कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कुमाल गाउँ सधैं भोट बैंक

माधव अर्याल

चिर्तुङधारा, पाल्पा — स्थानीय तह निर्वाचनका लागि अहिले उम्मेदवारहरू मत माग्न घरदैलोमा पुगेका छन् । यसपटक उम्मेदवारहरूका नयाँ मुद्दा खासै केही छैनन् । २०७४ कै प्रतिबद्धतापत्रलाई तलमाथि पारेका छन् ।

कुमाल गाउँ सधैं भोट बैंक

कतिपयले प्रतिबद्धता पत्रसमेत नलिई मत मागिरहेका छन् । यसअघिकै सुरु भएका योजना र कार्यलाई निरन्तरता दिने भन्दै घरदैलोमा हिंडेका छन् । तर, केही टाठाबाठा मतदाता भने कसले नयाँ कुरा ल्याउने होलान् भन्दै बसेका छन् । कतिपय यस्ता मतदाता छन्, जसलाई चुनाव आए पनि खासै मतलब नै छैन । त्यस्तै अवस्था छ, बगनासकाली गाउँपालिकाको घोरबन्दाको कुमाल बस्तीको ।

१ सय २५ घर रहेको गाउँमा अघिल्लो स्थानीय तहको निर्वाचनपछिको उपलब्धि घरनजिक खानेपानी पाएका छन् । अन्य केही सुविधा नपाएको गुनासो गर्छन् । बिहानै उठेर सदरमुकाममा काम खोज्न निस्कने उनीहरूको दैनिकी हो । ‘बिहानमा काम नपाएर रित्तै फर्किनु पर्दा चुल्हो बाल्न समस्या हुने पनि धेरै हुनुहुन्छ,’ स्थानीय अन्जली कुमालले भनिन्, ‘यस्ता परिवारका विषयमा चुनाव आएर केही मतलब हुने कुरै भएन ।’

घर छेउमै अधिकांशको समथर बारी भए पनि सिंचाइ सुविधा छैन । तीन खेती गर्न सकिने मलिलो माटो भएको खेतबारी बाँझै र बढीमा दुई खेती लगाउँछन् । ‘पिउने पानी पाइयो तर सिंचाइ गर्ने पानीको व्यवस्था कसले गर्ला ?’ बगनासकाली–१, चिर्तुङधारा घोरबन्दाका चित्रबहादुर कुमालले भने ।

उनका अनुसार चेतना अभावकै कारण यहाँका बासिन्दाको जीवनस्तर सुध्रिन सकेको छैन । यहाँका धेरैजसो युवा भारत र खाडी मुलुकमा मजदुरीका लागि पुगेका छन् । युवाहरू गाउँमै बस्ने गरी कुनै रोजगारीका कार्यक्रम नभएको उनले बताए । गाउँमा सडक व्यवस्थित छैन । गाउँमा माविसम्म पढाइ हुने विद्यालय पनि छैन । पढ्नका लागि सदरमुकाम नै पुग्नुपर्छ ।

घोरबन्दाका ६२ वर्षीय जगन कुमालको पनि गुनासो उस्तै छ । १५ वर्षदेखि कुनै पनि काममा जान सकेका छैनन् । उनको एउटा खुट्टा लुलो भएकाले काम गर्न जान समस्या छ । त्यसैले दैनिक गुजारा गर्नै समस्या पर्छ । पहिले माटाको भाँडा बनाउने, भारी बोक्ने काम गर्दै आए पनि अहिले घरमै बस्नु परेको छ । श्रीमती यमसराको पनि एउटा खुट्टा कमजोर छ । ‘भत्ताका लागि वडा, गाउँपालिका, पाल्पा अस्पताल जतासुकै गइयो तर अहिलेसम्म केही भएन,’ उनले भने ।

यसपटकको निर्वाचनमा यसअघि एमालेबाट उपाध्यक्षमा विजयी भएकी सरस्वती चिदीले अध्यक्षमा उम्मेदवारी दिएकी छन् । कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनबाट कांग्रेसकी सुनिता अधिकारी चुनावी मैदानमा छन् । ‘कोभिडले असर गरेकाले छोटो समयमा पनि विकास निर्माण, लक्षित वर्गको आर्थिक, सामाजिक विकास र सशक्तीकरणको काम सुरुवात भएको छ,’ चिदीले भनिन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी अधिकारीले गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले सुरुवात गरेको योजनालाई पूर्णता दिएर अल्पकालीन र दीर्घकालीन योजना बनाउने बताइन् । ‘स्वास्थ्य र शिक्षा क्षेत्रलाई उकास्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २४, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?