कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

गत वैशाखसम्म निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाको हालसम्मको भौतिक प्रगति ७ प्रतिशत मात्रै
दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर फोरलेन सडक निर्माण सुरु भएको तीन वर्ष पुग्न थाल्यो । २०७६ असारमा काम सुरु भएको सडक ०७८ वैशाखमा सक्ने लक्ष्य थियो । तर, अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । हालसम्म कुल लागतको १४ प्रतिशत रकम निकासा भइसेको फोरलेन सडक आयोजनाले जनाएको छ ।

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

आयोजनाका अनुसार ठेकेदार काम अलपत्र पार्दै सम्पर्कविहीन भएपछि सडक निर्माण अलपत्र परेको हो । दायाँबायाँ दुवैतिर कटान गर्दा हाल कायम सडक साँघुरो भएको छ, जसका कारण दुर्घटना बढिरहेका छन् ।

घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८.१९ किमि सडकमा अहिलेसम्म छेउछाउको जमिन कटानबाहेक अरु काम भएको छैन । तोकिएको म्यादभन्दा ८ महिनापछि गत मंसिर ११ मा घोराहीमा सडक निर्माणको शुभारम्भ भन्दै तामझामका साथ कार्यक्रम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख र सरोकारवालाको उपस्थितिमा निर्माण कम्पनीले अब सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । सडकको काम सक्ने म्याद ०७९ वैशाखसम्म थपिएको छ ।

भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे आफैं उपस्थित भएर अब एक वर्षमा सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । पहिले खटाएका व्यक्तिले धोका दिएकाले काम ढिलो भएको भन्दै उनले अब तीव्र गतिमा काम गर्ने जनाए । उक्त कम्पनीले तीनवटा पेटी ठेकेदारलाई काम दिएको थियो तर उनीहरूले सडक अलपत्र छाडेका छन् । सुरुमा तथ्य इन्जिनियरिङले कामको जिम्मा दिएका व्यवसायी अनुप पाण्डेविरुद्ध अहिले जिल्ला प्रशासनमा आर्थिक रूपमा ठगिएको भन्दै १७ जनाले निवेदन दिएका छन् । निर्माण सामग्री लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेको लगायतको ५ करोड ८९ लाख रुपैयाँ नपाएको भन्दै प्रहरी र प्रशासनमा उजुरी परेको छ ।

प्रशासनमा ४ करोड ४५ लाख रुपैयाँ पाउनुपर्ने भन्दै निवेदन आएको र उक्त पत्र फोरलेन सडक आयोजना कार्यालय लमहीमा पठाइएको प्रजिअ हीरालाल रेग्मीले बताए । प्रशासनले माघ १७ मा आयोजनालाई विभिन्न ८ बुँदामा प्रश्न गर्दै प्रतिवेदन बुझाउन पत्र पठाएको छ । काम नहुनुको कारण के हो, कार्ययोजना के छ, सम्झौता अवधिमा काम सकिने आधार के लगायत प्रश्नको प्रशासनले जवाफ मागेको छ ।

निर्माणको जिम्मा लिएका व्यवसायीबाट अब काम नहुने निष्कर्षमा भालुबाङ–बाग्दुला–भीमगिठे–चन्द्रौटा–लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालय पुगेको छ । विभागमा समेत पत्र पठाई उनीहरूको ठेक्का तोडी विकल्प खोज्ने र पेस्कीसहितको रकम फिर्ता लिने तयारी गरेको आयोजना प्रमुख अर्जुन बमले बताए ।

निर्माण कम्पनीले पेस्कीस्वरूप १२ करोड रुपैयाँ लिएकोमा २ करोडको मात्रै काम भएको उनले बताए । काम नगरी बाँकी १० करोड रुपैयाँसमेत उनीहरूले लिइसकेकाले अब काम नगरे पेस्की फिर्ता गर्ने सर्तमा जमानी बसेको नेपाल बंगलादेश बैंकबाट रकम फिर्ता लिइने उनले बताए । सम्झौता गर्दा बुझाएको १४ करोड रुपैयाँ पनि जफत हुने उनले बताए । ‘गुणस्तरीय काम हुन सकेन । प्रतिबद्धताअनुसार काम नभए उक्त धरौटी रकम जफत हुने व्यवस्था छ,’ उनले भने, ‘अब यो तरिकाले काम हुँदैन । ठेक्का सम्झौता खारेज गर्नुको विकल्प छैन ।’

प्रकाशित : फाल्गुन २८, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?