कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सम्मेलन केन्द्र अधुरै

५ वर्षभित्र सक्नुपर्नेमा ७ वर्षमा पनि निर्माण पूरा भएन
अमृता अनमोल

बुटवल — बुटवलको रामनगरस्थित बुटवल मण्डपमा निर्माणाधीन चन्द्र–सूर्य झन्डा आकारको सम्मेलन केन्द्र भवनको ७७ प्रतिशत काम सकिएको छ । बाँकी २३ प्रतिशत काम कहिले सकिने हो, टुंगो छैन । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इन्जिनियर सुमन दर्लामीले चैत मसान्तसम्म जसरी पनि सक्ने गरी काम भइरहेको बताए । पाँच वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको हो । तर, सात वर्ष बितिसक्दासम्म सम्मेलन केन्द्रको काम अपुरै छ ।

सम्मेलन केन्द्र अधुरै

सम्मेलन केन्द्र भवन निर्माणका लागि १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको हो । काम नसकेपछि आयोजनाले विभिन्न कारण देखाउँदै म्याद थप्यो । सुरुमा निर्माणस्थलका रुख काट्ने अनुमति नपाउँदा करिब ६ महिना ढिलाइ भएको थियो । त्यहाँका विभिन्न प्रजातिका १ सय ३६ वटा रूख हटाएर मात्रै निर्माणको काम सुरु भएको थियो । त्यसपछि भूकम्प र नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतले ढिलाइ भएको बताउँदै काम रोकेको थियो । अहिले पहिलो चरणको काम सकेर दोस्रो चरणको काम भइरहेको आयोजनाका इन्जिनियर दर्लामीले बताए ।

पहिलो चरणमा मुख्य सभा हल अर्थात् राष्ट्रिय झन्डाको माथिल्लो भागको सूर्य अंकित शैलीमा निर्माण गरिएको छ । १ हजार १ सय क्षमताको सभा हलको भवन तयार भएको छ । त्यसमा दुईवटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ अडियो, ट्रान्सलेटरलगायतका कक्षको स्टक्चर तयार पारिएको छ । त्यसमा २३ करोड रुपैयाँ खर्च भएको छ । सभाहलमा भौतिक संरचना निर्माणको काम सकिए पनि रंगरोगन र विद्युतीय तथा फनिर्सिङका काम बाँकी छन् । सभाहलभित्र जिप्सन, विद्युत् र सीसीटीभी जडानको काम भइरहेको छ ।

१ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्सी जडान गरिँदै छ । हाल आशिष निर्माण सेवाले ती काम गरिरहेको आयोजनाले जनाएको छ । सम्मेलन केन्द्रको दोस्रो चरणको कामलाई ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । जुन भवन झन्डाको तल्लो भाग अर्थात चन्द्र अंकित शैलीमा बन्दै छ । यस भवनमा दुईवटा एक/एक सय क्षमताका र दुईवटा ५०/५० जना अट्ने हल बन्नेछन् । सम्मेलन केन्द्रको चारैतिर चारवटा प्रवेशद्वार बनाइँदै छ । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिनेछ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण हुँदै छन् ।

आसपासको क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै सम्मेलन केन्द्र निर्माण थालिएको थियो । बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये १० बिघा क्षेत्रफलमा सभाहल निर्माण भइरहेको छ । सम्मेलन केन्द्र आकाशबाट हेर्दा नेपाली झण्डाको आकारमा देखिनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नाममा सुरु भएको आयोजनालाई विभागले पछि अन्तर्राष्ट्रिय शब्द हटाएर बुटवल सम्मेलन केन्द्र नाम दिएको हो । यद्यपि, योजना निर्माणका क्रममा दोस्रो प्राथमिकतामा परेको केन्द्र योजना आयोगले पहिलोमा राखेर काम अघि बढाएको थियो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलकुमार कसजूले सम्मेलन केन्द्र भवनले यस क्षेत्रको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए । ‘यस क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डका ठूला कार्यक्रम गर्न निकै सहयोग गर्नेछ,’ उनले भने, ‘तर, योजनाअनुसार काम छिटोछरितो र व्यवस्थित हुन सकेको छैन । यो दुःखद पक्ष हो ।’

प्रकाशित : माघ ८, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?