कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

पर्यटक आकर्षित गर्न डुंगा दौड

कान्तिपुर संवाददाता

पाल्पा — मुलुकका सय पर्यटकीय गन्तव्य स्थलमा परेको रामपुरको तालपोखरामा तेस्रो डुंगा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । मिनी फेवातालका रूपमा परिचित यस तालमा मंगलबार रामपुर नगरपालिका, ताल पोखरा संरक्षण समिति, वडा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रतियोगिता आयोजना गरेका हुन् । 

पर्यटक आकर्षित गर्न डुंगा दौड

कोरोना महामारीबाट तंग्रिन लागेको पर्यटनलाई अझ प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरेको आयोजक तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर देवकोटाले बताए । डुंगा दौड प्रतियोगितामा ११ समूहले भाग लिएका थिए ।

महाशिवरात्रिको अवसरमा राखिएको डुंगा दौड प्रतियोगितामा गेटबाट सुरु गरेर तालको बीचमा रहेको मन्दिर परिक्रमा गरेर पुनः सोही गेटमै आउनुपर्ने रुट बनाइएको थियो । ‘पर्यटक आकर्षित गर्ने माध्यम डुंगा दौड पनि हो जस्तो लाग्यो,’ उनले भने, ‘विगत दुईपटक नै धेरैले रमाइलो मानेर हेर्न आएकाले पनि तेस्रो पटक आयोजना गरिएको हो ।’

प्रतियोगितामा १० समूहलाई पछि पार्दै थानेश्वर अधिकारी र प्रकाश भण्डारीको समूहले पहिलो स्थान हात पारेक‍ो छ । गोपाल कँडेल र शिवराम कँडेलको समूह दोस्रो र मणि भण्डारी र माधव भण्डारीको समूह तेस्रो भएका थिए ।

प्रतियोतिामा पहिलो हुनेलाई १५, दोस्रोलाई १० र तेस्रो हुनेलाई ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । आन्तरिक पर्यटकलाई लोभ्याउन तालपोखरामा डुंगा दौड प्रतियोगिता गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । झण्डै ४५ रोपनी क्षेत्रफलमा तालपोखरा फैलिएको छ । बीच भागमा जलेश्वर शिव भगवान्को मन्दिर छ ।

नियमित डुंगा सञ्चालन हुँदै आएको तालपोखरामा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता हुँदै आएको रामपुर नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘लामो समयदेखि कोरोनाले गर्दा चहलपहल हुन सकेको थिएन,’ उनले भने, ‘अब भने पर्यटकीय चहलपहल हुने विश्वास छ ।’

प्राकृतिक रूपमा रहेको चौरलाई महायज्ञ गरेर नगर प्रमुख थापाकै अगुवाइमा कृत्रिम ताल निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न रचनात्मक कार्यक्रम बनाएर अघि बढ्ने वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । ‘यसको प्रचारप्रसार गर्नलाई नयाँ काम गर्ने योजना बनेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १८, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×