कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबस्टेसन सञ्चालन

अर्घाखाँची — सन्धिखर्कस्थित फुदवाङमा १ सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसन सञ्चालनमा आएको छ । कपिलवस्तुको मोतीपुरबाट सन्धिखर्क प्रसारण लाइन जडान गरिएको हो । सब स्टेसनको ऊर्जामन्त्री पम्फा भुसाल र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार उद्घाटन गरेका हुन् ।

प्रसारण लाइनले सदरमुकामसहित दुर्गम बस्तीमा समेत उद्योग फस्टाउने र आर्थिक गतिविधि बढ्ने आशामा उद्योगी छन् । ‘अब जिल्लामा छिनछिनमा बत्ती जाने, बिग्रने समस्याबाट मुक्ति मिल्नेछ,’ विद्युत् प्राधिकरण कार्यालय प्रमुख रमेश बञ्जाडेले भने, ‘छिमेकी जिल्ला गुल्मी, पाल्पा र प्यूठानलाई समेत विद्युत् आपूर्ति गर्न सकिन्छ ।’ छिमेकी जिल्लामा लाइन अवरुद्ध भएको बेला यहाँबाट बिजुली दिन सकिने उनले बताए । जिल्लामा प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर बत्ती जाने र भोल्टेजको समस्याले विद्युत् अवरुद्ध भइरहने समस्या थियो । अब त्यो समस्या हटेको उनले बताए । यसअघि उद्योगलाई विद्युत् आपूर्तिमा समस्या भएर काम गर्न कठिनाइ थियो । ‘ठूला उद्योगलाई पर्याप्त मात्रामा विद्युत् दिन सकिन्छ, लाइन अवरुद्ध हुँदैन,’ उनले भने, ‘सब स्टेसन उच्च भोल्टेज क्षमताको छ । पहिलेभन्दा ५/६ गुणा बढी विद्युत् छ ।’

पहाडी जिल्लामा फर्निचर, क्रसरलगायतका उद्योग छन् । ‘साना उद्योगलाई कम भोल्टेज हुने र उद्योग सञ्चालन गर्नै समस्या हुन्छ,’ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालले भने, ‘साँच्चै नियमित भयो भने यसले उद्योगीलाई ठूलो फाइदा हुन्छ । बिजुलीकै कारण उद्योग बन्द गर्नुपर्ने, उद्योगी विस्थापित हुनुपर्ने बाध्यता हट्नेछ ।’ विद्युत् नियमित भएपछि धेरै उद्योग खुल्ने, भएका उद्योग फस्टाउने उनले बताए । पर्याप्त मात्रामा विद्युत् भएपछि बिजुलीमै खाना पकाउन पाएमा ग्यासको आपूर्ति र माग घट्ने छ । बिजुली अवरुद्ध भइरहने र कम भोल्टेजका कारण गाउँमा कुखुरा फार्मसमेत प्रभावित थिए ।

प्रकाशित : चैत्र १५, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?