कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालगायतलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

मल्लरानी गाउँपालिका-५ सराङकोटमा रहेको विद्यालयको छलफलमा सहभागी भएका बेला अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत थापालाई उनीहरूले मोसो दलेका हुन् ।

गोपीलाल सुनारसहितको टोलीले पालिकाका शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद आचार्य, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डित लगायतलाई कार्यकर्ताले दुर्व्यवहारसँगै मोसो लगाएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । विद्यालयको विषयमा छलफल चलिरहेको बेला नेकपा कार्यकर्ताले एक्कासि दुर्व्यवहार गरेको उनले बताए ।

विद्यालयको शिक्षण सहजीकरणका लागि जिल्लाबाट टोली आज विद्यालय पुगेको थियो । घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनापछि बोल्दै अध्यक्ष रानाले दोषीलाई तत्काल कारबाही गर्न माग गरे । उनले सहभागी स्थानीयलाई विद्यालयको विषयमा आफूहरु चिन्तित भएको भन्दै सहयोग गर्ने प्रतिवद्धता जसमेत जनाए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?