कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगदबिनै कारोबार

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारीले यस वर्ष किसानबाट ४ सय ३६.२ क्विन्टल सिमी खरिद गर्‍यो । सहकारीले ३ सय २४.२ क्विन्टल सिमी चामलमा साटफेर गर्‍यो भने २१.९ क्विन्टल सिमी मात्रै नगदमा खरिद गर्‍यो ।

सहकारीले ३ सय २७ क्विन्टल भाङो खरिद गर्दा २ सय ३७ क्विन्टल चामलमा साटफेर गरेको छ । झन्डै ३८ क्विन्टल खाने तेलमा साटफेर र ५२ क्विन्टल मात्र नगदमा खरिद गरिएको छ ।

सहकारीले किसानबाट खरिद गरेको ७ क्विन्टल भटमासमध्ये ५ क्विन्टल भटमास चामलसित साटफेर गरेको छ भने १ क्विन्टललाई मात्रै नगद तिरेको छ । सहकारीले किसानको उत्पादन आफूले खरिद गरेर अरु बजारमा बेच्छ । यो काम गर्ने क्रममा सहकारीले नगदमा किन्ने भन्दा धेरै कृषि उपज साटफेर गरिरहेको छ । गाउँमा वस्तु विनिमयमार्फत कारोबार भइरहेको छ ।

‘मसितको वस्तु तिमी लैजाऊ, तिमीसितको वस्तु मलाई देऊ र यसमा सहकार्य गरौं भन्ने भावना अहिले पनि कायमै छ,’ भूमे गाउँपालिका–२ का गमानसिङ बुढा मगरले भने, ‘ढ्याक र नगद आउनुपूर्वको यो चलन अहिले पनि हामीले कायमै राखेका छौं ।’

गाउँपालिका केन्द्रमा स्थापना भएको सहकारीले किसानका उत्पादन किन्ने निर्णय गरेपछि किसान आफैंले साटफेरको प्रस्ताव गरेका हुन् । सोही अनुसार हरेक वर्ष सहकारीले किसानका उत्पादन यसरी नै वस्तु विनिमयकै आधारमा किनिरहेको छ ।

सहकारी आफूले किनेको कृषि उपज भने स्थानीय बाहेकका बजारमा र बाहिर पठाउँदा नगदमै कारोबार गर्छ । आफूले उत्पादन गरेको वस्तु बिक्री गरेर अर्को वस्तु किन्न भन्दा पाइएसम्म वस्तु नै ल्याउने चलन रहेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताए ।

‘सहकारीले नगदमै किसानको उत्पादन किन्ने तयारी गरेको थियो तर किसानले साटफेरको प्रस्ताव गरेपछि सहकारी पनि त्यसमा सहमत भएर साटफेरको काम गरिरहेको छ,’ व्यवस्थापक अधिकारीले भने । सुरुवातदेखि नै सहकारीले साटफेरमार्फत किसानको वस्तु किनिरहेको उनको भनाइ छ ।

हरेक वर्ष किसानको उत्पादन नगदभन्दा साटफेरमै बढी जाने गरेको छ । विशेष गरी किसानको उत्पादन सिमी, भाङो, भटमास, कोदो, फापरलगायतका वस्तु चामल र खाने तेलसँग साटफेर गर्ने गरेको व्यवस्थापक अधिकारीले बताए ।

कृषि उपज सहकारीले किनिदिने वा साटफेर गरिदिने भएपछि किसानलाई पनि सहज भएको छ । सहकारीले सजिलो बनाइदिएको ८ नम्बर वडाका मनबहादुर खड्काले बताए । सहकारीले २ नम्बर वडाको खावाङ बजारमा सहकारी बजार र ९ नम्बर वडाको चुनवाङमा किसानका उत्पादन खरिद तथा संकलन गरिरहेको छ ।

यसबाट किसानलाई बजार खोज्नु नपर्ने अवस्था आएको छ । यी बजार भन्दा टाढाका बस्तीसम्म पुगेर पनि सहकारीले किसानको उत्पादन ल्याउने गरेको छ ।

प्रकाशित : माघ १३, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?