कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

हिउँ खेल्न हेलिकोप्टर यात्रा

कान्तिपुर संवाददाता

रोल्पा — पर्यटकीय स्थल जलजलामा हिउँ खेल्न हेलि टुरको नयाँ प्याकेज ल्याइएको छ । फिस्टेल एअरसँगको समन्वयमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–७ जेलबाङको गेमी होमस्टेले उक्त व्यवस्थापन मिलाएको हो । होमस्टेका संयोजक युवा पर्यटन व्यवसायी बालकुमार पुनले रोल्पालाई चिनाउन नयाँ पर्यटकीय योजना ल्याइएको बताए ।

हिउँ खेल्न हेलिकोप्टर यात्रा

‘पहिलोपटक जलजला पुग्ने अवसर मिल्यो र हिउँमा खेल्न पाइयो,’ शनिबार हिँउ खेल्न जलजला पुगेका रोल्पा उद्योग वाणिज्य संघका सदस्य एवं युवा व्यापारी राजन श्रेष्ठले भने, ‘परिवारसँग मिलेर हेलिकोप्टरबाट जलजला पुगेका हौं ।’ शनिबार लिबाङबाट जलजला पुग्नेहरूको घुइँचो नै थियो । लिबाङबाट जलजलासम्म कम्तीमा १२ खेप यात्रुलाई दिनभर हेलिकप्टरले ओसारेको थियो । जलजला जान हेलिकप्टरले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ भाडा लिएको थियो ।

रोल्पा नगरपालिकाले करिब ७० लाख रुपैयाँमा निर्माण गरेको हेलिप्याडको शनिबारै उद्घाटनसमेत गरिएको थियो । नगर प्रमुख पूर्ण केसीले हवाई यात्रा र आपत्कालीन उडानका लागि आवश्यक ठानेर हेलिप्याड निर्माण गरिएको बताए ।

जलजला पुग्न अघिल्लो दिनमा नै ५ वटा उडानका लागि २५ जनाले अग्रीम टिकट बुक गरेका थिए । पर्यटन प्रवर्द्धन गर्नेबारे स्थानीय तहसँग समन्वय गरिएको व्यवस्थापन संयोजक पुनले बताए । उनी गेमी होमस्टेका अध्यक्षसमेत हुन् । जलजला पुग्ने सडक अझै निर्माणकै क्रममा छ ।

आन्तरिक एवं बाह्य पर्यटकहरू हाल हेलिकप्टरको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन् । वर्षमा तीनपटक वैशाख, जेठ र साउनमा जलजलामा बराह देवताको पूजाआजा हुन्छ । समुद्र सतहदेखि करिब ३ हजार ६ सय मिटर उचाइको सुन्दर पहाडमा रहेको जलजलामा विविध प्रकारका प्राकृतिक जडीबुटी र विश्वमै लोप हुने अवस्थामा रहेको रेडपान्डा पाइन्छ । सरकारले मुलुकभरका एक सय गन्तव्यमध्ये जलजलालाई समेत सूचीकृत गरेको छ । तर पर्याप्त विकास र प्रचारप्रसारमा कमी देखिएको छ ।

प्रकाशित : फाल्गुन २, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?