पाल्पाली ढाकाको ब्रान्डिङले उत्साह- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाली ढाकाको ब्रान्डिङले उत्साह

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा चिनाउन ब्रान्डिङले सहयोग पुग्ने विश्वास
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–४ सिल्खानटोलका ढाका उद्योगी हरि रायमाझीकहाँ २५ वटा ढाका बुन्ने तान छन् । त्यसमा ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सरस्वती ढाका कपडा उद्योगका सञ्चालक रायमाझीको मखनटोलमा सोरुम छ । त्यहाँ बिक्री गर्ने ढाकाका सामग्रीको विविधीकरण गरिएको छ ।

पाल्पाको तानसेन–४ बारुदखानस्थित एक उद्योगमा ढाकाको कपडा बुन्दै महिला ।  तस्बिर : माधव/कान्तिपुर

त्यसमा थप १० जना स्वरोजगार बनेका छन् । ‘अझ धेरैलाई ढाका बुन्न तालिम दिने र स्वरोजगार गराउने अभियानमा छौं,’ उनले भने, ‘त्यसका लागि ढाकाको थप विविधीकरण गर्ने योजना पनि अघि बढेको छ ।’

तानसेन नगरपालिका, बारुदखानका ढाका उद्यमी मनोजराज शर्मा पौड्यालकहाँ ४० जना बढी स्वरोजगार छन् । पाल्पाली हाते तान, जेकार्ड तानमा उनीहरू स्वरोजगार भएका हुन् । आगमी दिनमा तान थप्ने र अझ धेरैलाई रोजगारी दिने उनको योजना छ । ‘कोभिड र त्यसअघि पनि केही कमी आएको थियो,’ उनले भने, ‘अहिले ढाका कपडाले ब्रान्डिङको अनुमति पाएपछि थप हौसला मिलेको छ । अझ धेरै तान थप्ने योजनामा छु ।’ पौड्यालको पनि पौड्याल ढाका कपडा सोरुम सञ्चालनमा छ । जसबाट ढाकालाई विविधीकरण गरेर बिक्री गर्ने योजना थप बलियो बनेको छ ।

स्वदेशी वस्त्रकला उद्योगकी सञ्चालक ८३ वर्षीया पूर्णमाया महर्जनको यतिबेला ३५ तान सञ्चालनमा छ । पाल्पाली ढाकाले ‘पाल्पाली’ ब्रान्ड पाएपछि उनले पनि औधी खुसी लागेको सुनाइन् । केही दिनअघि मात्र उद्योग मन्त्रालयबाट ‘पाल्पाली’ ब्रान्ड पाएपछि पाल्पाली ढाका संघमा आबद्ध सबै उद्योगी खुसी भएका छन् । यति मात्र होइन, गाउँघरमा एक/दुई तान राखेर काम गर्दै आएका समेत हौसिएका छन् ।

ढाकाको चोली, पछ्यौरी मात्र नभएर टाई, कोट, सर्ट, कुर्ता, पर्स, ब्यागलगायतका विविधीकरणमा जोड दिइएको उनले बताइन् । पाल्पाली ढाकाको पहिचान कायम राख्न ‘पाल्पाली’ ब्रान्डिङ भएको पाल्पाली ढाका संघकी अध्यक्षसमेत रहेकी महर्जनले बताइन् । यूकेएड सीप परियोजना र पाल्पाली ढाका संघद्वारा काठमाडौंमा आयोजित ‘पाल्पाली’ ब्रान्ड सार्वजनिक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नायक राजेश हमाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो ।

‘ढाका कपडा’ की संस्थापक पूर्णमायाको जोड पनि ‘पाल्पाली’ र बाहिरको अलग्गै पहिचान दिएर बिक्री गर्नुपर्ने भन्नेमा नै थियो । ढाका पसलमा पुग्ने ग्राहकलाई कुन पाल्पाली र कुन बाहिरको हो भन्ने जानकारी नदिँदा ठगिएका थिए । अब भने ‘पाल्पाली’ ब्रान्डिङ भएपछि त्यो समस्या हट्ने उनले बताइन् । ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा लैजाँदा उपभोक्ताले गुणस्तर पहिचान गर्न सक्ने उनको भनाइ छ । ढाकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ब्रान्डिङले सहयोग पुग्ने पाल्पाली ढाका संघका कार्यक्रम संयोजक सागरमान महर्जनले बताए । ‘पाल्पाली ब्रान्ड भनेको ९ वटै उद्योगको हो,’ उनले भने, ‘यो एउटा कारखाना वा फर्मले गरेको होइन ।’

अब केही महिनाभित्र १५ वटा उद्योग संघमा आबद्ध हुने उनले बताए । कतिपयले घरमै एउटा तान राखेर बुनेका छन् । त्यस्तालाई पनि समेटेर अघि बढ्ने उनले बताए । ‘अहिले उत्पादन धेरै नभए पनि त्यसलाई विविधीकरण गर्ने छौं,’ उनले भने, ‘फेसनका कपडा, होम डेकोर सामग्रीलाई अहिले जोड दिएका छौं ।’ स्थानीय, प्रदेश र संघीय सरकार मात्र नभई सहयोगी संस्थामार्फत बुनकर तालिम दिने र उत्पादनलाई बढाउने उनले बताए ।

दुई वर्षअघि मात्रै ढाका कपडा उद्योगीहरू एकजुट भएका हुन् । संघ स्थापना भएपछि सहयोगी संस्था यूकेएड सीप परियोजना, प्रदेश सरकारको सहयोग पाएका छन् । तानसेन नगरपालिकाले पनि साथ दिएको छ । पछिल्ला वर्षमा गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नै गुम्ने अवस्थामा पुगेको थियो । भएका उद्योग बन्द हुँदै गएका थिए । जसले गर्दा पाल्पामा बुनेका ढाका नभई बाहिरको उत्पादन बिक्री बढेको थियो । ‘हामीले अब पाल्पाली ब्रान्डिङलाई ध्यान दिनेछौं,’ उनले भने, ‘मेसिनबाट नेपालकै र भारतमा बुनेका ढाका बिक्री गर्दा पाल्पाली लेबल लगाउन पाइने छैन ।’

२०१५ सालमा ८३ वर्षीया पूर्णमायाका श्रीमान् स्वर्गीय गणेशमानले पाल्पाली ढाकाको सुरुवात गरेका हुन् । त्यतिबेला हातैले बुन्ने तान थिए । यसलाई प्रविधिको विकास गर्दै जे कार्डमा परिवर्तन गरियो । पछि मेसिनले नै बुन्न थालियो । पाल्पाली ढाकाजस्तै सस्तो प्रविधिमा भारतमै मेसिनबाट ढाका कपडा बुनेर आयात हुन थाल्यो । तेस्रो मुलुकमा बिक्री र फेयर ट्रेडका लागि ‘लेबल–स्टेप’ सहकार्य गर्ने तयारी रहेको उनले बताए । जिल्लामा ३ सय ५० भन्दा बढी ढाका बुन्ने तान छन् ।

पाल्पाली ढाका कपडा वार्षिक २ करोड रुपैयाँ बराबरको बिक्री हुन्छ । अब उत्पादनलाई बढाएर १० करोडको हाराहारीमा पुर्‍याउने योजना रहेको संघका सचिव मनोजराज पौड्यालले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

१५ करोड लगानीमा ग्याबिन वायर उद्योग

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशमै पहिलोपल्ट ग्याविन वायर उद्योग सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ औद्योगिक क्षेत्रमा झन्डै १५ करोड लागतमा स्थापना गरिएको उद्योगको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे ।

व्यवसायी पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले सुरक्षा ग्याविन वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको हुन् ।

चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले बताए । उनका अनुसार मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र २ हजार किलोग्राम चेनलिंक (घेरबार जाली) उत्पादन गर्न सकिन्छ । ३ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले ४० जनालाई रोजगारी दिएको उनले जानकारी दिए ।

यसअघि ग्याविन तारजाली बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । ‘सुर्खेतमै उद्योग सञ्चालन भएपछि सस्तो दरमा तारजाली पाइने र ढुवानी खर्च बच्ने देखिन्छ,’ अध्यक्ष रेग्मीले भने, ‘अरु प्रदेशमा पनि तारजाली पठाउने गरी उत्पादन सुरु गरेका हौं ।’ उद्योगले अहिले २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको छ ।

मुख्यमन्त्री शाहीले निजी क्षेत्रलाई सक्षम बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘निजी क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकासको परिकल्पना गर्न सकिन्न,’ उनले भने, ‘उद्योगी र उद्यमीहहरूको विकास गर्नमा सरकार सदैव तत्पर रहन्छ ।’

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूला लगानीका उद्योग खोलेर रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए । ‘अब रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जान आवश्यक छैन,’ उनले भने, ‘कर्णालीका १० ठूला व्यापारीले १/१ वटा ठूला उद्योग सञ्चालन गरे कर्णालीका आधा युवाले यतै रोजगारी पाउँछन् ।’

प्रकाशित : फाल्गुन २१, २०७८ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×