कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते 

माधव अर्याल

पाल्पा — स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा आइतबार नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई कार्यकर्ता घाइते भएका छन् । 

पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते 

नारा लगाएको विषयमा भएको झडपमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका हुन् । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा झडप भएको बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ । त्यसै क्रममा झडप भएको रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

एमाले रामपुर नगरपालिका–१०, गेझाका अध्यक्ष टंकप्रसाद खनालले कांग्रेसले घरदैलो कार्यक्रमको सही जानकारी नदिएको र सामान्य नारा लगाउने क्रममा झडप भएको बताए । एमाले युवाहरुले ‘कांग्रेसको पत्ता साफ’ भन्ने नारा लगाएपछि झडप सिर्जना भएको जनाइएको छ ।

आइतबार नै एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रम तथा आमसभा गरेको थियो । गठबन्धनले पनि घरदैलो कार्यक्रम टोलहरुमा गरिरहेको छ । गठबन्धन र एमालेको प्रचारप्रसार टोलीबीच भेट हुन नदिन समन्वय गर्दागर्दै घटना भएको अध्यक्ष खनालले बताए ।

कांग्रेसले भने एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप लगाएको छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा क्षति पुगेको छ । घटनाप्रति कांग्रेस रामपुरले ध्यानाकर्षण भएको र घटनाप्रति खेद प्रकट गरेको छ ।

शान्तिपूर्ण प्रचारप्रसार गर्न पाउने स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरेको कांग्रेसका रामपुर नगर सभापति भट्टराईले बताए ।

प्रकाशित : वैशाख १८, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×