कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणी गाउँपालिकामा स्कुलले विद्यार्थीको स्वास्थ्य जाँच गर्न नर्स नियुक्त

महिनावारी हुने उमेरका छात्राहरूले नर्ससँग आफ्ना समस्या सजिलै सुनाउने गर्छन्
काशीराम डाँगी

रोल्पा — विद्यार्थी र शिक्षकको स्वास्थ्य जाँच गर्न तथा स्वास्थ्य ज्ञान फैलाउन पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाले हरेक माध्यमिक विद्यालयमा नर्स नियुक्त गरेको छ । शिक्षक र कर्मचारीको स्वास्थ्य अवस्था सही भएमा शैक्षिक अवस्था सुध्रने उद्देश्यले नर्स नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिकामा स्कुलले विद्यार्थीको स्वास्थ्य जाँच गर्न नर्स नियुक्त

गाउँपालिकामा हाल १२ वटा माध्यमिक विद्यालय छन् । शैक्षिक सुधार अभियान सफल बनाउन प्रारम्भिक अवस्थादेखि नै गाउँपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम चलाउँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत कक्षा कोठाहरूमा स्वास्थ्य विषयका शिक्षकका अतिरिक्त नर्सले स्वास्थ्य अवस्थाबारे चेतना बाँड्ने छन् ।

व्यक्तिगत स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुका साथै विद्यालयको बाहिरी अवस्थाप्रति सचेत बनाउन समेत उनीहरूले कार्य गर्छन् । कार्यविधि निर्माण गरेर प्रतिस्पर्धाका आधारमा पहिलो चरणमा माध्यमिक विद्यालय तहमा मात्रै नर्स नियुक्त गरिएको केसीले बताए ।

नर्सहरूले विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको पनि नियमित स्वास्थ्य जाँच गर्छन् । सामान्य अवस्थाकालाई विद्यालयमै उपचार गर्ने प्रबन्ध मिलाइएको छ भने जटिल अवस्था आएमा स्वास्थ्य संस्थामा जान सुझाव दिने गरिएको छ । नर्स नियुक्तिसँगै उनीहरूसँग विद्यार्थीहरूले आफ्ना समस्या नलुकाई भन्ने गरेको पाइएको गाउँपालिकाका सूचना अधिकारी भरत डीसीले बताए ।

साथै नर्ससँग महिनावारी हुने उमेर पुगेका छात्राहरूले आफ्ना समस्या सजिलै भन्ने गरेको पनि पाइएको छ। यस्तै नर्स मार्फत् विद्यालयले निःशुल्क रुपमा महिनावारी प्याड वितरण गर्ने गरेकाले सजिलो भएको छात्राहरूले बताएका छन् ।

माध्यमिक विद्यालयमा विद्यालय नर्स तथा आधारभुत विद्यालय र प्राथमिक विद्यालयमा महिला शिक्षिकालाई स्वास्थ्य फोकल पर्सन छनोट गरिएको हो । नर्स र महिला शिक्षिका समक्ष किशोरकिशोरीहरूले आफ्ना समस्या खुलस्त राख्ने गरेका छन् ।

विद्यालय नर्स कार्यक्रम संचालन गरेपछि कोभिडका बारेमा जानकारी दिन समेत सजिलो भएको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारीले बताए ।

उनले शिक्षक र विद्यार्थीलाई स्वास्थ्य अवस्था र कोभिड सम्बन्धी जानकारी गराउन नर्सलाई खटाइएको बताए । गाउँपालिकाले यस्तो अभियान थालेकामा विद्यालयमा निकै फाइदा पुगेको उनले बताए ।

उक्त गाउँपालिकामा १२ वटा माध्यमिकसहित आधारभुत ८ वटा र प्राथमिक विद्यालय १८ वटा छन् । गाउँपालिकाले यहाँका करिब एक दर्जन निजी विद्यालयलाई सामुदायिकमा गाभिसकेको छ । अब उक्त गाउँपालिकामा कुनै पनि निजी विद्यालय छैनन् । गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले सबै सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने योजना चलाइरहेको बताए ।

प्रकाशित : माघ १४, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?