कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा १२१ स्वास्थ्यकर्मीलाई कोरोना

माधव अर्याल

पाल्पा — पाल्पाका १२१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । खोप कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमणमा परेका हुन् । कतिपय स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसहित अन्य स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएका छन् । 

पाल्पामा १२१ स्वास्थ्यकर्मीलाई कोरोना

स्वास्थ्यकर्मीहरू दुई/तीन दिनअघिसम्म बालबालिकालाई खोप लगाउनमा व्यस्त थिए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलका अनुसार सबैभन्दा धेरै तानसेनस्थित मिसन अस्पतालमा ३६ जना स्वास्थ्यकर्मी संक्रमणमा परेका छन् । चिकित्सक र अन्य स्टाफसमेतमा संक्रमण भएकाले काममा समेत असर परेको पोखरेलले जनाएका छन् ।

रैनादेवी छहरा गाउँपालिकामा नौ जना स्वास्थ्यकर्मी संक्रमण भएका छन् । उनीहरूमध्ये अधिकांश स्वास्थ्यकर्मीहरू खोप कार्यक्रममा सहभागी थिए । पछिल्लो पटक १२ देखि १७ वर्ष उमेरका र बुस्टर डोज लगाउनमा उनीहरु सक्रिय थिए । ‘यसरी छिट्टै कोरोना संक्रमण बढ्दा भन्ने नै भएन,’ स्वास्थ्य प्रमुख जीवन रानाले भने, ‘समयमा व्यवस्थापन गर्न नसक्दा धेरै स्वास्थ्यकर्मी संक्रमणमा परेका छन् ।’

तानसेनस्थित पाल्पा अस्पतालमा सात जना स्वास्थ्यकर्मी संक्रमित छन् । पूर्वखोलामा पनि सात जना स्वास्थ्यकर्मी र एक जना महिला स्वास्थ्य स्वयंसेविका संक्रमणमा परेका छन् । स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार स्वास्थ्यकर्मीहरू खोप अभियानमा सक्रिय थिए । गाउँपालिका अध्यक्ष नुनबहादुर थापालगायत वडाध्यक्षहरू पनि संक्रमित भएको उनले बताए ।

रम्भामा एक, रामपुरमा चार, निस्दीमा तीन, तिनाउमा एक, रिब्दीकोटमा तीन जना स्वास्थ्यकर्मी संक्रमित छन् । माथागढी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार चार जना संक्रमित भएका छन् । ‘मलाईसमेत रुघाखोकी लागेको छ,’ स्वास्थ्य शाखा प्रमुख केशव जीसीले भने, ‘जतासुकै रुघाखोकी लागेका बिरामी छन् जस्तो भइसक्यो ।’ उनका अनुसार स्वास्थ्यकर्मी संक्रमित हुँदा खोप कार्यक्रमलाई असर गर्ने भएको छ । निस्दीका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले कोरोना संक्रमणदर बढेको बढ्यै भएकाले विद्यार्थीलाई दोस्रो खोप लगाउन पनि सोच्नुपर्ने बेला भएको बताए । त्यस्तै लुम्बिनी मेडिकल कलेजमा ३६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार र बुधबार विद्यार्थीको खोपको योजना बनाएको उनले बताए । यो बाहेक १४ गतेलाई बुस्टर डोजको योजना बनेको छ । १ सय ९० जनालाई बुस्टर डोज र २ हजार ३० विद्यार्थीलाई लगाउनुपर्नेछ । स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना संक्रमणदर ह्वात्तै बढेकाले सावधानी भएर मात्र काम गर्नुपर्ने भएको बताए । ‘यति छिटो संक्रमण उकालो लाग्ला भन्ने भएन,’ उनले भने, ‘अब जोगिएर भए पनि काम गर्नुपर्ने हुन्छ ।’

पाल्पाको रैनादेवी छहरा स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : माधव अर्याल/कान्तिपुर

प्रकाशित : माघ १०, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?