा भिख मागेर जीविकोपार्जन गर्नु उनीहरूको नियति नै बनेको छ ।

बाँके र बर्दिया दुई जिल्लामा मगन्ता समुदायका ३ सय ४९ घर–परिवारका ७ सय ८ महिला र ७ सय ८१ जना पुरुष छन् । चुनावका बेला झूटा सपना बाँड्ने बाहेक लोपोन्मुख अवस्थाको यो जातिको उत्थानका लागि कतैबाट कहिलै कुनै प्रयास भएका छैनन् ।

आफ्नो आवश्यकता परेपछि बस्तीमा पुगेर भोट माग्नेहरू मगन्ता समुदायको आवश्यकतामा कहिल्यै काम लागेनन् । लोपोन्मुख मगन्ता जाति सूचीकृत पनि छैनन् ।

पहिलो पटक उम्मेदवारी

राज्यबाट उपेक्षित मगन्ता समुदायकी जवन्ती महाउत आफ्नो वर्गको हितका लागि संघर्ष गर्ने अठोटका साथ यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकी छन् । मगन्ता जातिको इतिहासमै उनी प्रथम महिला उम्मेदवार हुन् । एमालेले वडा सदस्य पदमा उनलाई उम्मेदवार बनाएको हो । चुनावी दौडमा उत्रिएकी उनीसामु चुनौतीका चट्टान भने ज्यादै ठूला छन् । चुनाव जित्न अन्य उम्मेदवारले पैसाको खोलो बगाइरहेका छन् । विपन्न समुदायकी जवन्तीलाई भने साँझ–बिहानको छाक जुटाउनै मुस्किल छ । उनी भोको पेट शान्त पार्न हिंड्ने कि भोट माग्न गाउँबस्ती पुग्ने भन्ने संकटमा छन् । ‘दिउँसो भोट माग्न हिंडे साँझ भोकै बस्नु पर्छ,’ उनले भनिन्, ‘साँझ–बिहानको गाँस जुटाउने कि भोट माग्न हिंड्ने भन्ने समस्या छ ।’

प्रकाशित : वैशाख २९, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?