कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेक अनादर मुद्दामा ठेकेदार पक्राउ

दाङ — चेक अनादर मुद्दामा तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणका क्रममा ठगी गरेको भन्दै विभिन्न व्यवसायीले उजुरी दिएपछि पाण्डे शनिबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई आइतबार उच्च अदालत तुलसीपुरमा उपस्थित गराई अनुसन्धानका लागि सात दिन थुनामा राख्न अनुमति पाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सडक निर्माणका क्रममा भएका विभिन्न कारोबारमा दिइएका चेक अनादर भएको र ठगीमा परेको भन्दै विभिन्न व्यवसायीले निवेदन दिने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

फोरलेन निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाण्डेलाई स्थानीय प्रतिनिधिका रूपमा खटाएको थियो । उनले सडक निर्माणका क्रमाम टिपर प्रयोग गरेको १ करोड ४४ लाख रुपैयाँको चेक दिए पनि पैसा नपाएको भन्दै घोराही–१५ भरतपुरका गेहेन्द्र बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाण्डे पक्राउ परेपछि मूल निर्माण कम्पनी तथ्य इन्जियिनरिङका प्रतिनिधि सम्पर्कमा आएको र सबै खर्च आफूले व्यहोर्ने प्रतिबद्धता गरेको एसपी काफ्लेले बताए । हालसम्म ठगिएका सबैको निवेदन लिएर पीडितलाई रकम दिलाउने र सडक निर्माणको कामलाई पनि गति दिने लक्ष्यका साथ काम भइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पनि ठगिएको भन्दै १६ जनाले निवेदन दिएका छन् ।

२०७६ असारमा सुरु भई ०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म ७ प्रतिशत मात्रै भएको छ । काम अलपत्र परेपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने र धरौटी जफत गर्ने योजनामा आयोजना पुगेको छ ।

प्रकाशित : चैत्र १, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?