१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

टिकट पाउन दल परिवर्तन

निर्वाचन मिति घोषणा भएपछि पालिका प्रमुखले धमाधम अनुकूलको पार्टी रोज्दै
सन्जु पौडेल

लुम्बिनी — सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै रूपन्देहीका पालिका प्रमुखले धमाधम अनुकूलको पार्टी रोज्न थालेका छन् । कांग्रेस, एमालेबाहेकका दलबाट विजयी भएकाले नयाँ पार्टी रोज्न थालेका हुन् । 

यस्तैमध्येका एक हुन्, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव । उनले गत फागुन २ गते साबिकको दल परिवर्तन गरे । तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार भई गत स्थानीय निर्वाचनमा पालिका अध्यक्षमा चुनिएका थिए । कार्यकाल सकिंदै गर्दा अहिले राजनीतिक आस्था परिवर्तन गरेका छन् । आफू आबद्ध पूर्वपार्टीका केही नेतासँग कुरा नमिलेपछि दल परिवर्तन गरेको उनले बताए । उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । आगामी निर्वाचनमा पालिका अध्यक्षको टिकट पाउने आश्वासन पाएका उनले सिट सुरक्षित गर्न एमाले रोजेको बताए ।

‘पुनः निर्वाचन लड्ने निश्चित हो,’ उनले भने, ‘पहिलेका साथीहरूले असहयोगी भूमिका खेल्ने देखेकाले दल परिवर्तनको बाटो रोजेको हुँ ।’ रोहिणीमा एमालेका लागि आफूबाहेकको विकल्प नरहेको र जनताका काम गरेकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ । फोरमका अग्रज नेताले आफूहरूले सोचेजस्तो हिसाबले काम नगरेकाले पार्टी छोड्ने लहर चलेको र आफूले समेत अग्रजकै सल्लाहमा दल परिवर्तन गरेको यादवले जनाए ।

मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ गत स्थानीय निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका हुन् । हाल उनी लोकतान्त्रिक समाजवादीका नेता छन् । अग्रपंक्तिका नेताले सरकारमा मधेसीका पीडाबारे बोल्न नखोज्ने प्रवृत्ति रहेपछि पार्टी छोडेको उनले बताए । ‘मधेसबाट राजनीति गर्ने सिपाही हुँ,’ उनले भने, ‘ममाथिका नेताले सरकारसमक्ष हामीले सुझाएका विषय राख्न नसकेपछि पार्टीमा बस्नुको अर्थ रहेन ।’

यहाँको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवटले समेत पार्टी बदले । उनी विगतमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । अब हुने निर्वाचनमा पालिकामा आफ्नो उम्मेदवारी कायम राख्ने र टिकट पाउने भएपछि नेकपा एमालेमा प्रवेश गरेको उनले बताए । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गत माघ २७ गते पार्टी बदले । उनी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका निर्वाचित जनप्रतिनिधि हुन् । उनले दल फेरि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाई पार्टी प्रवेश गरेका थिए । जनताको माझमा रहिरहन शक्तिशाली पार्टीले सघाउने उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार बनी विजयी भएका लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी हाल जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र रहेर चुनाव जिते पनि राजनीति गर्न दल आवश्यक पर्ने भएकाले पार्टी प्रवेश गरेको उनले बताए । राजनीतिक प्रतिस्पर्धा बढिरहेका बेला स्वतन्त्र रहनुको अर्थ नरहने उनी बताउँछन् । राजनीतिक मानिसले पदको लाभ लिनकै लागि पार्टी परिवर्तनको बाटो रोज्ने गरेको जनता समाजवादी पार्टी रूपन्देहीका नेता महेन्द्र यादवको भनाइ छ । राजनीतिक इतिहास नभएका मानिसलाई पार्टीले टिकट दिंदा निर्वाचन जितेर पाँच वर्षसम्म विभिन्न किसिमका लाभ लिएपछि पुनः पार्टी फेरबदल गर्ने गरेको उनले बताए । ‘अवसरलाई जनताको पक्षमा लगाउन नसक्नेलाई दलले फेरि टिकट नदिने निश्चित भएपछि उनीहरू पार्टी फेरबदलमा लागेका छन्,’ उनले भने, ‘पदमा बसुन्जेल जनताका पक्षमा काम नगरेकाहरू हार्ने डरले पनि सुरक्षित हुन दल परिवर्तन गरिरहेका हुन् ।’

दल परिवर्तन नेपाली राजनीतिको परम्परा नै बनिरहेको प्राध्यापक ताराप्रसाद पराजुलीले बताए । जुनै पनि दलमा बिचौलिया हाबी भई जनतालाई गुमराहमा पार्न सक्रिय हुने भएकाले नेपालको राजनीतिक दलसँग विचार नरहेको उनले दाबी गरे । ‘यहाँका कुनै पनि दल मूलधारमा छैनन्,’ उनले भने, ‘विचार नै नभएका दल भएकाले दल परिवर्तन गरेर लाभ लिने कोसिसमा अघि बढ्नु स्वाभाविक मान्नुपर्छ ।’

प्रकाशित : फाल्गुन २२, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?