कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडपान्डा संरक्षणमा बढ्यो चासो

काशीराम डाँगी

रोल्पा — रोल्पाको पूर्वी र उत्तरी पहाडमा पाइने लोपोन्मुख रेडपान्डाको चोरी सिकार बढेपछि स्थानीयले संरक्षणमा चासो देखाएका छन् । रेडपान्डाको चोरी सिकार भइरहेकामा चिन्तित हुँदै सरोकारवालाले राज्यले विशेष चासो देखाउन माग गरेका छन् । 

रेडपान्डा संरक्षणमा बढ्यो चासो

सदरमुकाममा हालै आयोजित रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रममा सरोकारवालाले स्थानीय समुदाय सक्रिय भएमा मात्र रेडपान्डाको संरक्षण हुने विश्वास व्यक्त गरे । सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानामगरले हिमाली क्षेत्रमा पाइने रेडपान्डाको चोरी सिकार भएकामा चिन्ता व्यक्त गरे । ‘माथिल्लो तहको जंगली क्षेत्रमा रेडपान्डा पाउन सकिन्छ । स्थानीयले यसबारे राम्रोसँग जानकारी पाउन नसक्दा तस्करहरूले मारेर व्यापार गरेको पाइएको छ,’ उनले भने ।

उनले गाउँपालिकासँगको समन्वयमा रोल्पामा रेडपान्डाको संरक्षण कार्य सुरु भएको बताए । रेडपान्डा नेटवर्कले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रेडपान्डाको चोरी रोक्न र संरक्षणमा ध्यान पुर्‍याउन ढिला गर्न नहुने बताए । पछिल्लो अवस्थामा दाङ, नेपालगन्जलगायतका बजार क्षेत्रमा पहाडी क्षेत्रबाट चोरी गरेर मारिएका रेडपान्डाका छालासहित विभिन्न व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको उपल्लो भेगमा पर्ने पाँचवटा स्थानीय तहमा रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालित छ । विश्वमै अति दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षण गर्न रोल्पामा एक वर्षदेखि कार्यक्रम सञ्चालन भएको हो । रेडपान्डा नेटवर्क र अन्य संस्थाको सहयोगमा रोल्पासहित डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा रेडपान्डा संरक्षण योजना सञ्चालित छ । रोल्पा नगरपालिकासहित थबाङ, सुनछहरी, गंगादेव र परिवर्तन गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन भएको छ । नेटवर्कको आर्थिक सहयोगमा हरेक वर्षमा नवीकरण हुने उक्त कार्यक्रम अढाई वर्षसम्मको पहिलो चरणमा सञ्चालन हुने योजनाका रोल्पा संयोजक नवीन केसीले बताए । उनले रेडपान्डाको बसोबास स्थल खोजी भइरहेको बताए ।

जिल्लामा मानवअधिकार सचेतन केन्द्र हुरेकले उक्त कार्यक्रमको समन्वय गरेको छ । पहिलो चरणमा उक्त कार्यक्रमका लागि करिब १५ लाख बजेट प्राप्त भएको थियो भने दोस्रो वर्ष पनि त्यही बराबरको बजेट प्राप्त भएको हुरेकका अध्यक्ष घनश्याम आचार्यले बताए । उनले जनचेतना विस्तार, घाँस, वन र जंगलको संरक्षण, नर्सरी व्यवस्थापन र स्थानीयमा आय आर्जनको सुविधालगायतका गतिविधि वृद्धि गरेर रेडपान्डा संरक्षण गर्ने योजना छ ।

सुनछहरीका अध्यक्ष आशबहादुर पुनले परियोजनासँग समन्वय गरी स्थानीय चासो बढाउने गरेको अनुभव सुनाए । तीन वर्षअघि पूर्वी रोल्पाको गाममा स्थानीयले एक जोडी रेडपान्डा फेला पारेपछि उक्त क्षेत्रमा रेडपान्डा रहेको पत्ता लागेको थियो । रेडपान्डा फेला पारिएको पूर्वी रोल्पाको गाम सबैभन्दा ठूलो क्षेत्रफल भएको साबिकको गाविस हो । गाम समुद्र सतहदेखि १ हजार ५ सय देखि ४ हजार मिटरसम्मको उचाइमा छ । रोल्पामा फेला पारिएको रेडपान्डाको तौल २ किलोजतिको थियो । रेडपान्डा विश्वमै अति दुर्लभ वन्यजन्तुमा पर्छ । नेपालले संरक्षण गर्न विशेष नीति बनाएर पहल गर्दै आएको छ ।

प्रकाशित : चैत्र ९, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?