कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान केन्द्रमा पुगे निर्वाचन सामग्री

मतदाता नामावली, परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सामानसहित कर्मचारी खटिए
माधव अर्याल

पाल्पा — स्थानीय तह निर्वाचनका लागि तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी मंगलबार सम्बन्धित केन्द्रमा पुगेका हुन् ।

मतदान केन्द्रमा पुगे निर्वाचन सामग्री

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा निर्वाचनका लागि खटिएका कर्मचारीले सामग्री जिम्मा लिइसकेको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले बताए । १ हजार ९ सय ७१ कर्मचारी जिल्लाका मतदान केन्द्रमा खटिएका छन् । जिल्लामा १ लाख ९९ हजार मतदाता छन् । १ सय १८ मतदानस्थलमा २ सय ४७ मतदान केन्द्र छन् । मतदान केन्द्रमा पुगेका पुगेका कर्मचारीले मतदाता परिचयपत्र वितरणसहित चुनावी काम सुरु गरेको उनले बताए । सबै केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीसहित नियुक्तिपत्र, भत्ता, आवश्यक खर्च दिएर पठाइएको मुख्य निर्वाचन अधिकृत केसीले बताए । मतदाता नामावली, परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सामान मतदान अधिकृत र सहायक अधिकृतलाई दिइएको छ । निर्वाचन आयोगले गाउँगाउँमा मतदाता शिक्षा नदिएकाले केन्द्र र स्थलमा डेस्क स्थापना गरेर मतदाता शिक्षा दिइनेछ ।

निर्वाचन कार्यालयबाट मतपेटिका, मतदान कार्यमा आवश्यक सबै सामग्री लिएर कर्मचारी मतदान स्थलमा खटिइसकेका छन् । टाढा जानुपर्ने कर्मचारी सोमबार गइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी भेषराज खनालले बताए । ‘टाढाका मतदान अधिकृत र सहायकले फोन गरेर केन्द्रमा पुगेर मंगलबार नै सर्वदलीय बैठक राखेको जानकारी दिएका छन्,’ उनले भने, ‘मतदान स्थल, सुरक्षालगायतका विषयमा प्रस्ट नभएका कुरा फोनमार्फत पनि जानकारी लिने गरेका छन् ।’ मतदान कसरी गराउने र त्यसलाई व्यवस्थित गर्ने सम्बन्धमा सम्बन्धित स्थानमा सर्वदलीय बैठक बसेर छलफल गर्नुपर्ने उनले बताए । मतदान केन्द्र निर्माण, परिचयपत्र वितरण, सवारी साधनका विषयमा स्थानीय राजनीतिक दल, उम्मेदवार, सर्वपक्षीय छलफल गरेका छन् । जिल्लाका सबै मतदान केन्द्रबाट बुधबार र बिहीबार मतदाता परिचयपत्र बाँड्नेछन् ।

सुरक्षा निकायले सबै मतदान स्थल र केन्द्रमा पुगेर सुरक्षाको सम्पूर्ण बन्दोवस्ती मिलाइसकेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनका अनुसार यहाँका सबै स्थानीय तहमा स्थानीय प्रशासन ऐनको अधिकारसमेत दिएर अनुगमन टोलीसमेत खटाउने तयारी गरिएको छ । प्रहरीले पनि तीन क्षेत्र बनाएर प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुगमन र निगरानी टोली बनाएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । उनका अनुसार मतदान केन्द्रमा सेना, प्रहरी, सशस्त्र र म्यादी गरी २ हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित : वैशाख २८, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?